-महेश कठायत ।
काठमाडौं, १ मंसिर ।
उपनिर्वाचनको समय आउन अब दुई साता बाँकी छ । मतदाता र राजनीतिक दलहरूलाई चुनावी माहोलले छोइसकेको छ । उम्मेदारहरू घरदैलो धाउन थालिसकेका छन् । घरदैलोमा पुगेर र चोकचोकमा कोणसभा गर्दै मत मागिरहेका छन् । भोट माग्ने क्रममा सतापक्ष नेकपाले आफूले गरेका राम्रा कामहरूको प्रचारप्रसार गरिरहेको छ । त्यस्तै सरकारले जनअपेक्षाअनुसार काम नगरेको, भ्रष्टाचार बढेको, सुशासन नभएको लगायतका आरोप मात्र प्रतिपक्ष कांग्रेसले लगाएको छैन, सरकारका नराम्रा कार्यहरूको भण्डाफोर गर्दै त्यसको विकल्पका रूपमा आफूलाई उभ्याइरहेको छ । त्यस्तै साना राजनीतिक दलहरू पनि नेकपा र कांग्रेसले भन्दा आफूहरूलाई फरक रूपमा प्रस्तुत गर्दै मतदाताहरूलाई आफ्नो आवश्यकता महसुस गराउने प्रयास गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारीहरू गरी ५२ पदका लागि आगामी मङ्सीर १४ गते उपनिर्वाचन हुँदैछ । एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतनिधिसिभा सदस्य तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ को (क), बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख) र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ । प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि प्रमुख राजनीतिक पार्टीसहित स्वतन्त्रका तर्फबाट कूल ६५ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । आगामी उपनिर्वाचनका लागि २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण पनि गरीसकेको छ । उपनर्विाचनका लागि निर्वाचन आयोगबाट २१ वटा राजनीतिक दलले चुनाव चिन्ह प्राप्त गरिसकेपछि सबै दलहरू चुनावी प्रतिस्पर्धामा छन् । उपनिर्वाचनमा ३७ जिल्लाका ४ लाख ४७ हजार ७ सय ९२ मतदाताहरूले मतदान गर्दै छन् ।
उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि एक सीट मात्र छ, भने प्रदेशसभा सदस्यमा तीन सिट छ । यो एक सिट जुनसुकै राजनीतिक दलले हात पारे पनि राष्ट्रिय राजनीतिमा यसले ठूलो प्रभाव पार्ने भने देखिदैन । एउटा सिट जितेर कांग्रेस न सरकारमा जान्छ, न यसबाट कांग्रेसलाई कुनै उल्लेखनीय फाइदा नै हुन्छ । त्यस्तै सत्तापक्ष नेकपालाई पनि यो एक सीटले केही फरक पार्नेवाला देखिंदैन् । किनभने सरकारसँग अहिले संविधान संशोधन गर्न होस् वा अन्य कुनै पनि महत्वपूर्ण निर्णय गर्नहोस्, पर्याप्त बहुमत छ । तर एउटै सीटले पनि सरकार र प्रतिपक्ष दुबैका लागि महत्वपूर्ण अर्थ भने अवश्य राख्ने नै छ । दुई तिहाइको बहुमतको सरकार बनेको यत्रो समयसम्म के के गर्यो ? कस्ता कस्ता कामहरू गर्यो ? देश र जनताले के पाए ? यी यावत कुराहरूको मुल्याङकन जनताले दिने मतले पनि केही हदसम्म जनाउने नै छ । सरकारको काम कारवाहीको मुल्याङकन र सरकारप्रति जनताको दृष्टिकोण भने बुझ्न सकिन्छ । त्यस्तै प्रतिपक्ष कांग्रेसका लागि पनि त्यत्तिकेै महत्व राख्ने छ । कांग्रेसले अहिले कस्ता एजेण्डा उठाइरहेको छ ? प्रतिपक्षमा हुँदा जनताको आवाज उठाएर सशक्त भूमिका खेलिरहेको छ त ? यी र यस्तै प्रश्नहरूको उत्तरसँगै राजनैतिक वृत्तमा नेपाली कांग्रेसको भूमिकाको लेखाजोखा भने अवश्य हुने छ ।