राजु लामिछाने
काठमाडौं, २ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् । आइतवार साँझ बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाबारे सदस्यहरूलाई जानकारी गराएका थिए । नियमित डायलाइसिसले सहज जीवन सम्भव नभएकाले मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा चिकित्सकहरु पुगेको हुँदा आफू पनि मानसिक रूपले तयार रहेको ओलीले बताए । मिर्गौला प्रत्यारोपणका क्रममा लामो समय आराम गर्नुपर्ने भएकोले त्यसअघि चुस्त मन्त्रिमण्डल बनाउने तयारी गरेको पनि उनले जानकारी दिएका थिए ।
प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीहरूको नामावलीमा पनि केही हेरफेर गरेका छन् । भीम रावललाई मन्त्री बनाउन चाहेका ओली रावलले लगातार सामाजिक सञ्जालबाट आफू र सरकार विरुद्ध विपक्षीलाई मसला दिने गरी प्रस्तुत भएको भन्दै उनको नाम हटाएको स्रोतको दावी छ । जब कि रावलभन्दा कडा आलोचक भुसाललाई भने ओलीले मन्त्री बनाउन चाहेका छन् । ओलीकै दवावमा प्रचण्डको क्याविनेटमा रहदा उर्जा मन्त्रालयमार्फत चर्चा कमाएका नेता जनार्दन शर्मालाई पनि मन्त्रीमण्डलमा ल्याइने भएको छ ।
प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड रक्षामन्त्री ईश्वर पोखरेल र अर्थमन्त्रीमा डा युवराज खतिवडालाई निरन्तरता दिन एकमत रहेका छन् । ओलीले प्रचण्डसँग पार्टी तपाई चलाउनुहोस, सरकारको जिम्मा पोखरेललाई दिउँ भन्ने प्रस्ताव गरेको थिए । यो प्रस्तावमा प्रचण्डले सहमति जनाइसकेका छन् । वामदेवलाई राष्ट्रिय सभा हुँदै क्याविनेटमा ल्याएर सरकारको जिम्मा दिनलाई समय अनुकुल नभएको भन्दै ओली पछाडि हटेको स्रोतको दावी छ ।
यी नेता बन्दैछन् मन्त्री
नेकपा स्रोतका अनुसार यसपटकको पुनर्गठनमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, हरिबोल गजुरेल, जनार्दन शर्मा, वसन्त नेम्वाङ, छविलाल विश्वकर्मा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर यादव, प्रेमबहादुर आले, किसान श्रेष्ठ, यज्ञराज सुनुवार र पार्वत गुरुङ मन्त्री बन्नेछन् । उपसभामुख शिवमाया तुम्बाहम्फेलाई पनि राजीनामा दिन लगाई मन्त्री बनाउने ओलीको तयारी छ । सभामुख नगुमाउनको लागि शिवमायालाई उपसभामुखबाट राजीनामा गराउन लागिएको हो ।
यी मन्त्रीको जाने भयो जागिर
प्रधानमन्त्री ओलीले कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरुलाई बिदाइ गरेर नयाँ ल्याउने तयारीमा लागेसँगै झण्डै ८ मन्त्रीहरूको जागिर जाने निश्चित भएको छ । कार्यशैली चुस्त र प्रभावकारी बनाउन नसकेकोले अपेक्षित परिणाम नआएपछि प्रधानमन्त्री ओलीले कृषिमन्त्री चक्रपाणि खनाल, महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, युवा खेलकुद मन्त्री जगत विश्वकर्मा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उद्योगमन्त्री मात्रिका यादवलाई विदा दिने भएका छन् । श्रममन्त्री गोकर्ण बिष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री वीना मगरलगायतको सन्दर्भमा भने छलफल चलिरहेको उच्च स्रोतले जनाएको छ ।
सभामुखमा को ?
प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच सभामुख कसलाई बनाउने भन्नेबारेमा पनि लामो समयदेखि छलफल भैरहेको छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा जेल गएपछि पूर्व माओवादी खेमाका केही नेताहरूले सो पदमा दावी गरेका थिए । हरिबोल गजुरेल, अग्नी सापकोटा, देव गुरुङ र पम्फा भुसालले सभामुखमा दावी गर्दै आएका थिए । सभामुखमा दावी गरेका देव गुरुङबाहेक सबैलाई मन्त्रीमण्डलमा सहभागि गराइएकोले सो पद देव गुरुङले नै हात पार्ने स्रोतको दावी छ । यद्दपि ओलीले प्रचण्डलाई एकताको सन्देश दिन पनि अब पूर्व एमाले र पूर्व माओवादी भन्न नहुने बताएकोले सो पद पूर्व एमालेतर्फका नेताहरूमा गए पनि आश्चार्य मान्न सकिने अवस्था छैन ।