कृतज्ञता जाहेर गर्ने दिनको सांस्कृतिक महत्व : एक दृष्टि

हिजो अमेरिकामा धन्यबाद ज्ञापन (Thanks Giving Day) पर्व मनाइयो । यसलाई यहाँ क्रिसमस जस्तै महत्वपूर्ण चाडको रूपमा मनाइन्छ र राष्ट्रिय विदा दिइने प्रचलन अनुसार विदा पनि दिइयो ।

यस परम्पराको शुरूवात सन् १६२१ तिर बेलायतबाट यहाँ आएर बसोबास गरेका मानिसहरूले गरेको हो भनिन्छ । बाली–नाली रोप्ने र भित्र्याउने खुशीयालीमा टर्की चरा र अन्य कृषि उपजहरूको परिकार बनाएर खाने र रमाउने प्रचलन त्यसबेलादेखि नै भएबाट यो चाड कृषिसँग पनि सम्बन्धित भएको कुरा बुझ्न सकिन्छ ।



अब्राहम लिंकनको युग १८६३ भन्दा धेरै अघि पनि आदिवासी नोटिभ अमेरिकनहरू र लामो यात्रापछि अमेरिका आईपुगेका युरोपियन यात्रीहरूले रमाईलो गर्दै टर्कीको मासु र मिठा मिठा परिकारहरू खाएर सामुहिक रूपमा मनोरञ्जन गर्दै जीवन, यो अस्तित्व, भगवान अनि आफुसँग सम्बन्धित विभिन्न पक्षहरूप्रति धन्यवाद र कृतज्ञता प्रकट गर्न यो परम्परा बसाएको कुरा पनि उल्लेख छ । यो परम्पराको इतिहास खोज्दै जाँदा अरू कथाहरू पनि पाउन सकिएला ।

आधिकारिक रूपमा यो पर्व मनाउने शुरूआत भने पूर्व अमेरिकी राष्ट्रपति फ्रेंकलिन डी रूसवेल्टले १९३९ मा गरेकोमा १९४१ मा आएर अमेरिकी कांग्रेसले राष्ट्रिय पर्वको रूपमा मान्यता दिएको हो ।

सन् १९८९ मा जर्ज बुशले ह्वाईट हाउसमा टर्कीलाई क्षमा दिने (टर्की पार्डोन) परम्परा थालेका रहेछन । यसलाई निरन्तरता दिदै बर्षेनी अमेरिकी राष्ट्रपतिले ह्वाईट हाउसको गार्डेनमा चुनाव जितेर ह्वाईट हाउस पुगेका दुईटा टर्कीहरूलाई क्षमा दिन्छन् । गत वर्ष Peas and Carrots नामका दुईवटा टर्कीलाई क्षमा (Turkey pardon) दिइएको थियो भने यस वर्ष Bread and Butter जस्ता शाकाहारी नाम राखेर चराहरूलाई छोडिदिनु भनेको सुनियो । यसको अर्थ सम्भवतः हिंसा गर्नु हुँदैन र सके सबै शाकाहारी हुन पर्छ पो भनेको हो कि !! राष्ट्रिपति ट्रम्प नै जानून !!

करोडौं टर्की जातका चराहरू मारिदै गर्दा राष्ट्रपतिले दुई निरीह चरालाई भएपनि क्षमादान गर्नुले पनि पशुपंक्षी प्रेमीलाई भने ठूलै अर्थ राख्छ जस्तो लाग्छ र टर्कीलाई क्षमा गर्ने Turkey pardoning को परम्पराले अहिंसा, वातावरण र पशुपंक्षी संरक्षण गर्ने कार्यमा सकारात्मक सन्देश गए हुन्थ्यो..!

हाम्रो दशैंजस्तै यो पर्वमा सकेसम्म परिवारका सदस्य र आफन्तहरू सबै भेला हुने, विचार र मत भिन्नता भए पनि एउटै टेबलमा परम्परागत मिठो मसिनो खाना खाने, सङ्गित र नाचगान गर्ने, पिकनिक जाने, खानेकुराहरू शेयर गर्ने, कसैलाई आवश्यक परे सकेको सहयोग गर्ने गरिन्छ । जीवनमा प्रत्यक्ष परोक्ष रूपमा सम्बन्धित र प्राप्त सबै वस्तुहरू जसको आफ्नो ठाउँमा आफ्नै महत्व छ– जस्तै नुनदेखि सुनसम्म, तारादेखि जुनसम्म, सितारामदेखि राधेश्यामसम्म र जीवनसँग सम्बन्धित जल, थल र चराचार अर्थात् जीवन प्रक्रियालाई सम्पूर्णतामा हेरेर अस्तित्वलाई धन्यवाद र कृतज्ञता प्रकट गर्ने सुन्दर पक्षहरू बुझ्न र सिक्न सकिन्छ यस्ता परम्पराहरूबाट….।

राम्रो कुरालाई हार्दिकताका साथ प्रशंसा गर्नु,वकसैले सानै सहयोग किन नगरोस खुलेर धन्यवाद, आभार र कृतज्ञता प्रकट गर्नु, आफ्नो गल्ति छिट्टै महसुस गर्नु र अरूलाई दुःख पुग्ने सानो कुनै काम भयो भने पनि सजिलै र खुशीसाथ क्षमा र माफ चाहन्छु  (Sorry/Apologies/Excuse me) भन्न सक्नु जस्ता सभ्य समाज र मानिसमा हुनुपर्ने गुणहरू तथा सामाजिक मूल्यहरू यस्ता संस्कृति र परम्पराहरूबाट सिक्न र बुझ्न सकिन्छ । सके यस्तो खालको पर्व सँधै र सबैतिर मनाए हुन्थ्याे जस्तो लाग्छ । ब्यापारिक र आर्थिक गतिविधि बढ्नु, सबैतिर सेल लाग्नु वा बजारमा घरेलु प्रयोजनका सरसामानहरू धेरै कम मुल्यमा पाइनुजस्ता कुराहरू यो चाडका राम्रा पक्ष हुन् ।

करोडौं निरीह चरा टर्कीहरू मारिएको र व्यस्त हाई–वेहरूमा सडकले नै नथाम्ने जस्तो सवारी साधनहरू र कतिपय ड्राइभरहरूको क्रेजÞी ड्राइभिङ्ग अनि धेरै मासु र रक्सीजन्य पदार्थको सेवन गर्ने यिनीहरूको बानी चैं सुधार गर्नुपर्ने देखियो । पर्वका बेला ट्राफिक व्यवस्थान र प्रहरीको सक्रियता निकै बढ्दोरहेछ ।

जे होस ! म पनि यो अस्तित्व र मेरो जीवनसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा सम्बन्धित सबैप्रति धन्यवाद, आभार र कृतज्ञता प्रकट गर्दछु ।
(यो सामग्री उपयोगी लागेर हाल अमेरिकाको टेक्सासमा बसिरहनुभएका मित्र दशरथ उप्रेतीको फेसबुक वालबाट साभार गरिएको हो ।)

सम्बन्धित समाचार