महेश कठायत
काठमाडौं, २१ मंसिर ।
भनिन्छ, जहाँ मानव समुदाय हुन्छ त्यहाँ अपराध पनि हुन्छ । हुन त मानव विना मानव समुदायको कल्पना पनि गर्न सकिंदैन् । संसारमा मानव नै सबैभन्दा चेतनशील प्राणी पनि हो । समाजमा कसरी मिलेर बस्न सकिन्छ ? कसरी एकले अर्कोलाई सम्मानजनक व्यवहार गर्न सकिन्छ र कसरी आफ्नो खुसीका लागि मात्र भन्दा अरूका खुसीका लागि पनि केही योगदान गर्न सकिन्छ भनेर चिन्ता गर्ने मानिसहरूको पनि कमी छैन, तर पनि समाजमा अपराधिक गतिविधिमा कुनै कमी आएको छैन । संसारमा हरेक दिन कतै न कतै समाज, राष्ट्र र विश्व समुदायलाई तरङ्गित बनाउने घटनाहरू घटिरहेका हुन्छन् । हालै भारतमा घटित त्यस्तै एउटा अपराधिक घटनाले मिडिया र जनस्तर सबैतिर तरङ्गित बनाएको छ र चर्चाको विषय बनिरहेको छ ।
हाम्रै छिमेकी मित्र राष्ट्र भारतमा भएको एक क्रूर अपराधको घटना हो जसले भारतीय मिडिया मात्रै होइन् नेपाली मिडियामा समेत ठाउँ पाएको छ र सर्वत्र चर्चाको विषय बनेको छ । सरकारी अस्पतालमा पशु चिकित्सक रहेकी एक महिलालाई हैदराबादमा २७ नोभेम्बरको रात चारजनाको समूहले सामूहिक बलत्कार गरेपछि महिलालाई जलाएर मारे । पछिल्लो दिन उनको जलेको शव बैंगलोर हैदरावाद राष्ट्रिय राजमार्गको अन्डरपासनजिक भेटियो । त्यसपछि भारतका दर्जनौ शहरमा त्यसको विरोध भयो । हजारौ महिला अधिकारकर्मीहरू सडकमा उत्रिए । सर्वसाधारणदेखि लिएर सरकारी तहसम्मले यसको विरोध र निंदा गरे । दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कडा कारवाही गरिनु पर्ने आवाजहरू उठे । प्रहरीले घटनामा तदारुकता नदेखाएको भन्दै यसबीचमा तीन प्रहरी अधिकारीहरू निलम्बनमा समेत परे ।
अन्ततः घटनामा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गर्यो । त्यसपछि उनीहरूलाई १४ दिनका लागि न्यायिक हिरासतमा राख्यो । १५ दिनका दिन हिरासतबाटै उनीहरूलाई प्रहरीले घटनास्थलमा सिन रिक्रियट गर्ने भनेर लग्यो । त्यही क्रममा चारै जना अभियुक्तहरू भाग्न खोजेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो । फलस्वरूप चारैजना अभियुक्तको ज्यान गयो । फेरि त्यसपछि अहिले घटनाका बारेमा विभिन्न टिका–टिप्पणीहरू भइरहेका छन्, तर उक्त घटनाको जनस्तरबाट भने प्रशंसा भएको छ । सर्वसाधारणले प्रहरीले गरेको यो अति नै सराहनीय काम भन्दै प्रहरीलाई लड्डु खुवाएर जिन्दाबादको नारा लगाएका छन् । प्रहरीको जयजयकार गर्दै फूलमालाले स्वागत गरेका छन् । पीडितका परिवारले अब आफ्नी छारीले न्याय पाएको महसुस गरेको बताएका छन् । प्रहरीमा उजुरी दिएपछि वर्षांैसम्म न्यायका लागि भौतारिनुभन्दा अपराधिहरूलाई यसरी नै सजाए दिनु ठीक भएको आम सर्वसाधारण र केही अधिकारकर्मीको भनाइ छ । यसरी नै अपराधिले सजाए पाउने हो भने कसैले पनि अपराध गर्ने अाँट नगर्ने कतिपयको बुझाइ छ । तेलङ्गानाका कानुन मन्त्रीले भनेका छन् ‘अपराधिहरुलाई कानुनले भन्दा पहिले भगवानले सजाए दियो । यसले गर्दा पूरा हिन्दुस्तान खुुसी छ । जे भयो राम्रै भयो ।’ यदि साच्चै नै समाजबाट अपराधको जरो उखेल्ने हो भने प्रहरी प्रशासनले यस्ता खालका कदमहरू उठाउनु पर्ने जनस्तरमा एक खालको मत रहेको पाइयो ।
तर केही व्यक्तीहरू, मानव अधिकारकर्मी र उच्च व्यक्तित्वहरूले यो घटनामा प्रहरीले लिएको कदम गलत भएको बताएका छन् । प्रहरीले कानुन हातमा यसरी गरिएको इन्काउन्टरले झन् ठूलो दुर्घटना निम्त्याउने उनीहरूको बुझाइ छ । सुप्रीम कोर्टकी वकील बृन्दा ग्रोवरले प्रहरीले इन्काउन्टरको नाममा हिरासतमा रहेकालाई मार्न नपाउने भन्दै प्रहरीविरुद्ध मुद्दा लगाउन माग गरेकी छिन् । उनले पुरै घटनालाई स्वतन्त्र न्यायिक जाँचपड्ताल हुनु पर्ने माग समेत गरेकी छिन् । यसैगरी यस घटनालाई लिएर कही सांसदहरूले प्रहरीको कदम गलत भएको र यसको सर्मथन गर्न नसकिने बताएका छन् । साथै घटनाको सत्य तथ्य जाँच हुनु पर्ने माग गर्दै कानुन अनुसारको सजाए दिलाउनु पर्ने, नत्र कानुन आफ्नो हातमा लिने कार्य बढ्दै जाने उनीहरूको बुझाइ रहेको छ । हुन पनि यसरी समाजमा भइरहेका घटना र अपराध न्युनीकरणको उपाय के इन्काउन्टर मात्र हुन सक्छ र ? त्यो पनि भारतजस्तो लोकतान्त्रिक मुलुकका लागि यो अशोभनीय हो । हाम्रो चाहना भारतमा मात्रै होइन, विश्वमा नै कहीं पनि यस्ता खालका क्रियाकलापहरू हुनु हुँदैन् । तर कानुनी छिद्र प्रयोग गरेर कुनै अपराधी उम्कने र पुनः अपराध दोहोर्याउन प्रोत्साहित हुने अवस्था पनि आउन दिनुहुन्न । अपराधीले अपराधअनुसारको सजायँ पाउनु पर्छ । अदालती न्यायप्रति जनविश्वास बढाउनका लागि कानुनी प्रक्रिया छिटो छरितो र विश्वासिलो पार्नेतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी हुन्छ ।