फोटोग्राफीको लागि नेपाल मात्र होइन विश्वबजार खुला छ

भनिन्छ समयलाई रोक्न सक्ने कला फोटोग्राफीमा हुन्छ । यही फोटोग्राफी क्षेत्रमा विगत दुई दशकभन्दा बढी समयदेखि वरिष्ठ फोटोग्राफर योगेन्द्रजंग बस्नेत  निरन्तर लागिरहेका छन् । उनले विश्वका ९० भन्दा बढी देशमा फोटोग्राफीको काम गरिसकेका छन् । विश्वका विभिन्न देशहरूमा खिचिएका विभिन्न विधाका हजारौं तस्वीरहरू उनीसँग संग्रहित छन् । उनी व्यवसायिक फोटोग्राफीका क्षेत्रमा तालीम तथा प्रशिक्षणमा पनि सहभागी हुँदै आएका छन् । प्रविधिको विकासक्रमले फोटोग्राफीे क्षेत्रमा पनि धेरै परिवर्तन ल्याइसकेको छ । बस्नेतले शुरू गरेको फोटोग्राफीको शुरूवाती अवस्था र अहिलेको अवस्थालाई कसरी हेर्नु भएको छ ? फोटोग्राफीसँग सम्बन्धित रहेर उनै वरिष्ठ फोटोग्राफर योगेन्द्रजंग बस्नेतसँग नवकान्तिपर संवाददाता महेश कठायतले गरेको कुराकानीको सम्पादित अंश :

फोटोग्राफी भनेको के हो ?



फोटोग्राफीलाई पढाइको तरिकाले र हेर्ने तरिकाले भन्नु पर्दा दुई ढङ्गले बुझ्न सकिन्छ । सामान्यतयाः कुनै साधन प्रयोग गरी कुनै पनि वस्तुको इमेज जस्ताको त्यस्तै उतार्नुलाई फोटोग्राफी भनिन्छ । तर अहिले आएर प्रविधिको विकाशसँगै डिजिटल माध्यमहरू धेरै भए, जसले गर्दा फोेटोग्राफीको परिभाषा अलिकति फरक भएको छ । फोटोग्राफी गर्ने तरिका पनि परिवर्तन भएको छ । विषय वस्तुहरू धेरै परिवर्तन भएका छन् । तसर्थ अहिले फोटोग्राफीलाई सामान्य रूपमा परिभाषित गर्नु उपयुक्त हुँदैन । यसलाई वृहत् रूपमा हेर्नु पर्छ । फोटोग्राफी भनेकोे तस्वीरका माध्यमबाट हरेक क्षेत्रलाई परिभाषित गर्न सक्ने एउटा सजिलो भाषा हो ।

फोटोग्राफी विधाभित्र कुन कुन क्षेत्रहरू पर्दछन ?

फोटोग्राफीभित्र धेरै विधाहरू छन्, विधाभित्र पनि धेरै फेरि उप–विधाहरू रहेका छन् । तर यहाँ अहिले व्यवसायिक रूपमा लागेका फोटोग्राफरहरूको विधा भनेको स्टुडियो फोटोग्राफी जहाँ पोट्रेट, वेडिङ फोटोग्राफी पर्दछ । त्यस्तै, फोटो जर्नालिजम छ यसभित्र पनि धेरै उप–विधाहरू रहेका छन् । कसैले स्पोर्टस मात्र हेर्छन् । फेरि यसभित्र पनि कसैले फुटवल, कसैले क्रिकेट मात्र  हेर्छन् , यसरी एउटै विधाभित्र पनि धेरै उप–विधा भएकाले यति नै विधा छन् भनेर तोक्न सजिलो छैन ।

तपाईले फोटोग्राफी क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?

म शुरूमा गाउँबाट एसएलसी पास गरेर काठमाडौं आएँ र ल कलेजमा भर्ना भएँ । ल कलेजमा पढ्दै गर्दा आरआर कलेजमा फोटोग्राफी पढ्ने साथीहरूसँग मेरो संगत बढ्यो । त्यही बेला सडक आन्दोलनहरू प्नि हुन्थ्यो । फोटोग्राफर साथीहरू फोटोहरू खिच्ने गर्दथे । त्यो देखेर मलाई पनि फोटो खिच्ने रहर लाग्थ्यो । यसरी रहरै रहरले सानो अटोमेटिक क्यामेरा किनेर फोटो खिच्दै खिच्दै गएँ । अटोमेटिक क्यामेरा भए पनि अहिलेको जस्तो डिजिटल थिएन । क्यामरामा रील हालेर फोटो खिचिन्थ्यो तर त्यसलाई धुलाइ नगर्दासम्म कस्तो आउछ थाहा हुँदैनथ्यो र हेर्न पनि मिल्दैनथ्यो । यसरी नै फोटो खिच्ने शोक बस्यो । त्यसपछि फेरि अर्को क्यामेरा किनेँ । आफूले खिचेका फोटाहरू मिडियामा पनि छाप्ने शोक जाग्यो । मिडियामा पनि आफूले खिचेका फोटोहरूले ठाउँ पाएपछि यसैमा लागिरहन झन् उत्साह थपियो । यसरी रहरै रहरमा फोटोग्राफी क्षेत्रमा प्रवेश गरेँ ।

व्यवसायिक रूपमा कहिलेदेखि लाग्नु भयो ?

करिब चार पाच वर्ष फोटोग्राफी गरिसकेपछि दुई चार पैसा पनि कमाउनु पर्यो र व्यवसायि पनि बन्नु पर्यो भन्ने लागेर एउटा स्टुडियो खोलेँ । योसँगै फोटो जर्नालिजम पनि गर्न थालेँ । यसरी नै मेरो व्यवसायिक रूपमा यस क्षेत्रमा प्रवेश भयो ।

फोटोग्राफी क्षेत्रमा लाग्नुभन्दा पूर्व तपाईले कतै तालिम पनि लिनु भएको थियो ?

आजभन्दा पच्चीस तीस वर्षअगाडि दुई चार घण्टाका लागि क्लासहरू हुन्थ्यो । सिनियर फोटोग्राफरहरूका सेमिनारहरू हुन्थ्ये । त्यस्तोमा भाग लिइन्थ्यो । त्यसपछि दिल्लीमा गएर मैले तीन महिनाको फोटोग्राफीको क्लासहरू पनि लिएँ । साथै, देश विदेशबाट निस्केका पत्रपत्रिका र म्यागजिनहरूमा फोटोग्राफीसँग सम्बन्धित आर्टिकलहरू पनि पढेँ जसले गर्दा फोटोग्राफी गर्नका लागि मलाई झन् ऊर्जा मिल्यो ।

फोटोग्राफीको सिलसिलामा तपाई धेरै देशमा पुगिसक्नु भएको छ । विदेश यात्राका बारेमा पनि केही बताइदिनु होस् न ।

मलाई फोटोग्राफीले नै गर्दा नै धेरै देश घुम्ने मौका मिल्यो । मैले विश्वको एकदमै बढी जाडो हुने ठाउँदेखि लिएर धेरै गर्मी हुने ठाउँसम्म काम गर्ने मौका पाएँ । यसरी भौगोलिक विविधता भएको ठाउँमा फोटो खिच्दा मान्छेहरू पनि कलरमा फरक हुन्छन् भन्ने अनुभव भयो । अनि मान्छेको साइज पनि फरक हुँदोरहेछ भन्ने पनि लाग्यो । यसले गर्दा एउटा फोटोग्राफरलाई के फरक पार्दछ भने अग्लो मान्छेको फोटो कसरी राम्रो खिच्ने ? कालो मान्छेको फोटो कसरी राम्रो खिच्ने ? गोरो मान्छेको फोटो कसरी समायोजन गर्ने ? भन्ने कुराको नलेज फोटोग्राफरमा हुनु पर्दोरहेछ । त्यसैले मैले पनि कालो, गोरो सबै मान्छेको पनि फोटो खिच्ने अवसर पाएँ, जसले गर्दा मैले लाइटिङ बारेमा धेरै अध्ययन गर्ने मौका पाएँ ।

नेपालमा फोटोग्राफीको वर्तमान अवस्था कस्तो छ ?

फोटोग्राफीको अहिलेको अवस्था नेपालमा मात्र होइन विश्वभरी नै राम्रोे छ । प्रविधिको विकाससँगै डिजिटल माध्यमको पनि विकास भएकाले यसलाई झन् सहज बनाइदिएको छ । सबैको हातहातमा क्यामेरा भए पनि सबै व्यवसायिक फोटोग्राफर बन्न सक्दैनन् । तर प्रत्येक फोटो खिच्ने मान्छेहरूलाई प्रोफेसनल फोटोग्राफरले खिचेको फोटो राम्रो लाग्दोरहेछ । यसले गर्दा ग्राहकहरू पनि बढाइदिएको छ । त्यही कारणले प्रोफेसनल फोटोग्राफरहरूलाई धेरै राम्रो मौका पनि छ ।

फोटोग्राफीमा समस्याहरू के के छन् ?

फोटोग्राफीमा सबैभन्दा बढी समस्या भनेकै चिन्तनको नै हो । अरू खासै त्यति धेरै समस्याहरू त छैन । सरकारको तर्फबाट भन्नु पर्दा स्वरोजगार हुनका लागि कृषि तथा औधोगिक क्षेत्रलगायतका धेरै क्षेत्रहरूमा सहुलियत दिएको छ । तर सबैभन्दा ठूलो जमात अहिले फोटोग्राफीमै भए पनि फोटोग्राफीमा सरकारको त्यस्तो सहयोग हुनु सकेको छैन् । अहिले राम्रो क्यामेराको मूल्य पनि एकदम धेरै महंगो रहेको छ, ट्याक्स पनि धेरै तिर्नु पर्छ । यसमा व्यवसायिक फोटोग्राफर पहिचान गरेर उसले किन्ने क्यामेराहरूमा केही सहुलियत दिन सक्यो भने धेरै बेरोजगार युवाहरू भएको अवस्थामा युवाहरूलाई स्वरोजगार बनाउन मद्दत पुग्दथ्यो । यहाँ अन्य क्षेत्रमा लागेका व्यवसायीहरूका जस्तै फोटोग्राफी क्षेत्रमा पनि समस्याहरू रहेका छन् । यसमा सरकारको साथ सहयोग रह्यो भने अवश्य नै समाधान हुन्छ भन्नेमा दुईमत छैन ।

एक कुशल फोटोग्राफर बन्न के के कुराको आवश्यक पर्छ ?

पहिलाे कुरा भनेकोे हरकोही मान्छेमा जे काम गर्दा पनि इच्छाशक्ति हुनु पर्दछ । दोस्रो कुरा, काममा लगाव हुनु पर्दछ । र, ठूलो नभए पनि अलिकति लगानी पनि गर्न सक्ने हुनुपर्दछ । लगानी गर्न सक्ने भएन भने पनि व्यवसायी रूपमा अघि बढ्न गाह्रो हुन्छ ।

फोटोग्राफी क्षेत्रमा अब तपाईको भावी योजना के छ ?

फोटोग्राफीमा अबको मेरो योजना भनेको फोटोग्राफीसँग सम्बन्धित आफूले जानेका कुराहरूलाई समेटेर एउटा किताब प्रकाशित गर्ने छ ।
अन्तमाः फोटोग्राफीमा लाग्न चाहने नवयुवाहरूलाई र फोटोग्राफी गरिरहेका सम्पूर्ण फोटोग्राफी व्यवसायीहरूलाई सानामसिना समस्याहरूमा नअल्झिन र नयाँ नयाँ विधाहरू पत्ता लगाई सफल व्यवसायी बन्न र आफ्नो व्यवसायलाई उत्कृष्ट बनाउनतिर लाग्नु पर्छ भन्न चाहन्छु ।

तस्विरहरुः योगेन्द्रजंग बस्नेत

सम्बन्धित समाचार