-नवकान्तिपुर संवाददाता
काठमाडौं, २ पुस ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सडक दुर्घटनाको प्रमुख कारण मानवीय कारण भएको बताएका छन् । बुधवार रिपोर्टस क्लव नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महानिर्देशक शर्माले सडक दुर्घटना हुनुमा सडकको अवस्था, यान्त्रिक, मौसम र मानवीय कारण भए पनि यसमा मानवीय कारण नै प्रमुख रहेको बताएका हुन् ।
उनले सडक दुर्घटनालाई विश्वव्यापी रूपमा हेर्दा मानवीय कारणहरूमा सवारी चालक, सवारीमा भएका यात्रु र पैदल यात्रु रहको बताए । सडकको डिजाइनमा पनि विशेष ध्यान दिनु पर्ने बताउदै उनले भने ‘धेरैजसो ठाउँहरूमा सडक पुगे मात्र पनि हुन्थ्यो भन्ने हुन्छ जसले गर्दा सडकको डिजाइनमा ध्यान दिन नसक्दा पनि सडक दुर्घटना हुने गरेको छ ।’ साथै, उनले सडक दुर्घटनाको दोष एउटा पक्षलाई मात्र दिएर अर्को पक्ष उम्कन नहुने र यसमा सबै जिम्मेवार भएर लाग्नु पर्ने बताए ।
त्यसैगरी उक्त कार्यक्रलाई सम्बोधन गर्दै ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले उपत्यकाको २ हजार १४ किलोमिटर सडकमा मात्रै करिब १२ लाख सवारी साधनहरू गुडिरहेको बताउदै उनले एकजना ट्राफिकले करिब नौसय सवारी साधनहरूलाई हेर्नु पर्ने अवस्था रहेको बताए । उनले उपत्यकामा बेला बेला हुने र्याली, वाह्य सवारीहरूको आवागमन, पुराना गाडीहरू बीच सडकमै बिग्रनु र साँगुरा सडक हुनु नै मुख्य समस्या रहेको बताए ।
एसएसपी ढकालले सडकमा हुने सवारी दुर्घटना न्युनिकरणका लागि नागरिकहरूमा सचेतना जोगाउन आफूहरूले गत साउनदेखि सामूदायिक प्रहरी साझेदारी कार्यक्रम गरेको र जसमा अहिलेसम्म ४१ हजार मानिसहरूलाई सचेतना दिइसकेको पनि बताए । साथै, उनले ट्राफिकको एक्लो प्रयासले मात्र सबै सम्भव नभएकाले यसका लागि सडक कार्यलय, यातायात विभाग, यातायात व्यवसायी, चालक र नागरिक स्तरमा सबै निकायहरूसँग सम्मन्वय गरेर अघि बढेको बताए । ‘सडक दुर्घटनामा कमी ल्याउन हिजो (मङगलवार) मात्रै हामीहरूले ट्राफिक उज्यालो अभियान अघि बढाएका छौं, जसले गर्दा ३ महिनामा १ लाख चालकहरू लाई सहयोग पुग्ने विश्वास लिएका छांै, उनले भने ।’
त्यसैगरी यातायात व्यावसायी महासंघका महासचिव सरोज सिटौलाले पछिल्लो समयमा भइरहेका सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीले चासो व्यक्त हुनु सकारात्मक भएको बताए । उनले यातायात मन्त्रालयले सडकलाई प्राथामिकता नदिँदा आज यस्तो अवस्था आएको दाबी गरे । उनले देशमा अहिले चालकहरूको अभाव भइरहेको भन्दै यसमा सरकारको लगानी गर्न नसकेको आरोप लगाए ।
त्यस्तै उनले सवारी बीमाको नीति तय हुने मात्र होइन त्यसलाई अक्षरश कार्यन्वयन गर्न पर्नेमा जोड दिए । यातायात क्षेत्रमा जोखिम भएकोले यसमा धेरैले लगानी गर्न नचाहेको बताउदै उनले सरकारले यातायात र सडक क्षेत्रलाई विशेष महत्व दिनु पर्ने, मालवाहक गाडीको लागि पार्किङको व्यवस्था मिलाउनु पर्ने, सवारी दुर्घटना भए लगतै आयोग बनाउनु पर्ने, काठमाडौं करिडोरको काम छिटो सक्नुपर्ने र सडकका खाल्डाखुल्डी पुर्ने काम यथाशीघ्र सम्पन्न हुनुपर्नेमा विशेष जोड दिए ।