कांग्रेस केन्द्रीय समिति बैठकः राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारी

नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनको उम्मेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको छ । बिहीबार कांग्रेसकोल केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले बताए ।

बिहीवारको बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले वहिष्कार गरेको थियो । पौडेल पक्षले गत मंसिर २६ गतेयता बसेको केन्द्रीय समितिको सबै बैठक बहिष्कार गर्दै आएको छ । पछिल्लो समय पुस ११ गतेको केन्द्रीय समितिको बैठकको सच्याउनुपर्ने पौडेल समूहको शर्त छ ।



पार्टी उपसभापति तथा देउवा पक्षका नेता विमलेन्द्र निधिले पार्टीको बैठक सुरु हुनुअघि पौडेल पक्षका वरिष्ठ नेता विमलेन्द्र निधिसँग छलफल गरेपछि राष्ट्रियसभा सदस्यको उम्मेदवारको जिम्मा पदाधिकारीलाई दिने निर्णय भएको हो । राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गते गर्नेगरी निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ ।

५९ सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ। राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ। राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ। त्यसअनुसार सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदै छ ।

अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डा खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनित हुनेछ । फागुन २० गते नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का ९, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जनाको दुई वर्षे कार्यकाल सकिँदैछ। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयर, प्रदेशसभाका सदस्य राष्ट्रियसभा सदस्यका लागि हुने चुनावका मतदाता हुन्।

सम्बन्धित समाचार