पछिल्लो समयसम्म आइपुग्दा विज्ञानको क्षेत्रमा ठूलै प्रगति भइसकेको छ । तर आज पनि यस्ता कैयौं विषयवस्तु छन्, जसले मानिसलाई सधै चुनौती दिइरहेका छन् । यस्तै चुनौती मध्येको एक हो मानिस रातो ग्रह अर्थात मंगल ग्रहमा पुग्न नसक्नु । यसका पछाडि धेरै कारण छन् जसको बारेमा अन्तरिक्ष एजेन्सी नासाले जानकारी गराएको छ ।
नासाले गत वर्ष मंगल ग्रहमा मानिस जानका लागि हुने मुश्किलको एक सूचि बनाएको थियो । यी कठिनाइहरुमा मंगल ग्रहमा विकिरण, पृथ्वीबाट लामो दुरी, गुरुत्वाकर्षण र त्यहाँको बन्द वाताारण रहेका छन् ।
मंगलमा जानका लागि देखिएको पहिलो चुनौती भनेको विकिरण हो । यसलाई मानिसको आँखाले हेर्न सकिदैन । मंगल ग्रहको आफ्नो कुनै चुम्बकीय क्षेत्र छैन । यस्तो अवस्थामा त्यहाँको खतरनाक ब्रह्माणीय विकिरणले मानिसको आँखामा मोतिबिन्दु तथा क्यान्सर समेत लाग्न सक्छ ।
पृथ्वीबाट मंगल ग्रहको दुरी करिब १४ करोड माइल रहेको छ । चन्द्रमासम्म पुग्नका लागि अन्तरिक्ष यात्रीलाई मानिसलाई तीन दिनको यात्रा गर्नु परेको थियो । तर मंगल ग्रह सम्म पुग्नका लागि मानिसलाई महिनौं सम्मको यात्रा गनुपर्छ । यो आफैंमा ठूलो चुनौती हो ।
अन्तरिक्ष यात्री थोरै समय अन्तरिक्षमा बसेपछि उनीहरुको व्यवहार सम्बन्धि समस्या आउन थाल्छ । यसका लागि नासाको एक टीमले खोजी सुरु गरेको छ ।
मंगल ग्रहमा मानिसलाई फरक किसिमको गुरुत्वाकर्षणको पनि सामना गर्नुपर्छ । पृथ्वीमा मानिसको वजन १०० पाउन्ड अर्थात ४५.३ किलो भएको मंगल ग्रहमा उनीहरुको ३८ पाउन्ड अर्थात १७.२ किलो मात्रै हुन्छ ।
मंगलको तापमान तथा दबाब पनि मानिसका लागि एक ठूलो चुृनौती हुन्छ । पृथ्वीको तुलनामा मंगल ग्रहमा चिसो, धुलोले भरिएको आँधि धेरै गुणाले बढी हुन्छ । गर्मीको समयमा मंगलग्रहमा अधिकतम तापक्रम ३० डिग्री सेल्सियस हुन्छ । तर हिउँदमा यहाँको तापक्रम माइनस १४० डिग्री सेल्सियस सम्म पुग्छ ।
मानिसलाई जिउँदो रहनका लागि अत्यावश्यक वस्तु भनेको अक्सिजन हो । तर मंगल ग्रहमा यो कम हुने गर्छ । मंगलको वातावरणमा ९६ प्रतिशत कार्बनडाइअक्साइड हुन्छ, १.९३ प्रतिशत आर्गन, ०.१४ प्रतिशत अक्सिजन तथा २ प्रतिशत नाइट्रोजन हुन्छ । साथै यहाँको वातावरणमा कार्बन मोनोअक्साइड पनि पाइन्छ । यस्तो अवस्थमा मंगल ग्रहमा मानिस केही घन्टासम्म मात्रै जिवित रहन सक्छ ।
यद्यपि नासाका अनुसार २०३० सम्म अन्तरिक्ष यात्रीको एक दल मंगल ग्रहमा कदम राख्ने छ । युरोपेली अन्तरिक्ष एजेन्सी इएसएले पनि २०५० सम्ममा यस किसिमको अभियान सम्भव हुने बताएको छ ।