डा. उद्धव पुरी
काठमाडौं, २७ पुष ।
नेपालको एकीकरण वा गोरखाको विस्तार जे भने पनि हालको नेपालको स्वरूप गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको पौरख हो । उनले नेपालको प्राचीन यथार्थतालाई पुनः आधुनिक कालमा सङ्ग्रह गरिदिएका हुन् जसलाई अहिले हामी नेपाल भन्छौ र आफूलाई नेपाली भनिरहेका छाैं । यो यथार्थ हो कि हरेक नेपालीले पहिलो पटक टेक्ने यो धर्तीमै बसेर उनलाई अपराधी देख्नेहरू कुन परचक्रीको पाउ मोलिरहेका छन् थाहा छैन तर त्यही एकीकरणको जगमा बसेर हामीले आफूलाई नेपाली भन्न पाइरहेका छौं र नेपाली हुनुको गौरव गरिरहेका छौं ।
आश्चर्यको कुरा के छ भने जसले स–साना राज्यमा विभाजित मुलुकलाई एकीकरण गरेर विशाल नेपाल बनायो, जसले मुलुकलाई उपनिवेश बन्नबाट जोगायो, उसैको जन्म जयन्ती बनाउने कुरामा हरेक वर्ष पक्ष र विपक्षमा आवाजहरू मुखरित हुन्छन् । यो चर्तिकला जान्ने बुझ्नेहरूबाटै धेरै हुने गर्छ । यसरी हरेक वर्ष पृथ्वीनारायण शाहलाई गलत सावित गर्ने प्रयास भए पनि राजतन्त्र रहुञ्जेलसम्म सरकारले कुनै न कुनै रूपमा सरकारी स्तरबाटै पुस २७ लाई औपचारिक रूपमा नै एकीकरणका प्रतीकका रूपमा पृथ्वी जयन्ती मनायो । आम जनताले यस दिन पृथ्वीनारायण शाहको स्मृतिमा विदा मनाउन पाउँथे । त्यसपछि विवाद आरम्भ भयो ।
आफूलाई क्रान्त्रिकारी नेता भनाउन चाहनेहरूले के बुझे कुन्नि, पृथ्वी जयन्ती मान्न र मनाउन हुन्न भनेर सिकाइयो । विशेषगरी कम्युनिष्टहरू पृथ्वी जयन्तीको विरोधमा उत्रिए । पृृथ्वी जयन्ती शाह वंशीय कुनै एक राजाको नाममा मनाइएको थिएन र होइन पनि । पृथ्वी जयन्तीलाई त एकताको प्रतीकका रूपमा मनाइएको हो । यस कुराको इतिहास साक्षी छ । इतिहासलाई नै तोडमोड गरेर आफू खुसी अर्थ लगाउने हो भने त कसको पो के लाग्छ र ?
पृथ्वी जयन्ती र पृथ्वीनारायण शाहको चरम विरोध माओवादी जनयुद्ध कालमा देखियो । धेरै स्थानमा रहेका पृथ्वीनारायण शाहका शालिकहरू ढालिए । २०६२-०६३ सालको आन्दोलनताका काठमाडौंमा पनि त्यसै गरियो । सिंहदरबार अगाडिको शालिक पनि तोडफोड गरियो । राम्रा नराम्रा सबै पुराना कुराहरू इतिहास हुन् । संसारका अरू देशहरूमा आफ्नो इतिहास आउने पुस्ताका लागि जोगाउने र ऐतिहासिक वस्तुलाई राष्ट्रिय गौरवको रूपमा लिने गरिन्छ । तर नेपालमा त्यो परम्पराले निरन्तरता पाएन । समयको गर्तमा रहेका र हिजो राष्ट्रका लागि राम्रो मानिएका कतिपय कामहरू आज असान्दर्भिक र गलत लाग्न सक्छन् र पनि त्यो इतिहास बन्दछ ।
इतिहास मेट्नु भनेको आफ्नै बाबु आमालाई बिर्सनु सरह हो । किनभने इतिहास त्यो पाठशाला हो जहाँ मानिसले जन्मेपछिको कर्म, धर्म, संस्कार र वंशज भेट्दछन् । त्यही आफ्नो पहिचान पनि हो । त्यसैले विगत जो इतिहास बन्दछ त्यो अहिलेको सन्र्दभमा वा अहिलेका मानिसलाई राम्रो नराम्रो वा सही वा गलत जे लागे पनि वा जसरी व्याख्या गरे पनि त्यो इतिहास नै हो । भावी पुस्ताले आफ्नो राष्ट्रिय इतिहासलाई स्वतन्त्र ढङ्गले समीक्षा गर्न सकून भनेर पनि इतिहास र ऐतिहासिक धरोहरलाई बचाउनु पर्छ । यो सरकार र नागरिक समाज दुबैको दायित्व हो ।
मानिस कसैको प्रभाव र दवाबमा बेलाबेला अन्धो बनिदिन्छ । धेरैको आँखा ढिलो खुल्छ । हिजो विरोधमा प्राणै दिउँलाजस्तो गर्ने कतिपय मूर्धन्य व्यक्तिहरू नै अहिले पृथ्वी जयन्तीको नेतृत्व गर्न हतार गरिरहेका छन् । यस्ता दिग्भ्रमित शिक्षित व्यक्तिहरूसँग सोध्नै पर्दछ– पृथ्वीनारायण शाहले गोर्खाको विस्तार गरेर वा नेपालको एकीकरण गरेर के बिगारेका रहेछन् ? हेर्न र देख्न लाज लाग्ने के भएछ उनीहरूलाई ? उनीहरूले तुलना गरेर देखाउनु पर्छ कि पृथ्वीनारायण शाह एक्लैले गरेका त्यो राष्ट्र निमार्णको पुनीत कार्य र अहिले धेरैले गरेको आन्दोलन र आन्दोलनले दिएको उपलब्धि कुनचाहिँ महान् काम रहेछ ? आत्मसमीक्षा गर्दा राम्रै होला ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको साहस नगरेको भए आज हामी कुन अवस्थामा हुनेथ्यौं होला भनेर कल्पना गर्न पनि सकिन्न । ‘आलुबारीमा हात्ती लुकाउन सकिन्न’ भनेजस्तै कोही कसैले अपव्याख्या ग¥यो भन्दैमा पृथ्वीनारायण शाहको ऐतिहासिक योगदान हराउन र मेटिन सक्तैन, केही समयको लागि ओझेमा चाहिँ पर्न सक्छ । तुवाँलो लागेका बेला नजिकैका कतिपय वस्तुहरू दृष्टिगोचर हुँदैनन्, त्यसको अर्थ ती वस्तुहरूको अस्तित्व नै नभएको भने हुँदैन । भ्रमको तुवाँलो मेटिन समय लाग्नसक्छ । त्यसैले जानेर नजानेर पृथ्वीनारायण शाहको बारेमा हामी धेरै अन्यायपूर्ण अभिव्यक्ति दिइरहेका हुन्छौं ।
आधुनिक इतिहासमा हामी नेपोलियनलाई धेरै कुटनीतिज्ञ र महान् मान्दछौं, उनी आफ्नै जीवनकालमा पतन पनि भएका थिए । तर, पृथ्वीनारायण शाहको कुनै नीति असफल देखिंदैन । गोर्खामा जन्मिएका र त्यो गरिब र सानो देशको राजा भएका उनले विश्व विजेता अंग्रेजलाई हराए । भारत र चीनसँग कसरी जोगिन पर्छ भनेर देखाए । उनले झण्डै पचास बाउन्न स—साना राज्यहरूलाई एकीकृत गरे जसले कुनै विद्रोह गरेनन् । नेपालमा हिन्दू र बौद्ध धर्मभित्र धेरै जाति, धेरै भाषा, धेरै प्रकारको संस्कृति र संस्कारहरू थिए, ती सबैको सम्मान गरे । उनीभन्दा केही अगाडि आएका र उनले पनि लिएर आएका मुसलमानहरूले पनि नेपालमा कुनै अपमान सहनु परेन ।
नेपालमा भारतलगायत अरू देशमा जस्तो कुनै दिन पनि धर्म, जात र भाषाका आधारमा कुनै लडाइँ भएन । इतिहासलाई साक्षी राखेर भन्न सकिन्छ, यहाँ कुनै एक धर्मले अर्को धर्मलाई दबाएको छैन र भाषा, संस्कृति र जातीयताको आगोले कसैलाई जलाएको छैन । तराई, पहाड र हिमालको भूगोलमा जुन मेल र सद्भाव थियो त्यो गौरवमय इतिहास आज पनि जीवन्त नै छ । पृथ्वीनारायण शाहको दिव्योपदेशको सान्दर्भिकता आज पनि त्यत्तिकै छ ।
हामीले इतिहास पढेर पनि स्वार्थबस् राष्ट्रियता र आफ्नो गौरवमाथि अन्याय गरेका छौं । यसका धेरै उदाहरण छन् । पृथ्वीनारायण शाहले उपत्यकाको विजयपछि काठमाडौंलाई आफ्नो राजधानी बनाएका छन् । जुन दूरदर्शिता आजसम्म टिकेको छ । उनले नेपाल बनाएका हुन् गोर्खा हैन । त्यसैले उनले आफ्नो अन्तिम समयमा स्वघोषित राजा बन्न इच्छा राख्ने भाइभारदारलाई तह लगाए । राष्ट्र र राष्ट्रियताभन्दा कोही माथि हुँदैन भन्ने प्रमाणित गरे । दरबारमा आगामी शासकलाई कमजोर पारेर स्वर्थसिद्धिको खेलमा लागेका गोर्खाली र उपत्यकाका अगोर्खालीबीचको शितयुद्धलाई पनि उनी अन्त्य गर्न चाहन्थे । त्यसैका लागि उनले आफ्नो अन्तिम समयमा भौतारिदै दहचोक, नुवाकोट हुँदै देवीघाटमा पुगेर प्राण त्याग गर्न पुगे ।
जसले खण्ड खण्डमा विभाजित राजा–रजौटालाई पराजित गरी एकीकरणको विशाल सागरभित्र समाहित गराए, जसले राष्ट्र र राष्ट्रियताका लागि आफ्नो जीवन समर्पित गरे, जसले एकीकरण गरेको मुलुकलाई गोर्खा नभनेर नेपाल भने, जसले भारत र चीनजस्ता मुलुकहरूसँग सन्तुलिन कूटनैतिक सम्बन्ध स्थापना गरे र जसले आज हामीलाई नेपाली भनेर गौरव गर्ने अखण्ड मुलुक सुम्पेर गए, त्यस्ता राजनेताको जन्म जयन्तीमा उनको शालिकमा श्रद्धा र सम्मानको एकथुँगा फूल चढाउन पनि कञ्जुस्याइँ गर्नु आफैंप्रतिको बेइमानी हो । अझ यसै सन्दर्भमा उनको योगदानको अवमूल्यन हुने अभिव्यक्ति दिनु इतिहासको पनि अवमूल्यन हो । साँच्चै भन्ने हो भने २९८ वर्षपछि आज पनि नेपालआमा उनीजस्तै कर्मवीर अर्को पृथ्वीनारायण खोजिरहेकी छन् ।
सन्दर्भ : २९८ औं पृथ्वीजयन्ती