नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुस ।
त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने निर्णय गरेसँगै विद्यार्थी संगठनहरू त्यसको तयारीमा लागिपरेका छन् । स्ववियु निर्वाचनमा भाग लिएर आफूहरू विजयी हुने सबै विद्यार्थी संगठनहरूको आ–आफ्नै दाबी रहेको छ । सबै विद्यार्थी संगठनहरूमा उत्साह छाएको छ । स्ववियु निर्वाचनको तयारीका लागि त्रिवि विद्यार्थी कल्याण महाशाखाले पनि त्रिविअन्तर्गतका क्याम्पसहरूलाई निर्देशनसमेत दिइसकेको छ ।
प्रायः धेरैजसो विद्यार्थी संगठनहरूमा आन्तरिक विवाद पनि चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले केन्द्रीय कमिटी घोषणा गरेता पनि केन्द्रीय कमिटिभित्र अझै केही विवाद देखिएको छ । त्यस्तै क्याम्पस कमिटिहरू पनि एकीकृत हुन सकेका छैन । यसका बावजुत पनि आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा सम्पूर्ण रूपले होमिने अनेरास्ववियूको केन्द्रीय कमिटीले निणर्य गरिसकेको छ । काठमाडौंमा बसेको पूर्व एमाले निकट अनेरास्ववियु र पूर्व माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को एकतापछि बनेको अनेरास्ववियूको पहिलो बैठकेले उक्त निर्णय गरेको हो । साथै बैठकमा अनेरास्ववियुका जिल्ला र क्याम्पस कमिटीलाई स्ववियु निर्वाचनको तयारी गर्नसमेत निर्देशन दिएको छ ।
कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)मा पनि विवाद यथावत नै छ । जसका कारण यो विवादले नेविसंघमा मात्र नभएर कांग्रेस पार्टीभित्र पनि ठाउँ पाएको छ । केन्द्रीय नेताहरूदेखि लिएर नेविसंघका विद्यार्थी नेताहरूसमेत आन्तरिक द्वन्द्वमा अल्झिएका छन् । नेतृत्वका विषयमा पार्टीिभत्रै विवाद जारी रहँदारहदै पनि नेविसंघ स्ववियु चुनावमा भाग लिन प्रतिबद्ध छ । चुनावका लागि आन्तरिक गृहकार्य अघि बढीसकेको विद्यार्थी नेताहरूको भनाइ छ । त्यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल निकट राष्ट्रिय विद्यार्थी संघ (राविसंघ) र समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन (सवियुनियन) मा पनि विवाद उस्तै नै छ ।
२०७३ फागुनमा सम्पन्न स्ववियु निर्वाचनको दुई वर्षे कार्यकाल गत फागुनमा नै सकिए पनि त्रिविले एक वर्ष समयावधि थप गरेको थियो । त्यो समय पनि यही फागुनमा सकिनै लागेकोले निर्वाचनको विकल्प थिएन । २०७३ सालमा करिब २ सय ५० क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । हाल करिब एक हजार एक सय सम्बन्धन प्राप्त क्याम्पसहरू छन् । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विगत एक दशकदेखि हुन नसक्ता त्रिविका अधिकांश क्याम्पसहरू स्ववियुविहीन छन् ।
समयमा निर्वाचन हुन नसक्नुको कारणहरूमध्ये विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्नु पनि हो । त्रिविको नियमावलीमा संशोधन गरेर २०६९ सालमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन गर्ने व्यवस्था गरेको थियो । अहिले अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन गरी मिश्रित निर्वाचन प्रणाली अवलम्बन गर्ने व्यवस्था गरिएको छ ।