प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनरक्षक विधि मानिएको डायलाइसिस प्रक्रिया जारी राख्दै मुलुकका महत्वपूर्ण नीतिगत तथा प्रशासनिक कार्य गर्दै आएका छन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको नियमित डायलाइसिस हुँदै आए पनि महत्वपूर्ण बैठक र प्रशासनिक कामलाई अड्काएका छैनन् । मन्त्रिपरिषद् बैठकका निर्णयदेखि पार्टीका महत्वपूर्ण बैठकमा समेत सहभागी भएर प्रधानमन्त्रीले आफ्नो सक्रियता बढाउँदै आएका छन् ।
प्रधानमन्त्री ओली शनिवार पनि डायलाइसिसका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए । डायलाइसिस गरेर बालुवाटार फर्केलगत्तै उनी पुनः प्रशासनिक कार्यमा सक्रिय हुने गरेका छन् । प्रधानमन्त्री ओली गत कात्तिकदेखि नियमित डायलाइसिसमा छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले डायलाइसिस गर्दै आफ्नो नियमित कार्यलाई अगाडि बढाइरहेको बताए । प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीले निवासमा बसेर नियमित रूपमा नै महत्वपूर्ण कार्य गरिरहेको जानकारी दिए । तत्काल प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको कुनै योजना नबनेको थापाले बताए ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्यासिंह शाहले प्रधानमन्त्रीको नियमित डायलाइसिस भइरहेको बताइन् । डायलाइसिस गराइरहेका प्रधानमन्त्री ओलीलाई धपेडी नगर्न र भिडभाडमा नजान चिकित्सकले सुझाव दिँदै आएका छन् । मिर्गौला रोग विशेषज्ञ डा ऋषि काफ्लेका अनुसार मृगौला प्रत्यारोपण नहुँदासम्म नियमित डायलाइसिस गर्नुपर्ने हुन्छ । उनले भने, ‘प्रधानमन्त्रीज्यूको मृगौला प्रत्यारोपण नहुँदासम्म नियमित डायलाइसिस गर्नुपर्छ ।’
प्रधानमन्त्री ओली गत १८ साउनमा स्वास्थ्य परीक्षणका क्रममा सिंगापुर पुगेर प्लाज्माफेरोसिस प्रक्रियामार्फत उपचार गराएका थिए । प्लाज्माफेरेसिसले काम नगरेपछि ओलीले डायलाइसिस रोजेका छन् । २०६४ सालमा ओलीको भारतको ओपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।