राजु लामिछाने
काठमाडौं, ८ माघ ।
नेपालको संविधानअनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनु अनिवार्य छ । यसैगरी, यी दुई पदमा फरक–फरक दलका नै हुनुपर्छ । सभामुखका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अग्निप्रसाद सापकोटाको एकल उम्मेद्वारी परेकोले उनी नै सभामुख बन्ने निश्चित छ । सय अर्थमा अब नेकपाले उपसभामुखमा अर्को दलको उम्मेद्वारलाई सघाउनुपर्ने छ ।
उपसभामुखमा कांग्रेस र राजपाको दाबी
ठूलो दल नेकपाले सभामुखमा उम्मेद्वारी दिइसकेकोले दोस्रो ठूलो दल नेपाली कांग्रेसले उपसभामुखको दाबी गर्नु स्वाभाविक हो । उपसभामुखमा नेकपाको पनि समर्थनको ढोका खुल्ला राख्न कांग्रेसले सभामुखमा उम्मेद्वारी दिएन । नेकपा अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरवहादुर देउवा र अर्का वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभामुखमा सापकोटालाई निर्विरोध बनाउन सहयोग मागेका थिए ।
जवाफमा कांग्रेसले उपसभामुखको दाबी गरेको थियो । सायद प्रचण्डबाट यस्तो आग्रह नभएको भए कांग्रेसले सापकोटालाई निर्विरोध हुन नदिनकै लागि भएपनि सभामुखमा उम्मेद्वारी दिने थियो । साथै नेता पौडेलसँगको भेटमा प्रचण्डले उपसभामुखमा सघाउने वचन पनि दिएका थिए ।
यता विपक्षी बेञ्चमा रहेपनि ९ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा नेकपासँग गठबन्धन गरेको राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि उपसभामुखमा दाबी गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मात्र होइन, मधेसवादी दलहरूले समेत उपसभामुख दाबी गरेपछि उपसभामुखको उम्मेद्वार कुन दलबाट बनाउने भन्ने निर्णय गर्न नेकपालाई अप्ठेरो पर्ने देखिएको छ ।
उपसभामुखमा पनि ओली-प्रचण्डको विवाद
लामो रस्साकस्सीपछि सभामुख उम्मेद्वारको तय गरेका नेकपा अध्यक्ष प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच उपसभामुखलाई लिएर फेरि विवाद सिर्जना भएको छ । ओली राजपालाई साथमा लिएर अगाडि बढ्न चाहन्छन् भने प्रचण्ड कांग्रेसलाई चिढ्याउन नहुन मत राख्दै आएका छन् । सभामुख चयनमा हार स्वीकारेका ओली उपसभामुख चयनमा भने प्रचण्डलाई हराउने मनासायमा छन् । यता प्रचण्डले भने अग्निलाई निर्विरोध बनाउने चक्करमा कांग्रेससँग बाचा गरिसकेकोले उसलाई धोका नदिउँ भन्ने मनासयमा छन् ।
त्यसो त प्रचण्डले ओलीलाई कांग्रेसलाई उपसभामुख दिएमा सरकारप्रति नरम हुने र सरकारका आगामी यात्रा सहज हुने कुराको हेक्का राख्न पनि सुझाएका छन् । जवाफमा ओलीले राजपासँग नजिकिएर प्रदेश २ मा समाजवादी पार्टीको सरकार ढाल्नको लागि पनि राजपालाई च्याप्नुपर्ने तर्क गर्दै आएका छन् । प्रचण्डले भने राजपालाई मन्त्रिमण्डल पुनर्गठनको क्रममा समेट्न सकिने भन्दै कांग्रेसलाई नै उपसभामुख दिँदा सकारात्मक सन्देश जाने भन्दै ओलीलाई दवाब दिइरहेका छन् ।
सापकोटालाई निर्विरोध बनाउने चक्करमा प्रचण्ड कांग्रेसपट्टि ढल्किन पुगेका छन् । हत्या अभियोग लागेका सापकोटालाई सभामुख बनाउन लागेको भन्दै आलोचनाको स्वरहरू सुनिएकोले सापकोटालाई निर्विरोध सभामुख बनाउदा राम्रो सन्देश जाने बुझेका प्रचण्ड सापकोटालाई निर्विरोध बनाउन त सफल भएका छन् तर कांग्रेसलाई सभामुखमा नेकपाको समर्थन जुटाउने वातावरण बनाउन भने उनलाई फलामको चिउरा चपाएसरी हुने भएको छ ?
के हो अग्निको अभियोग ?
सशस्त्र आन्दोलन जारी रहेका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई माओवादी कार्यकताले अपहरण गरे । अपहरणमा परेको दुई महिनापछि काभ्रेकै तत्कालीन बूढाखानी गाविसको चारकिल्लामा गाडेको अवस्थामा लामाको शव फेला पर्यो । घटनामा तत्कालीन माओवादीका नेताहरू सापकोटा, सूर्यमान दोङ, कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानको संलग्नता हरेको भन्दै लामाकी श्रीमती पूर्णीमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिइन् ।
गत असोज २९ गते हत्या मुद्दाको पेशी तोकिए पनि ‘हेर्न नभ्याइएको’ भन्दै हटाइएको थियो र अब यही माघ २२ गतेका लागि पेशी तोकिएको छ ।
अन्ततः अहिलेसममको घटनाक्रम हेर्दा उपसभामुखमा कांग्रेस र राजपाकै भिडन्त हुने देखिएको छ । हालैमात्र सरकारबाट बाहिरिएकोले समाजवादी पार्टीले उपसभामुखमा दाबी गर्ने देखिँदैन । प्यूठानबाट निर्वाचित राष्ट्रिय जनमोर्चा(राजमो) की सांसद दुर्गा पौडेलले सत्तारुढ नेकपाले उपसभामुखका लागि गरेको ‘अफर’ अस्वीकार गरिसकेकी छिन् । त्यसैले पनि उपसभामुखमा पनि नेकपाले समर्थन गरेकै दलले जित्ने देखिएको छ । तर नेकपाले भने सभामुखको निर्वाचन र उपसभामुखको निर्णय राष्ट्रिय सभा निर्वाचनपछि मात्र गर्ने बताएकोले उपसभामुख कुन दलले पाउँछ भन्ने खुलासा हुन केही दिन अरू कुर्नुपर्ने देखिन्छ ।