उपसभामुखबारे कांग्रेस र राजपा: मोही माग्ने ढुङ्ग्रो लुकाउने

सभामुखमा नेकपा नेता अग्नि सापकोटा निर्वाचित भइसकेपछि उपसभामुख निर्वाचनको प्रक्रिया अगाडि बढ्ने भएको छ । यससँगै उपसभामुख कुन दलले पाउछ भन्ने चर्चा सुरू भएको छ । दावेदारका रूपमा हेरिएका दुई दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपा भने भित्र भित्र लविङ गरेपनि बाहिर भने आफ्नो दाबी नरहेको बताइरहेका छन् । अझ भनौं उनीहरूले उपसभामुखमा मोही माग्ने ढुङ्ग्रो लुकाउने जस्तो व्यवहार गरिरहेका छन् ।

उपसभामुखलाई लिएर नेकपा नेताहरूसँग कांग्रेस र राजपा दुबैले लबिङ गरिरहेकै छन् । आइतवार सभामुख चयन प्रक्रियामा प्रमुख प्रतिपक्षी दलको प्रतिनिधित्व गर्दै बोलेका कांग्रेस नेता मिनेन्द्र रिजालले कांग्रेस कमण्डलु लिएर उपसभामुखको भिख नमाग्ने बताए । तर उनले धुमाउरो भाषामा कांग्रेस नै उपसभामुखको दाबेदार रहेको बताए । ‘संविधानमा किन सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था गरियो होला ? यसको मर्म संसदमा बहुमतप्राप्त दलले बुझेको छ कि छैन ?’ रिजालको यो प्रश्न अरू कसैलाई नभएर नेकपातिर नै लक्ष्यित थियो । रिजालको आशयले कांग्रेसले सिधै उपसभामुख नमागे पनि त्यो पद कांग्रेसले पाउनुपर्ने कुराको सङ्केत गर्दछ । उनले सम्बोधनको क्रममा भनेका थिए, उपसभामुख प्राप्त गर्न सक्ने हाम्रो मत पनि छैन, दाबी पनि छैन । अव प्रश्न आउछ उपसभामुख पाउने मत दोस्रो ठूलो दल कांग्रेससँग त छैन भने अरू कोसँग छ त ?



नेकपाको साथ नलिई उपसभामुख कुनै दलले पनि हात पार्न नसक्ने भएकोले रिजालले नेकपालाई संविधानको मर्म बुझ्न आग्रह गर्नुलाई आफूहरू स्वाभाविक दाबेदार भएको भन्न खोजेको बुझिन्छ । उपसभामुख कसलाई बनाउने भन्ने निर्णायक शक्ति नेकपा भएकोले पनि कांग्रेस र राजपाले बाहिरी रूपमै उपसभामुखको दाबी गर्न सकेका छैनन् । भित्र भित्र भने न्वारानदेखिको बल लगाएकै छन् ।

बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले भने उपसभामुख कुनै चासो देखाएको छैन । हालैमात्र सरकारबाट बाहिरिएकाले पनि नेकपाले आफूहरूलार्ई उपसभामुख नदिने बुझेकोले नै समाजवादी पार्टी उपसभामुखको दौडमा छैनन् ।

प्रतिनिभिसभामा एक सीटको प्रतिनिधित्व गर्दै आएको राष्ट्रिय जनमोर्चा सांसद दुर्गा पोखरेलको नाम सत्तापक्षबाट उपसभामुखका रूपमा चर्चामा आए पनि दाबी नगर्ने भएको छ । सभामुख, उपसभामुख वा संसदीय समितिका सभापति जस्ता पदहरूमा नजाने राजमोको नीति नरहेको तर, एकजना मात्रै सांसद भएकाले यी पदहरूमा व्यवहारिक रूपमा नजाने सो पार्टीका नेताले स्पष्ट पारेका छन् ।

राजमोको मातृ पार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले उपसभामुखमा नजाने हाम्रो नीति होइन, तर अहिले प्रतिनिधिसभामा हाम्रो एकजना मात्र सांसद रहेकाले उपसभामुख नबन्ने नीति लिइएको बताए । एकजना सांसद उपसभामुख बनेपछि पार्टीका मुद्दाहरू सदनमा उठाउन नपाइने भएकाले उपभामुखमा नजाने सिंहले स्पष्ट पारेका छन् ।

राजमोले यसअघि पनि उपसभामुखमा दाबी नगरेको बताउँदै सिंहले यसबारे विपक्षीले भ्रम फैलाएको गुनासो गरे । उनले दुर्गालाई उपसभामुख बनाउन मैले प्रचण्डलाई भेटेको जस्ता हल्ला फैलाइयो, तर मैले प्रचण्डलाई भेटेको पनि छैन र हामीलाई उपसभामुख चाहियो पनि कहिल्यै नभनेको बताए ।

सभामुखलाई लिएर नेकपामा २ धार
प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखमा राजपालाई ल्याउन चाहेका छन् । सरकारलाई दुई तिहाइ समर्थन पुर्याउन पनि राजपालाई सरकारमा ल्याउनुपर्ने भएकोले उपसभामुख पनि उसैलाई दिंदा सहज हुने प्रधानमन्त्रीको बुझाई छ । प्रदेश २ मा समाजवादी पार्टी नेतृत्वको सरकार ढालेर नेकपा राजपाको सरकार बनाउने मर्ग प्रसस्त गर्न पनि राजपालाई उपसभामुख दिनुपर्ने उनले बताउदै आएका छन् । राजपाका नेता राजेन्द्र महतोले नेकपाले उपसभामुख दिए लिन तयार रहेको बताउनुले पनि प्रधानमन्त्रीबाट केही आश्वासन पाएको कुरा आकलन गर्न सकिन्छ ।

तर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने उपसभामुख कांग्रेसलाई दिनुपर्ने बताउदै आएका छन् । प्रतिपक्षि दललाई उपसभामुख दिंदा राम्रो सन्देश जाने र सरकारको आगामी यात्रा पनि सहज हुने भन्दै उनले कांग्रेसको लभिङ गरिरहेका छन् ।

सत्तारूढ दलले संसदीय अभ्यासलाई अत्यन्त प्रभावकारी ढङ्गबाट अगाडि बढाउन चाहेको हो भने उपसभामुख प्रमुख प्रतिपक्षी दललाई दिँदाखेरि सम्पूर्ण चुनौतीहरूलाई व्यवस्थापन गर्न सकिन्छ । सत्यनिरूपणका बाँकी काम पूरा गर्न, शान्ति प्रक्रिया, संविधान कार्यान्वयनदेखि जनसरोकारका विषय, आर्थिक समृद्धि र लोकतान्त्रिक व्यवस्थालाई प्रभावकारी बनाउन पनि उपसभामुख प्रमुख प्रतिपक्षि दल कांग्रेसलाई दिंदा नेकपा सरकारको आगामी यात्रा सहज हुने देखिन्छ । प्रचण्डको दृष्टिकोण पनि यतैतिर केन्द्रित देखिन्छ ।

सम्बन्धित समाचार