एउटा चित्ताकर्षक आश्रमको यथार्थ कथा

पहाडको अग्लो डाँडामा मन्द गतिको हावाको सर्सराहट । घामको झुल्काको पहिलो स्पर्स निकै रमाइलो र आनन्द लाग्दो । वरिपरी घना जङ्गलले घेरिएको डाँडामाथिल्लो भागमा थालीजस्तो परेको, गर्मीको समयमा पनि शीतलता प्राप्त हुने ठाउँ । त्यहीं छ एउटा चिटिक्क परेको बस्ती । त्यस बस्तीका सबै घरका उस्तै संरचना । रङ्गरोगन पनि उस्तै । त्यो ठाउँमा पुग्ने जोकोहीको पनि मन लोभिएकै हुनुपर्छ । पुरातात्विक रूपमा नेपाली शैली र सीपमा बनेका एकसमानका घरहरू । सबै एकतले घर, धुरीमा टिनका छाना । अधिकांश एकतले र केही दुईतले र तीनतले गरी ३३ वटा घरहरूका बीच एउटा अर्को साढे चार तले ठूलो र भव्य भवन । ठूलो र खुल्ला कम्पाउण्ड, बाटो तथा बत्तीको सुविधा, प्राकृतिक हरियाली तथा शान्त वातावरण । मानिसहरूलाई स्वर्गको आभास दिलाउने सुन्दर बस्ती ।

लाग्न सक्छ यो कुनै रिसोर्ट वा कुनै विदेशी फाइभ स्टार होटल त होइन ?



अहँ, भ्रममा नपर्नुहोस् । यो न कुनै महङ्गो रिसोर्ट हो वा फाइभ स्टार होटल नै । यो हो शंखरापुर नगरपालिका–४ स्थित जेपी प्रतिष्ठानद्वारा संञ्चालित मैत्री सेवाश्रम । यो आश्रम २०७३ फागुनदेखि विधिवत सञ्चालनमा छ । ज्येष्ठ नागरिकलाई शान्त र प्रकृतिमैत्री वातावरणमा जीवनयापन गराउनका लागि खोलिएको आश्रम ।

यस आश्रमको खास विशेषता भनेको यसको अवस्थिति हो, जहाँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाका हिमश्रृङ्खलाहरू, जर्सिङ्पौवा हुँदै मेलम्ची राजमार्ग नजिकको दक्षिणमा पर्ने पौराणिक एवम् ऐतिहासिक महत्वको साँखु सहर र प्रसिद्ध बज्रयोगिनीको मन्दिर, उत्तरमा लाङटाङ हिमालको मनोरम हिमश्रृङ्खला, गोसाइँकुण्ड र हेलम्बू, पूर्वमा पर्यटकीय नगरी नगरकोटको लोभलाग्दो र मनोरम दृश्यलाई सहज रूपमा अवलोकन गर्न सकिनु हो ।

त्यस आश्रममा आनन्द र रमाइलोसँग दिनहरू बिताइरहेको देख्न सकिन्छ ६० वर्ष पार गरिसकेका वृद्धवृद्धाहरू । जेपी प्रतिष्ठानले ६० वर्ष नाघेका स्वदेशी तथा विदेशी व्यक्तिहरूलाई मासिक रूपमा न्युनतम शुल्क लिई आधारभूत आवश्यकतासहित भोजन, विश्राम, काम, मनोरञ्जन र स्वास्थ्य सेवाको सन्तुलित व्यवस्था गरेर उनीहरूको स्याहार सुहार गरिरहेको छ । यस प्रतिष्ठानका अध्यक्ष हुन्– मित्रसेन दाहाल । उनै दाहालको सक्रियतामा स्थापना भएको हो जेपी प्रतिष्ठान ।

भन्ने गरिन्छ– जसको कोही हुँदैन, उसको भगवान हुन्छ । हो, मित्रसेन पनि ती वृद्धवृद्धाका लागि भगवानझैं बनेका छन् । बिहानदेखि बेलुकासम्म आश्रममा रहेका वृद्धवृद्धाहरूलाई खुवाउँछन्, डुलाउँछन्, उनीहरूसँगै खेल्छन् र उनीहरूलाई एक्लोपनको आभास नहोस् भनेर राती उनीहरूसँगै सुत्छन् पनि ।

‘जसको जीवन सुखद् हुँदैन, शारीरिक रूपमा कमजोर हुन्छन्, आफ्नो घरमा पालन पोषन गर्ने मानिस पाउँदैनन्, त्यस्ता व्यक्तिहरूलाई ल्याएर हामी आश्रममा राख्छौं’ दाहाल भन्छन् । निश्चित संख्यामा अशक्त, असहाय र राष्ट्रलाई उल्लेखनीय योगदान पु-याउने व्यक्तिहरूलाई निःशुल्क सेवा प्रदान गर्दै आएको उनको भनाइ छ । राष्ट्रलाई उल्लेखनीय योगदान गरेका व्यक्तिलाई पनि सरकारको सिफारिसका आधारमा आश्रममा राख्ने गरेको उनले बताए ।

आवासीय भवनहरू निक्कै ठूलो धनराशि खर्च गरी निर्माण गरिएको छ । अथासम्भव भौतिक पूर्वाधारहरू पूरा गरिएको छ । त्यहाँ गएर बस्न चाहनेहरूका लागि न्युनतम रकम तोकिएको छ । एउटा सिङ्गो कुटीको मासिक ११ हजार, एउटा कोठाको सात हजार र एउटा मात्रै बेड प्रयोग गर्न चाहनेहरूको लागि ३ हजार ५ सय लिने गरिएको प्रतिष्ठानले जनाएको छ । यस रकमभित्र आवास, भोजन र स्वास्थ्य सेवा उपलब्ध गराउने गरिइएको अध्यक्ष दाहालले बताए ।

आश्रममा अहिले २५ जना ज्येष्ठ नागरिकहरू बसिरहेका छन् । मैत्री सेवा आश्रममा अर्गानिक भोजन गृह, जेरियाट्रिक अस्पताल, योगध्यान केन्द्र, आध्यात्मिक केन्द्र, प्राकृतिक उद्यान तथा पार्क र खेल मैदानसहितको नमुना गाउँ पनि छ । प्रतिष्ठानले आफूले उपयोग गर्ने चामल तथा तरकारीका लागि धान खेती, अन्नबाली, तरकारी खेतीका साथै दूग्ध पदार्थका लागि गाई पालन गरी आवश्यक सबै अर्गानिक खाद्यपदार्थ उत्पादन गरिंदो रहेछ ।

विशुद्ध सामाजिक सद्भावबाट अभिप्रेरित भएर समाजका विभिन्न व्यक्तिहरूको सामूहिक प्रयास र संग्लनतामा २०५१ सालमा स्थापना भएको यस जेपी प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै प्रतिष्ठानको विधानबमोजिम सदस्यता माग गर्ने व्यक्तिहरूलाई आवश्यक प्रक्रिया पूरा गरी विभिन्न किसिमका सदस्यता पनि प्रदान गरिंदै आएको पनि जानकारी भयो ।

प्रतिष्ठानमा नेपाल सरकारको र निजी साझेदारीबाट १० वटा घर बनेका रहेछन् । नेपाली सेना कल्याणकारी कोषको सहयोगबाट १० वटा घर र प्रतिष्ठानको आफ्नै पहल र डोनेशनबाट १३ घर गरी जम्मा ३३ घर निर्मार्ण भइसकेका रहेछन् । यहाँ ज्यष्ेठ नागरीकहरूलाई मौलिक संस्कृतिमा आधारित शिक्षाको व्यवस्था पनि गरिएको र बसाइका हिसाबले अन्तर्राष्ट्रिय स्तरको सुविधा प्रदान गरिएकोे अध्यक्ष दाहालको दाबी छ । ‘आश्रमसम्म पुग्नका लागि सडक पनि हामीेले नै बनायौं, अहिले अन्य धेरै भौतिक पूर्वाधार निर्माण भइसकेका छन् । हालसम्म २५ करोड रुपैयाँ खर्च भइसकेको छ’ दाहालले भने ।

जसले आफ्नो घरमा सुखमय जीवनयापन गर्न पाउँदैनन्, तिनीहरूलाई सुरक्षित र सुखमय जीवनयापनका लागि प्रतिष्ठान खोलिएको दाहालले बताए । जोसँग सन्तान र सम्पत्ति छैन, उनीहरूलाई प्रतिष्ठानले राख्ने गरेको छ । आश्रममा सुविधा सम्पन्न अस्पताल पनि निर्माणाधीन अवस्थामा छ । भारत सरकारको सहयोगमा एउटा एम्बुलेन्स पनि स्टेन–बाई राखिएको छ । दाहाल आश्रमलाई अझैं विस्तार गर्ने सोचमा छन् । वृद्धवृद्धाहरूसँग रमाउन पाउँदा उनी पनि खुशी भएको सुनाउँछन् । अहिले प्रतिष्ठानसँग ५ सय रोपनी जग्गा भएको र त्यसमध्ये एक सय रोपनी मात्रै प्रतिष्ठानको नाममा भएको पनि अध्यक्ष दाहालले जानकारी दिए ।

सम्बन्धित समाचार