महेश कठायत
काठमाडौं, २८ माघ ।
चीनको हुबेइ प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रकोप अहिले विश्वका दुई दर्जनभन्दा बढी देशहरूमा फैलिसकेको छ । अहिलेसम्म चीनमा ४२ हजारभन्दा बढी मानिसमा कोरोनोभाइरस संक्रमण भएको पुष्टि भएको छ भने यसबाट मृत्यु हुने मानिसको संख्या पनि हजार नाघेको अवस्था छ । त्यसैगरी चीनबाहिर अहिलेसम्म फिलिपिन्समा एक र हङ्कङमा एक जनाको मृत्यु भइसकेको छ । सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनका २२ प्रान्तमा फैलिसकेको छ ।
चीनमा रहेका नेपालीहरूलाई नेपाल फर्काउन सहजीकरणका लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले गत माघ १८ गते चीन सरकारलाई औपचारिक पत्र पठाएको थियो । त्यसपछि बेइजिङस्थित नेपाली दूतावासले नेपाल आउन चाहनेलाई फारम भर्न भनेको थियो । जसमा चीनमा रहेका १ सय ८५ जना नेपालीले नेपाल फर्किन चाहेको भन्दै फारम भरेका थिए । तर आफूले फारम भरेको पनि यतिका समय बितिसक्दा पनि नेपाल सरकारबाट कुनै ठोस पहल नभएको विद्यार्थीहरूको गुनासो छ ।
चीनमा रहेका विद्यार्थीहरू के भन्छन् ?
कोरोना भाइरसको केन्द्रविन्दु मानिएको चीनको हुबेइ प्रान्तमा रहेका नेपाली विद्यार्थीहरू उक्त भाइरसबाट त्रसित छन् । उनीहरू चीनबाट जतिसक्दो चाँडो नेपाल र्फकन चाहन्छन् । आफ्नो उद्धारको लागि उनीहरू आफ्ना अभिभावक र सरकारलाई हारगुहार गरिरहेका छन् । आफूहरू चीनमा नै बसिरहनको लागि त्यति सहज अवस्था नभएको उनीहरूको गुनासो छ । कोरोना भाइरसको महामारीका कारण चीनमा रहेका नेपाली विद्यार्थीहरू आफू बसेको घरबाट बाहिर निस्कन सक्ने अवस्था पनि नभएको र लामो समयसम्म घरभित्रै बस्दा खाद्य सामग्रीको समेत अभाव भएकोे गुनासो गरिरहेका छन् । जति लामो समय चीनमा रह्यो त्यति नै आफूहरूमा संक्रमणको जोखिम रहने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
उनीहरू भन्छन् ‘के हामीलाई नेपाली नागरिक भएर बाँच्न पाउने अधिकार छैन ?’
चीनमा रहेका नेपाली विद्यार्थीहरूका अभिभावकले सोमबार काठमाडौैंमा गरेको पत्रकार सम्मेलनमा फेसबुक लाइभमा चीनमा रहेका नेपाली विद्यार्थीहरू मध्येका एक गौरव पोखरेलले भने ‘कोरोना भाइरसको केन्द्रविन्दु मानिएको हुबेइ प्रान्तमा रहेका हामी १ सय ८० जना मध्ये कसैमा पनि कोरोनाको संक्रमण छैन । त्यसैले नेपाल सरकारले पनि हामीलाई उद्धार गर्ने उचित समय यही हो । तर चीनमा रहेका विद्यार्थीहरूमा कोरोना भाइरसको संक्रमण भएकोले तिनीहरूलाई नेपाल ल्याउनु हुन्न भन्ने गलत हल्ला फैलाइएको छ । यस्तो हल्लाका पछि लागेर हामीलाई उद्धार गर्नमा नेपाल सरकारले ढिला गर्नु हुँदैन ।’ नेपाल सरकारले आफूहरूलाई नेपाल ल्याउन ढिला गरेकोमा आक्रोस पोख्दै उनले के हामीलाई नेपाली नागरिक भएर बाँच्न पाउने अधिकार छैन ? भनी प्रश्नसमेत गरे ।
नेपाल सरकारले चीनलाई एक लाख माक्स पठाउनुभन्दा आफ्ना नागरिकहरूलाई चीनबाट र्फिता लगे चीनलाई सहज हुने पोखरेललेको भनाई थियो । चीनमा रहेका अन्य देशका विद्यार्थीहरू आ–आफ्नो देश गइसकेकोे र आफूहरू अझै पनि नेपाल जान नपाएकोमा आफूले मानसिक तनावसमेत खेप्नु परेको उनले दुखेसो पोखे ।
त्यसैगरी चीनमा अध्ययनरत अर्का विद्यार्थी सुदीप राउतले पनि कोरोना भाइरसका बारेमा नेपालमा फैलिएको भ्रमलाई चिर्न सरकारले जनचेतना अभिवृद्धि गर्नुपर्ने बताए । चीनस्थित नेपाली दूतावास र नेपाल सरकारले आफूहरूलाई उद्धार गर्नु पर्ने विषयमा उदानसिनता देखाएको आरोप लगाए । आफू चीनको लागि पनि बोझ भएको र अप्ठ्यारो स्थितिमा रहेको भन्दै उनले आफूहरूको उद्धारको लागि सरकारलाई आग्रह गरे ।
के भन्छन् उनका अभिभावकहरू ?
चीनमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन उनीहरूका अभिभावकहरू कहिले सडक त कहिले सिंहदरबार धाइरहेका छन् । आफ्ना छोराछोरीहरूको उद्धारको लागि आफूहरूले स्वास्थ्य मन्त्राललय, परराष्ट्र मन्त्रालय र मानव अधिकार आयोगसमेत गुहारिसकेको उनीहरूको भनाई थियो । आफूहरूको समस्या लिएर सम्बद्ध निकायमा पुगिसकेका उनीहरूले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन पनि गरेका थिए ।
पत्रकार सम्मेलनमा अभिभावकहरूले चीनमा रहेका आफ्ना छोराछोरीहरू कोरोना भाइरसबाट संक्रमित नभएको भन्दै उनीहरूले जतिसक्दो चाँडो नेपाल ल्याउन सरकारले पहल गर्नुपर्ने बताएका थिए । चीनबाट शुरू भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी फैलिरहेको बेला चीनमा रहेका आफ्ना नागरिकहरूको उद्धारको लागि नेपाल सरकारले गम्भीरता नदेखाएको अभिभावकहरूले गुनासो गरे । विद्यार्थीहरूको उद्धारको लागि आफूहरूले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएकोमा उनीहरूले रोष प्रकट गरे ।
पत्रकार सम्मेलनमा अभिभावक रमेशबहादुर सिंहले भने ‘हामीहरूले मन्त्रीहरूलाई भेट्दा उनीहरू आफूलाई पनि यो कुराले दुःख लागेको बताउछन्, तर सरकारको दुःख, अभिभावकको दुःख र चीनमा रहेका नेपालीहरूको दुःखमा धेरै फरक छ । चीनमा रहेका छोराछोरीको कुरा सुन्दा हाम्रो हृदय काँप्छ । यतिका दिन बितिसक्यो, सरकार मौन छ, सरकारले कहिले उद्धार गर्ने हो हामीलाई त्यसको लिखित जवाफ चाहिन्छ ।’
चीनमा रहेका नेपाली स्वदेश फर्काउन प्रधानमन्त्रीको निर्देशन
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण शुरू भएको चीनको हुबेइ प्रान्तमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने व्यवस्था मिलाउन सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निवास बालुवाटार बोलाएर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र पर्यटन मन्त्री योगेश भट्टराईलाई बोलाएर नागरिकको स्वास्थ्य र सुरक्षाको निम्ति कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।
चीनमा रहेका नेपालीप्रति राष्ट्रिय मानव अधिकार आयोगको चासो
राष्ट्रिय मानव अधिकार आयोगको आइतबार बसेको आकस्मिक बैठकले चीनको हुबेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने भएकाले उनीहरूको संवेदनशीलतालाई बुझी सुरक्षितरूपमा स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको थियो ।
हुबेईमा रहेका करिब १ सय ८५ नेपाली विद्यार्थी र अन्य नेपाली सन्त्रासमा रहेको बताउँदै आयोगले उद्धारको निर्देशन दिएको हो । कोरोना संक्रमणले निवासबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको, लामो समय बन्दीजस्तै जीवन बिताउँदा खाद्य सामग्रीको समेत अभाव भएको र समय घर्किंदै जाँदा संक्रमणको जोखिममा परेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षणसमेत गराएको थियो ।
के छ सरकारको तयारी ?
सरकारले चीनमा रहेका नेपालीहरूलाई आगामी फागुन ३ गते नेपाल ल्याउने तयारी रहेको छ । उनीहरूका लागि ६० जना स्वास्थ्यकर्मी परिचालन हुनेछन् । चीनबाट ल्याइएका नेपालीलाई यहाँ दुइहप्तासम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ । उद्धार गरी ल्याइने विद्यार्थीलाई शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इचंगुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट, सूर्य विनायकस्थित कृषि तालिम केन्द्र र खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रसहित चार ठाउँमा राख्न क्वारेन्टाइन तोकिएको छ ।
सरकारले चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीहरूलाई ल्याउनका लागि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० विमान चीन पठाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले उक्त भाइरस संक्रमणका लागि तीन अस्पतालमा ४३ शैयाको व्यवस्था गरेको छ भने पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेक्स’ को पनि व्यवस्था गरेको छ ।
चीनबाट ल्याइएका नेपाली राख्ने ठाँउको लागि विवाद
चीनमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउन सरकारले गरेको ढिलासुस्तीलाई लिएर सरकारको आलोचना भइरहेका बेला फेरि चीनबाट ल्याउन लागेका नेपालीहरूलाई राख्न सरकारले तोकेको ठाँउलाई लिएर विवाद सिर्जना भएको छ । जसले गर्दा चीनमा रहेका नेपालीहरू फर्काउन अझै ढीला हुने त होइन भन्ने शंका उब्जेको छ । एकतर्फबाट आफ्ना नागरिकहरूको जीवन रक्षाका लागि जिम्मेवार नभएको आरोप खेपिरहेको सरकार राख्ने ठाउको विवादले गर्दा फेरि उल्झनमा परेको देखिन्छ । जस्तोसुकै परिस्थित आए पनि आफ्ना नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथामिकता हुनु पर्छ । सरकारले कोरोना भाइरसको बारेमा जनस्तरमा पनि व्यापक जनचेतना फैलाएर यसबाट आम नागरिक सचेत बन्ने अवस्था सिर्जना गर्नु पर्छ, जसले गर्दा अहिले उत्पन्न समस्या र विवादका विषयहरूले ठाँउ नपाओस् ।