नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू समूहले ७ अर्ब २० करोड रुपैयाँको कर्जा लिएको छ।
कर्जा नवीकरणका लागि इक्रा नेपालमा रेटिङ गराएको कम्पनीको विवरणमा एमएडब्लूले यो रकम कर्जाका रूपमा लिएको देखिएको हो। इक्रा रेटिङ गराएको कम्पनीले मध्यम किसिमको सुरक्षा रहेको संकेत गर्ने ’इक्रा एनपी ए थ्री प्लस’ प्राप्त गरेको छ।
एमएडब्लू समूहमा २ कम्पनी छन्। एमएडब्लू इन्टरप्राइजेज यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता हो भने अर्थमुभर जेसिबी ब्रान्डका इक्युपमेन्टको आधिकारिक बिक्रेता हो।
मोटरसाइकलको आधिकारिक बिक्रेताअन्तर्गतको इन्टरप्राइजेजले बैंकबाट ३ अर्ब २० करोड रुपैयाँको कर्जा लिएको छ। त्यस्तै अर्थमुभरले चार अर्ब रुपैयाँको ऋण रेटिङ गराएको छ। कम्पनीले यो कर्जा अल्पकालीन अवधिका लागि लिइएको हो।
इन्टरप्राइजेजतर्फको आम्दानी २३ प्रतिशतले बढेको छ भने एमएडब्लू अर्थमुभरतर्फको आम्दानी भने ३० प्रतिशतले घटेको छ। उक्त ऋणको रेटिङमा पनि मध्यम किसिमको सुरक्षा रहेको संकेत गर्ने ’इक्रा एनपी ए थ्री प्लस’ प्राप्त गरेको हो।
विदेशबाट मोटरसाइकल तथा हेभी इक्युपमेन्ट भित्र्याउन कम्पनीले एलसी खोल्नुपर्छ। हेभी इक्युपमेन्टको आधारिक बिक्रेता अर्थमुभरको समग्र बजार हिस्सा ६० प्रतिशत रहेको छ भने एक्जाभेटरतर्फ भने १७ प्रतिशतमात्रै छ।
बजारमा नयाँ प्रतिस्पर्धी आउँदा जेसिबीको इक्युपमेन्टतर्फको आम्दानीमा गिरावट आएको हो। अर्थमुभरको आम्दानीको ७६ प्रतिशत हिस्सा हेभी इक्युपमेन्टको बिक्रीबाट, १८ प्रतिशत स्पेयर पार्टसको बिक्रीबाट र ६ प्रतिशत मर्मतसम्भारबाट आम्दानी गर्ने गरेको छ।
नेपाली बजारमा ५४ वर्षको व्यावसायिक इतिहास रहेको एमएडब्लूका दुवै कम्पनीको सबल पक्ष रहेको एजेन्सीले जनाएको छ। यो समूह यामाहाको मोटरसाइकल, स्कोडा, फियाट र जिप प्यासेन्जर भेइकल र ट्रकको आधिकारिक बिक्रेता हो।
विगत केही वर्षदेखि बजार हिस्सा बढिरहेको दावी कम्पनीको छ। ५ वर्षको औषत लाभांश मात्रै ३८ प्रतिशत रहेको छ। कम्पनीले तीन वर्षको अवधिमा मोटरसाइकल बिक्रीमार्फतको आम्दानी २२ प्रतिशतले सुधार गरेको छ।
कम्पनीले एलसीका लागि दुई अर्ब २५ करोड रुपैयाँ, बैंक ग्यारेन्टी ५० करोड र आयातका लागि १ अर्ब १३ करोड रुपैयाँको कर्जाका लागि रेटिङ गराएको हो। त्यस्तै इन्टरप्राइजले एसलसीका लागि १४ करोड साथै ओभरड्राफ्टका लागि तीन अर्ब रुपैयाँको रेटिङ गराएको छ।