महेश कठायत
काठमाडौं, ५ फागुन ।
गत शनिबार मात्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको बहुमत प्राप्त सरकार गठन भएको दुई वर्ष पूरा भयो । संघीय संसदको प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको दुई वर्षको कार्यकाल पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे ।
संसदमा प्रतिपक्षप्रति कडा रूपमा प्रस्तुत भएका प्रधानमन्त्रीले सरकारले दुई वर्षमा गरेको राम्रा कामहरूको चर्चा गरे । उनले संसदमा विगतमा जस्तो छ-सात महिनामा सरकार फेरिइरहने प्रवृतिलाई ध्यानमा राख्दै देशमा एउटै पार्टीको सरकार स्थापना गरी दुई वर्ष पूरा गर्नु पनि एउटा उपलब्धि भएको भन्दै प्रधानमन्त्रीले पहिलो वर्षलाई आधार वर्ष र दोस्रोदेखि पाँचौँ वर्षसम्मलाई उपलब्धि वर्षका रूपमा लिएका थिए । तर सरकारले आफ्नो दुई वर्षे कार्यकाललाई पूर्ण रूपमा सफल भएको दाबी गरिहँदा प्रतिपक्ष दल नेपाली कांग्रेसले भने सरकारको दुई वर्षलाई हेर्दा पासमार्क पनि दिन नसकिने जनाएको छ ।
पाँच वर्षका लागि म्याडेन्ट प्राप्त सरकारलाई अनुकूल परिस्थितिहरू हुँदाहुँदै पनि सरकारले परिणाममुखी ढङ्गले काम गर्न नसेकेको कांग्रेसको आरोप छ । सरकारलाई काम गर्न अनुकूल परिस्थिति भए पनि अधिनायकवाद उन्मुख महत्वाकांक्षाका कारण अनुकूल परिस्थितिलाई आफैले क्रमशः प्रतिकूल बनाएको भन्दै कांग्रेसले सरकारको दुई वर्षलाई अयोग्यता, असफलता र अधोगतिको आठकोण सार्वजनिक गरेको छ ।
वर्तमान सरकारले दुई वर्षको अवधिमा गरेका कामहरूको बारेमा शनिबार संसदमा सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसका भोलिपल्टै (आइतबार) नै सरकार ढाल्ने षड्यन्त्र भएको खुलासा गरेका छन् । आइतबार आफ्नै गृह जिल्ला झापामा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकासको रफ्तार रोक्न बहुमत प्राप्त सरकारलाई ढाल्ने विभिन्न शक्ति केन्द्रले षड्यन्त्र गरिरहेको खुलासा गरेसँगै अहिले राजनीतिक वृतमा नयाँ तरङ पैदा गरेको छ । जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारलाई ढाल्न कसले षड्यन्त्र गर्दैछ त ? यो आफै अनुत्तरित छ । न त यसको बारेमा प्रधानमन्त्रीले नै स्पष्ट खुलाएका छन् न त कसैलाई थाहा छ । बहुमत प्राप्त शतिशाली प्रधानमन्त्रीलाई सत्ता ढाल्ने षड्यन्त्र भएको भन्ने अभिव्यक्तिलाई राजनीतिक विश्लेषकदेखि आम नागरिकले आ–आफ्नै तरीकाले विश्लेषण गर्न थालेका छन् ।
आइतबार झापामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू विगतदेखि नै विभिन्न पक्षहरूसँग लड्दै आइरहेको बताए । निरङ्कुश शासकविरूद्ध, पञ्चायतविरूद्ध र राजतन्त्रविरूद्ध लड्दै अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गए पनि संघर्ष समाप्त नभएको भन्दै उनले आफू रोग, जनविरोधी र प्रतिक्रियावादीहरूसँग लड्न नडराएको बताए । एकातिर प्रधानमन्त्रीको यो भनाइलाई हेर्दा प्रधानमन्त्रीलाई कुनै पनि कुराको डर नभएको बुझ्न सकिन्छ तर फेरि कुनै कुराका डर नभएका प्रधानमन्त्रीलाई सरकार ढाल्ने षड्यन्त्रप्रति कसैको डर भने देखिन्छ । यही कुरालाई मान्ने हो भने प्रम ओलीलाई भयभीत र विचलित पार्ने गरी सरकार ढाल्न प्रयत्नरत षड्यन्त्रकारीहरू कोको होलान् त ? ओलीको इशारा कतातिर होला ?
सरकारले जनभावना अनुसार काम गरिरहदा सरकारलाई साथ दिनुको साटो सरकार ढाल्ने खेल कसले खेल्न सक्छ र ? तर राजनीतिमा सबैले सोचेजस्तो नहुन सक्छ । सत्तामा जान जसले पनि यस्तो खेलको शुरूवात गर्न सक्छ । यदि त्यसो हो भने पनि वर्तमान बहुमत प्राप्त शतिशाली सरकार ढाल्न त्यति सजिलो भने छैन ।
प्रधानमन्त्रीको आशंका कुनै विदेशी शक्तिप्रति लक्षित त होइन ? होइन भने प्रधानमन्त्रीको यो अभिव्यक्ति एउटा मनोवैज्ञानिक त्रास मात्र पनि हुन सक्छ । देश र जनताको लागि आशा र भरोसाका केन्द्र मानिएका बहुमत प्राप्त शक्तिशाली प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति के राष्ट्रिय राजनीतिमा तरङ्ग ल्याउनका लागि वा मिडियाहरूलाई मसला दिनका लागि गरिएकोे एक प्रपोगण्डा मात्र त होइन ?