चिनियाँहरू विना परिक्षण घुम्दा नेपालमा कोरोनाको जोखिम बढ्दो

चीनमा कोरोना भाइरसको संक्रमण शुरु भएपछि जनावरी १ देखि फेब्रुअरी १६ तारिख सम्ममा १३ हजार ७ सय २७ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । यस्तै जनवरी १ देखि १६ फेब्रुअरी सम्ममा नेपालमा ८९ हजार ६ सय २७ जना विदेशी नेपाल भित्रिएका छन् । ती मध्ये अधिकांश चीनबाट ट्रान्जिट भएर नेपाल आएका छन् ।

सरकारले नेपाल भ्रमण वर्षलाई लक्षित गरी त्रिभुवन विमानस्थलमा हेल्थ डेस्कको स्थापना गरेको छ । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनबाट नेपाल आउनेहरुको विमानस्थलमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली विमानस्थलमा परिचालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



त्रिभुवन विमानस्थलमा संचालित हेल्थ डेस्कमा एकजना कन्सलटेन्ट डाक्टर, ३ जना मेडिकल अफिसर, ३ जना नर्स र ३ जना जनस्वास्थ्य अधिकृत खटिएका छन् । हेल्थ डेस्कमा रहेका चिकित्सकले विमानस्थलबाट बाहिर निस्किनेहरूलाई थर्मल स्क्यानरबाट उनीहरूको ज्वरो हेर्ने र ज्वरो देखिएका बिरामीलाई अस्पताल पठाउने गरेको बताएको छ ।

विमानस्थलका एक स्वास्थ्यकर्मीअनुसार, ‘विमानस्थलबाट नेपाल प्रवेश गर्ने सबैको ज्वरो हेरिन्छ । ज्वरो देखिएमा अस्पतालमा पठाउने गरेका छौं । ज्वरो देखिएन भने उहाँहरू आफूले चाहेको ठाउँमा जान पाउनुहुन्छ,।’ उनी अगाडि भन्छन्, ‘हामीले अहिलेसम्म विमानस्थलमा कोरोनाकै आशंकामा ६ जनालाई अस्पताल पठाएका थियौं । उहाँहरूमा कोरोना देखिएन भन्ने सुनिन्छ ।’

सरकारले चीनमा रहेका नेपालीलाई ट्रान्जिटको क्रममा समेत कोरोना सर्न सक्ने आशंकामा क्वारेन्टाइमा राखेर कोरोनाको प्रयोगशाला मार्फत परीक्षण गरिरहेको छ । तर चीनबाटै नेपाल घुम्न आएका पर्यटकहरूलाई भने विमानस्थलमा ज्वरोको जाँच गरेपछि खुल्ला छाडिएको छ । कोरोनाले विश्वव्यापी रूपमा महामारी फैलाएको अवस्थामा यसो गर्नु पक्कै पनि कम चुनौतीपूर्ण छैन । यसरी कोरोनालाई सामान्य रूपमा हेर्नु पक्कै पनि बुद्धिमानी होइन । यदि यसले नेपालमा महामारीको रूप लियो भने यहाँ कति जनधनको नोक्सानी हुन्छ, त्यसको हामी कल्पना गर्न पनि सक्दैनौं ।

चीनको वुहान र हुबेईमा कोरोनाले आतंक फैलाएपछि चीनले पूरै शहरलाई शटडाउन गरेको छ, आवागमनमा पूर्णतया बन्देज लगाएको छ । यति हुँदाहुँदै पनि कोरोनालाई नियन्त्रण गर्न सकिएको छैन । साधारण मानिसदेखि बिरामीको उपचार गर्ने डाक्टरहरुले आफ्नो अमूल्य जीवन गुमाउनु परेको छ । तर नेपाल सरकारलाई कोरोना भित्रिएला भन्ने डर वा नागरिकको स्वास्थ्यमा सावधानी अपनाउनुभन्दा पर्यटक भित्र्याउने चिन्ता बढी देखिन्छ ।

नेपालले चीनको कोरोना प्रभावित क्षेत्रमा रहेका १ सय ७५ जना नेपालीलाई मात्र क्वारेन्टाइनमा राखेको छ । जनवरीदेखि हालसम्म नेपाल भित्रिएका १३ हजार चिनियाँ भने क्वारेन्टाइनमा नबसी नेपालभित्र स्वतन्त्र रूपमा घुमिरहेका छन् । सरकारले उनीहरूलाई त्रिभुवन विमानस्थलमा सामान्य ज्वरो परीक्षण गरेर छाडिदिएको छ । चीनबाट नेपाल आउने पर्यटकलाई क्वारेन्टाइनमा राख्नु आवश्यक नै नभएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहाल बताउँछन् ।

‘चीन सरकारले कोरोना भाइरसको संक्रमण देखिएको प्रान्तमा आवतजावत रोक लगाइएकाले त्यहाँ रहेका नेपाली ल्याउन मात्र हामीले क्वारेन्टाइनको व्यवस्थापन गरेका हौं,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहालले भने, ‘अरु अवस्थामा विश्व स्वास्थ्य संगठनले पनि आवतजावतमा रोक लगाउनुपर्ने भनेको छैन । त्यसैले नेपाल आउँने चिनियाँ नागरिकलाई क्वारेन्टाइमा राख्नुपर्ने आवश्यकता छैन ।’
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता दाहालका अनुसार चीनले कोरोना भाइरस संक्रमितलाई नेपाल नपठाएको विश्वासका आधारमा चिनियाँ पर्यटकहरु नेपालमा घुम्न पाइरहेका छन् ।

सरकारले चिनियाँ नागरिकलाई क्वारेन्टाइन गर्नुपर्ने आवश्यकता नरहेको बताइरहँदा चिकित्सकहरु भने चिनियाँ पर्यटककै कारण नेपालमा कोरोना फैलिने जोखिम कायम रहेको बताउँछन् ।

विमानस्थलमा एकपटक ज्वरोको परीक्षण गरिएकै भरमा चिनियाँ पर्यटकलाई खुल्ला रूपमा घुम्न दिँदा चीनबाट नेपाल आउने पर्यटकसँगै कोरोनाको संक्रमणको जोखिम उच्च रहेको एक चिकित्सकले बताए ।

‘चीनबाट नेपाल आउने पर्यटकसँगै कोरोना भित्रिने जोखिम नेपालमा अझै पनि छ,’ नाम नबताउने सर्तमा एक चिकित्सकले भने, ‘अन्य देशहरूले चीनबाट आउनेहरूलाई क्वारेन्टाइनमा राखेर कोरोनाको संक्रमण नभएको पुष्टि भएपछि मात्र फ्री छोड्ने गरेको छ । तर नेपालमा चिनियाँ पर्यटकलाई विमानस्थलमा सामान्य ज्वरो मात्र हेरेर नेपालभर घुम्न दिइएको छ । यसले नेपालमा कोरोना संक्रमण फैलने जोखिम अझै रहेको देखिन्छ ।’

‘अन्य देशलाई पर्यटक कम होला भन्ने चिन्ता छैन, तर सरकारले त अहिले भ्रमण वर्ष मनाइरहेको छ,’ एक चिकित्सकले भने, ‘नेपाल आउने चिनियाँलाई स्वास्थ्य परीक्षणमा कडाइ गर्दा पर्यटक घट्ला कि भन्ने चिन्तामा छ सरकार ।’

‘सरकारले चीनमा रहेका १ सय ७५ जना नेपालीलाई क्वारेन्टाइनमा राखेको छ, त्यो सकारात्मक कुरा पनि हो, तर त्यही १ सय ७५ जनालाई मात्र क्वारेन्टाइमा राखेर नेपालमा कोरोनाको जोखिम कम हुँदैन,’ एक चिकित्सकले भने, ‘सरकारले चीनबाट आएका पर्यटकको स्वास्थ्य निगरानीमा ध्यान दिनुपर्छ ।

कोरोनाभाइरसबाट मंगलबार (आज) सम्ममा १ हजार ८ सय ६८ जनाले ज्यान गुमाएका छन् भने ७४ हजार ४ सय ३६ जना संक्रमित भएका छन् ।

चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै अस्ट्रेलिया लगायत विभिन्न देशले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेशमा या त रोक लगाएको छ या क्वारेन्टाइनमा बस्न बाध्य बनाएको छ । जापान, अमेरिका, हङकङ लगायतका देशहरुले पनि चीनबाट आफ्नो देशमा आउने सबैलाई क्वारेन्टाइनमा राखेर उनीहरूमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएपछि मात्र देशभित्र प्रवेश गर्न पाउने व्यवस्था गरेको छ ।

कोरोनालाई कम आँक्नु पक्कै पनि हुँदैन किनकि चीन जस्तो सशक्त र विकसित राष्ट्रले यसको नियन्त्रण गर्न सकेको छैन भने नेपालले सक्ने कुरै भएन । आज मात्र कोरोना भाइरसबाट वुहान वुचाङ अस्पतालका निर्देशक तथा वरिष्ठ चिकित्सक लिउ झिमिङको ज्यान गएको छ । नयाँ भाइरसका कारण ज्यान गुमाउनेमा उनी दोस्रो चिकित्सक हुन् । यसअघि उक्त भाइरसका कारण डाक्टर ली वेनलियाङको मृत्यु भएको थियो । ली तिनै व्यक्ति थिए जसले कोरोनाभाइरसको महामारी बारे पहिलो पटक चेतावनी दिएका थिए ।

हो, चीन हाम्रो मित्र राष्ट्र हो, चीनले नेपाललाई धेरै सहयोग गरेको छ । यसो भन्दैमा कोरोना संक्रमित आशंकित चिनीयाँलाई नेपाल प्रवेश दिनु पक्कै पनि राम्रो होइन । फेरि कोरोना भाइरसद्वारा संक्रमित व्यक्तिमा १४ दिनसम्म कुनै लक्षण नदेखिए पनि उसले रोग फैलाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । रोग कसैको मित्र होइन, रोग हाम्रो शत्रु नै हो । त्यसैले चीनबाट आउने चिनियाँ पर्यटकको राम्ररी स्वास्थ्य जाँच गरिनुपर्दछ र आवश्यक परे क्वारेन्टाइनमा राखेर मात्र छाडिनु उचित देखिन्छ ।

सम्बन्धित समाचार