महेश कठायत
काठमाडौं, ८ फागुन ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्री बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ट विजयप्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’ को अडियो सार्वजनिक भएपछि बिहानदेखि नै सामाजिक सञ्जालमा यससम्बन्धी समाचार छ्याप्पछ्यापी छायो । मन्त्री बाँस्कोटाले केही अश्लील शब्द पनि बोलेका सुनिने उक्त अडियोले दिनभर विभिन्न सञ्चारमाध्यममा ठाउँ पायो । उक्त अडियो काण्डलाई लिएर सामाजिक सञ्जालमा रोचक र घोचक परिदृश्यहरू प्रशस्तै देखिए । यति मात्र नभएर विभिन्न राजनीतिक दल र विद्यार्थी संगठनहरूले मन्त्रीको राजनीमासमेत माग गरे । प्रमुख प्रतिक्ष नेपाली कांग्रेसले संघीय संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा नै अवरोध गर्यो ।
मन्त्रीपदबाट राजीनामा
बिहान कञ्चनपुरमा पत्रकारहरूसँगको कुराकानीमा आफूलाई लागेको आरोपमा कुनै पनि सत्यता नरहेको भन्दै उनले उक्त आरोप प्रमाणित गर्न चेतावनीसमेत दिएका थिए । सरकार सञ्चालन गर्दा विभिन्न आरोपहरू आइरहे पनि सबै सत्य नहुने बताएका मन्त्री बाँस्कोटाले आफू दाषी प्रमाणित भए सजाए भोग्न तयार रहेको बताएका थिए । साथै उनले आफूलाई लागेको आरोपको काठमाडौं आएर विस्तृत रूपमा बताउने भन्दै काठमाडौका फर्किए ।
सूचना तथा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडिओ बाहिरिएपछि मन्त्री बाँस्कोटामाथि यत्रतेत्र प्रश्नै प्रश्न उठेका थिए । दिउँसो करिब तीन बजेतिर काठमाडौं पुगेको मन्त्री बाँस्कोटाले विमानस्थलबाट सिधै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार लागे । त्यसपछि करिब दिउँसो करिब ४ बजेतिर सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराए ।
बाँस्कोटाको राजीनामापछि दुई मन्त्रीपद रिक्त
बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि दुई मन्त्रालय रिक्त भएका छन् । बाँस्कोटाले सम्हाल्दै आएका सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय रिक्त भएका हुन् । सञ्चार मन्त्रालय सम्हाल्दै बाँस्कोटालाई प्रधानमन्त्री ओलीले तत्कालीन शहरी विकास मन्त्री मोहम्मद ईश्तियाख राईले राजीनामापछि रिक्त रहेको उक्त मन्त्रालय सम्हाल्न पनि जिम्मेवारी दिएका थिए ।
प्रधानमन्त्रीको दिल र दिमागमा ठेस
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रायः सार्वजनिक कार्यक्रममा भन्ने गर्छन् ‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्न ।’ यति मात्र नभएर भ्रष्टाचारीको अनुहार पनि हेर्दिन भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति पनि कहिले काहीँ सुन्न पाइन्छ । तर, बिडम्वना प्रधानमन्त्रीज्यूको त्यो अभिव्यक्ति व्यवहारमा भने देख्न पाइएन । आफ्नै प्रिय पात्र सरकारका प्रवक्तासमेत रहेको मन्त्री बाँस्कोटाको कमिसन काण्डमा फँसेपछि कसको के लाग्छ र ? अहिलेको यस घटनाले प्रधानमन्त्रीको भ्रष्टाचारविरोधी अभियानमा मात्र नभएर नैतिकतामा पनि ठेस लागेको छ । सबैभन्दा बढी विश्वास गरिएका आफ्नै विश्वास पात्रका कारण अहिले प्रधानमन्त्रीलाई दिल र दिमाग दुबैतिर ठेस पुगेको हुनुपर्छ । यति मात्र नभएर प्रधानमन्त्रीमाथि पनि नैतिक रूपमा प्रश्न उठेका छन् । यो समय प्रधानमन्त्रीले जोगाउने होइन, जोगीने समय हो ।
र्फकेर हेर्दा…
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा काभ्रे २ बाट प्रत्यक्ष निर्वाचित गोकुलप्रसाद बाँस्कोटा २०७४ चैत २ गते सञ्चार राज्यमन्त्री नियुक्त भएका थिए १९ महिना अघि मात्र मन्त्री बनेका थिए । सरकारका प्रवक्तासमेत रहेका उनले पछिल्लो समयमा सरकारमा दुई मन्त्रालयको जिम्मेवारीसमेत पाएका थिए । सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएका बाँस्कोटाले साप्ताहिक रूपमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै आइरहेका थिए । काभ्रेमा जन्मेका बाँस्कोटाले तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियुको पाँचौ महाधिवेशनबाट विद्यार्थी राजनीति शुरू गरेका थिए ।
पछिल्लो समयम मन्त्री रहँदा उनी सरकारको बचाउमा खरो रूपमा उभिँदै आएका थिए । प्रधानमन्त्रीका विश्वास पात्र बाँस्कोटाले न त प्रधानमन्त्रीको विश्वासलाई कायम राख्न सके न त आफ्नै राजनीतिक र सामाजिक प्रतिष्ठामा दाग लाग्नबाट बचाउन सके । भलै उनीमाथि लागेको यो आरोप झुट नै भए पनि जिन्दगीभरका लागि एउटा नमिठो घटना भने बन्न पुग्यो ।