तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस किन्दा ७० करोड घुसको डिल गरेको अडियो बाहिरिएपछि मन्त्री पदबाट राजीनामा दिएका छन् । उनको राजीनामासँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सरकारका प्रवक्ता तथा सञ्चार मन्त्रीको खोजी भैरहेको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकमा पनि यो विषयले प्रवेश पाएको थियो ।
त्यसो त शुक्रबार अध्यक्षद्धय प्रधानमन्त्री समेत रहेका केपी ओली र अर्का अध्यक्ष पष्पकमल दाहाल प्रचण्डबीच पनि झण्डै २ घण्टा बाँस्कोटा प्रकरण र सम्भावित सञ्चारमन्त्रीको विषयमा छलफल भएको थियो । छलफलमा खाली रहेका २ मन्त्रालय र कार्यसम्पादन कमजोर भएका ३ मन्त्रीलाई हटाएर ५ नयाँ मन्त्री मन्त्रीपरिषदमा सहभागी गराउने ओलीको प्रस्तावलाई प्रचण्डले समर्थन गरेका थिए ।
शनिबार राष्ट्रपति विद्या भण्डारीलाई भेटेका नेकपा अध्यक्षद्धयले भेटका क्रममा बाँस्कोटा प्रकरणसँगै नयाँ सञ्चारमन्त्री बारे पनि विमर्श गरेको शीतल निवास स्रोत बताउँछ । भेटका क्रममा राष्ट्रपतिले बाँस्कोटा प्रकरणले पार्टीलाई अफ्यारो पार्न सक्ने भन्दै सत्यतथ्य छानविनमा आलटाल नगर्न सुझाव दिएकी थिइन् । जवाफमा ओलीले राज्यका अनुसन्धान अधिकार पाएका निकायले छानविन शुरु गरिसकेको बताएका थिए ।
अबको सञ्चारमन्त्री को ?
गोकोल बाँस्कोटाको राजीनामासँगै नेकपा नेताहरू सञ्चारमन्त्रीमा लविङ शुरु गरिसकेका छन् । शीर्ष नेताहरु पनि सञ्चारमन्त्रीका विषयमा चासो राख्दै आएका छन् । सचिवालय बैठकमा ओली र प्रचण्डले रञ्चार मन्त्री नै सरकारका प्रवक्ता रहने परिपाटीलाई मध्यनजर राख्दै सञ्चारमध्यमलाई पनि विश्वासमा लिनसक्ने अनुभवी र सक्षम व्याक्तिलाई सञ्चारमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।
ओली र प्रचण्डले सञ्चारको लागि पहिलो प्रथमिकतामा डा बेदुराम भूषाललाई राखेको स्रोतको दाबी छ । गत पुषमा भएको मन्त्रिमण्डल पुनर्गठनको बेला भूषाललाई अर्को पटकको मन्त्रिमण्डल पुनर्गठनमा सहभागि गराउने आश्वासन दिएको र सक्षम पनि रहेकोले उनैलाई सञ्चारमन्त्री बनाउन सक्ने आँकलन गरिएको छ । पोखराबाट निर्वाचित सांसद खगराज अधिकारीलाई पनि भावी सञ्चारमन्त्रीको रूपमा हेरिएको छ ।
यता पूर्व उद्योगमन्त्रीसमेत रहेका महेश बस्नेत पनि सञ्चारमन्त्री बन्नको लागि दौडधुप शुरु गरेका छन् । ओली र प्रचण्ड नै परिपक्क र पाको व्याक्तिलाई सञ्चारमन्त्री बनाउनुपर्ने बताइरहँदा महेशको सम्भावना ज्यादै कम देखिन्छ । गोकुल बाँस्कोटाले चिढ्याएको पत्रकारलाई सन्तुलनमा ल्याउने सामथ्र्यता अबको सञ्चारमन्त्रीमा हुनु आवश्यक छ ।
यता पर्यटनमन्त्री योगेश भट्टराई पनि सञ्चारमा आउन चाहेको बताइन्छ । निर्वाचनअघि पार्टीको प्रवक्ता रहेको योगेशे सञ्चारमा आउन चाहेमा ल्याउनुपर्ने प्रचण्डले ओलीलाई सुझाव दिएका छन् । तर योगेशलाई सञ्चारमा ल्याउन ओली सकारात्मक नरहेको बताइन्छ । माधव नेपाल निकट मानिने योगेशलाई सञ्चारमा ल्याउँदा आफूले चाहेको बेला प्रयोग गर्न नसक्ने डर ओलीमा छ । योगेशलाई भन्दा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सञ्चारमा ल्याउन ओली सकारात्मक भएको बुझिन्छ । बेदुराम या नयाँ कुनै नेतामा सहमति नजुटे प्रदीपलाई नै सञ्चारमा ल्याउन ओलीले चाहेको स्रोतको दाबी छ ।
यी ३ मन्त्रीलाई विदाई गरिने तयारी
बाँसकोटाको राजीनामा प्रकरण अघि ओली र प्रचण्ड कार्यसम्पादन कमजोर रहेका ४ मन्त्रीलाई विदाई गर्ने तयारीमा थिए । पूर्व एमालेबाट २ र पूर्व माओवादीबाट २ गरी ४ मन्त्रीको विदाई गर्ने तयारी भैरहेको थियो । तर बाँस्कोटाको राजीनामा आइसकेकोले पूर्व एमालेका १ र पूर्व माओवादीबाट २ गरी ३ मन्त्रीलाई विदाई गर्ने तयारी गरिएको छ ।
पूर्व एमालेबाट भूमिसुधार मन्त्री पद्मा अर्याललाई विदाई गरिने तयारी भएको स्रोतको दाबी छ । पूर्वमाओवादी बाट भने वनमन्त्री शक्ति बस्नेत र खानेपानी मन्त्री वीना मगरलाई विदाई गरिने सम्भावना देखिन्छ ।
नयाँ मन्त्रीमा भने पूर्वमाओवादीको तर्फबाट, पम्फा भूषाल, हरिबोल गजुरेल, जनार्दन शर्मा र देवेन्द्र पौडेलको नाम चर्चामा छ ।
हाल खाली रहेका २ मन्त्रालय सञ्चार र शहरी विकासमा पहिलो लटमा मन्त्री नियुक्त गर्ने र दोस्रोचरणमा ३ मन्त्रीलाई विदाई गरेर ३ मन्त्री थप्ने या एकैलटमा ५ मन्त्री थप्ने भन्नेबारे ओली र प्रचण्डले निर्णय लिइनसकेको स्रोतको दाबी छ । यद्दपि यही सातामा मन्त्रीमण्डल विस्तार गर्नेमा भने दुबै अध्यक्ष सहमत भएका छन् ।