बाँस्कोटाको लागि प्रधानमन्त्रीकाे गरिमालाई दाउमा लगाउनु हुन्न

भ्रष्टाचारमा नेतादेखि कर्मचारीहरूसमेत संलग्न : मिश्र

‘म भ्रष्टाचार गर्दिन अरूलाई गर्न पनि दिन्न’ भन्ने प्रधानमन्त्रीको यो अभिव्यक्ति प्रायः धेरैजसो सार्वजनिक कार्यक्रमा सुनिन्छ । झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदकै सदस्यहरू भ्रष्टाचार प्रकरणमा मुछिएपछि प्रधानमन्त्री ओली अहिले नैतिक सङ्कटमा परेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ट विजयप्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’ को अडियो सार्वजनिक भएपछि विहीबार नै बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । उनले आफ्नो बारेमा प्रश्न उठेपछि आफूले नैतिकताका आधारमा राजीनामा दिएको भन्दै यसमा अख्तियार, सीआईबी, संसद र पार्टीले पनि छानबिन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्ने बताएका थिए ।



बाँस्कोटा प्रकरणमा नेकपाभित्र दुई धार

शनिबार बसेको नेकपा सचिवालयको बैठकले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन प्रकरणबारे छानविन गर्ने जिम्मा अख्तियार दुरूपयोग आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिने निर्णय गर्यो ।

पार्टीलाई बदनाम गराउने गरी सार्वजनिक भएको अडियो प्रकरणबारे बाँस्कोटाले राजीनामा दिएर मात्र निर्दोष नठहरिने भएकाले पार्टीले नै छानविन गर्नुपर्ने अधिकांश नेताहरूको भनाई थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुल बाँस्कोटामाथि पार्टीले छुट्टै छानबिन गर्न नहुने धारणा राखे । नेकपा सचिवालय बैठकमा अधिकांश नेताले बाँस्कोटामाथि छानविन गर्नु पर्ने मत राखे पनि ओलीले बाँस्कोटाले राजीनामा दिइसकेकोले अब सम्बन्धित निकायले नै छानविन गर्ने हुँदा पार्टीले छुट्टै छानबिन गर्न नहुने भन्दै त्यसको बचाउ गरे ।

प्रधानमन्त्रीसहित चार जनाविरूद्ध अख्तियारमा उजुरी

प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटासहित चार जनाविरूद्ध आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा, तत्कालीन सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरूङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरूद्ध आइतबार अख्तियारमा उजुरी दिएका हुन् ।

यसअघि निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आइतबार नै अर्को उजुरी पनि परिसकेको छ । प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले ७० करोड कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटा विरूद्ध अभियानकर्मी विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले उजुरी दिएका थिए । मन्त्रीपदबाट राजीनामा दिएका बाँस्कोटाको कार्यकक्षमा बिहीबार साँझ नै अख्तियार दुरूपयोग अनुसन्धान आयोग छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको थियो ।

भ्रष्टाचारमा नेतादेखि कर्मचारीहरूसमेत संलग्न : मिश्र

उक्त अडियोबारे करिब डेढ महिनाअघि प्रधानान्त्रीलाईसमेत जानकारी गराएको बताएका विजयप्रकाश मिश्रले बोली फेरेका छन् । एउटा टेलिभिजन अन्तरर्वातामा उनले प्रधाानमन्त्रीलाई उक्त अडियो नदिएको जिकिर गरेका छन् । अडियो प्रकरणबारे आफूले ७० करोड भ्रष्टाचार मात्रै नभएर करिब ५ अर्ब भ्रष्टाचार हुनबाट देशलाई जोगाएको दाबी गरेका मिश्रले आफू स्विस कम्पनीको एजेन्ट नभएको बताएका छन् ।
बाँस्कोटाको अडियो सार्वजनिक गरेका विजयप्रकाश मिश्रले करोडौको कमिसन काण्डमा नेताहरूदेखि संसदको लेखा समितिका केही सदस्यहरू, सरकारी कर्मचारीहरूसमेत संलग्न रहेको आरोप लगाएका छन् ।

अप्ठ्यारोमा प्रधानमन्त्री

मन्त्रीमण्डलमा प्रधानमन्त्रीका सबैभन्दा विश्वासिला र प्रिय पात्र गोकुलप्रसाद बाँस्कोटा भ्रष्टाचार प्रकरणमा मुछिएपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् । सरकारको बचाउमा खरो रूपमा उभिने बाँस्कोटलाई जान अञ्जान गुमाउनु पर्दा प्रधानान्त्रीमा के गुज्रिरहेको होला, त्यो स्वयम् प्रधानमन्त्रीलाई थाहा होला । तर उक्त प्रकरणलाई लिएर पछिल्लो समयमा नेकपाभित्र पनि दुई धार देखिएपछि र चौतर्फि प्रश्नहरूको घेरामा परेपछि प्रधानमन्त्रीलाई नैतिक सङ्कट आइलागेको देखिन्छ । उक्त प्रकरणमा मुछिएर राजीनामा दिएका बाँस्कोटाभन्दा पनि डेढ महिना अघि नै प्रधानमन्त्री ओलीले पाएको यो टेप रेकर्ड लुकाइएको प्रसंग नै बढी चर्चामा छ । उक्त भ्रष्टाचार प्रकरणको अडियोबारे पहिले नै जानकार प्रधानमन्त्रीले यतिका समयसम्म किन बाँस्कोटालाई कारवाही गरेनन ? यसले पनि प्रधानमन्त्रीमाथि नै थप शंका उब्जिएको छ ।

‘हामी’ भित्रका पात्र खोज्नमा अख्तियार

पछिल्लो समयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सक्रियता बढ्दो छ । अख्तियारले एकपछि अर्को गर्दै साना माछा मात्र नभएर ठूला माछालाई पनि समातिरहेको अवस्थामा छ । अख्तियारले कसैलाई काखा र कसैलाई पाखा गर्ने गरेको भन्ने आरोप पनि लाग्ने गरेको छ । अख्तियारले कुनै व्यक्ति, दल र सरकार नभनी भ्रष्टाचारमा संलग्न कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन र कसैप्रति पनि आग्रह वा पूर्वाग्रह नराखी निष्पक्ष छानविन गर्नुपर्दछ । यो नै जनताको भावना र चाहना हो ।

अहिले सबैतिरबाट चासोकासाथ हेरिएको बाँस्कोटाको अडियो प्रकरणमा पनि अख्तियार कहीँ कतै चुक्नु हुँदैन । यस विषयसँग संलग्न जो सुकैलाई पनि कानुनी दायरामा ल्याउन सक्ने साहस अख्तियारले गर्नै पर्छ । बाँस्कोटालाई मात्र छानविन गरी कारबाही गरिनुभन्दा त्योसँग जोडिन आउने सबैलाई र ‘हामी’भित्रका सबै पात्रहरूलाई अख्तियारले बाहिर ल्याउनु पर्छ । चाहे लहरो तान्दा पहरो किन नआओस् ।

सम्बन्धित समाचार