विघटनको संघारमा संविधान संशोधन कार्यदल, गौतमलाई अर्को झड्का

नेकपाले गत शनिबार गठन गरेको संविधान संशोधन कार्यदल विघटनको संघारमा पुगेको छ । चौतर्फी आलोचना भएपछि कार्यदलका सदस्यहरू पनि आफूलाई जानकारी नै नदिई कार्यदलमा राखिएको बाहनामा कार्यदलमा बस्न इन्कार गरेका छन् । कार्यदल विघटनको संघारमा पुग्दा नेकपाका उपाध्यक्ष वामदेव गौतमको संसद प्रवेश गर्ने चाहना फेरि एकपटक अलपत्र पर्ने देखिएको छ ।

उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने मात्र होइन, उनलाई प्रधानमन्त्री हुने गरी बाटो खोल्न संविधान संशोधन गर्न गृहकार्य गर्ने भन्दै नेकपाले कार्यदल नै गठन गरेको थियो । वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा स्थायी समिति सदस्य सुवास नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाए पनि कार्यदलका सदस्यद्वय नेम्वाङ र देवकोटाले संविधान संशोधनमाथि नै प्रश्न उठाएका थिए ।



सोमबार नेपाल निवासमा भएको बैठकमा सदस्य नेम्वाङले संविधान संशोधन गम्भीर विषय भएकोले एक व्याक्तिलाई संसदमा लैजान संविधान संशोधन हुन नसक्ने बताएका थिए । अर्का सदस्य देवकोटाले पनि एक व्यक्तिकै लागि संविधान संशोधन गर्दा गलत नजिर बस्ने भन्दै संविधानको मर्ममाथि नै खेलबाड हुने बताएका थिए । सदस्यद्वयले नेता नेपाललाई कार्यदल विघटन गरी यो संविधान संशोधनको कलंकबाट पछि हट्न सुझाव दिएका थिए ।

संविधान संशोधनबाट पछि हट्ने नेपालको सङ्केत
संविधान संशोधनको चौतर्फी विरोध हुन थालेपछि नेता नेपाल यो मुद्दाबाट पछि हट्ने सङ्केत गरेका छन् । कार्यदलका सदस्यसँग पनि नेपालले अध्यक्ष प्रचण्ड र उाध्यक्ष गौतमको आग्रहलाई अस्वीकार गर्न नसकेर कार्यदलमा बसेको प्रतिक्रिया दिएका थिए । गौतमको लागि आफू सती नजाने नेपालले बताएका थिए ।

कार्यदलका सदस्यसँग उनले यस विषयमा पार्टीमा थप छलफलको आवश्यकता देखिएको भन्दै बैठकलाई औपचारिकता नै नदिई अन्त्य गरेका थिए । गौतमलाई प्रधानमन्त्री बनाउने गरी राष्ट्रिय सभामा लैजान लागेकोमा प्रधानमन्त्री ओली पक्षधर पनि खुसी छैनन् । त्यसैले पनि बाहिर यसको धेरै विरोध भएको बैठकमा नेपालले बताएका थिए । तर कार्यदलका सदस्यद्वयले सम्झाएपछि नेपालले कार्यदलबाट बाहिरिने सङ्केत गरेका छन् ।

गौतमको असफल प्रयास
बर्दिया २ बाट निर्वाचनमा हारेपछि गौतमले संसद छर्ने धेरै असफल प्रयास गरे । कहिले जुम्ला त कहिले कास्की र कहिले काठमाडौबाटै उपनिर्वाचनमा उम्मेद्वार बनेर संसद जाने उनको प्रयास सफल हुन सकेन । काठमाडौं ६ बाट त उनलाई ठाँउ खाली गर्न भन्दै नेकपाका सांसद रामवीर मानान्धरले राजीनामा नै दिए । त्यहा पनि चौतर्फी विरोध हुँदा गौतम पछि हटे । रमवीरले राजीनामा फिर्ता लिए । हाल उनलाई गौतमकै पहलमा राज्यमन्त्री बनाइएको छ ।

उपनिर्वाचनमा भिडेर संसद जाने सपना पूरा नभएपछि गौतमले राष्ट्रियसभामार्फत संसद प्रवेश गर्ने योजना बनाए । त्यसका लागि राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्ने सक्ने गरी संविधान संशोधन गर्न उनले नेकपाका नेताद्वय प्रचण्ड र नेपाललाई दबाब दिन थाले । गौतमकै दबाबमा प्रचण्डले शनिबारको स्थायी कमिटी बैठकमा संविधान संशोधनको प्रस्ताव लगेका थिए । सोही बैठकले कार्यदल गठन गरेको थियो । कार्यदल नै विघटनको संघारमा पुगेपछि यसपटक पनि गौतमलाई संसद प्रवेश गर्न सहज हुने देखिएको छैन ।
बर्दिया २ बाट उम्मेदवार बनेका नेता गौतम कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग सात सय ५३ मतान्तरले पराजित भएका थिए । वामदेवले ४४ हजार ७६ र सञ्जयले ४४ हजार ८ सय २३ मत प्राप्त गरेका थिए । हारपछि नेता गौतमले आफूविरूद्ध पार्टीभत्रैबाट अन्तर्घात भएको बताउँदै आएका छन् ।

गौतमविरूद्ध कांग्रेस, समाजवादी र राजपाबीच मोर्चाबन्दी
गौतमलाई प्रधानमन्त्री बनाउने बाटो खुल्ला गर्नको लागि मात्र संविधान संशोधन गर्न लागिएको भन्दै यस्को विरोध गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका तीन दलले मोर्चाबन्दी गरेका छन् । कांग्रेस, समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच संशोधनको विरूद्ध मोर्चाबन्दी गर्ने निर्णय भएको हो ।

समाजवादी र राजपाले यसअघिदेखि मधेशका मुद्दालाई लिएर संविधान संशोधनका लागि आग्रह गर्दा तयार नभएका प्रधानमन्त्री ओली अहिले एक व्यक्तिको लागि संविधान संशोधन गर्न तयार भएको भन्दै मधेशबादी दल नेकपासँग रूष्ट भएका छन् । कांग्रेस, समाजवादी र राजपाले साथ नदिएमा नेकपासँग संविधान संशोधनको लागि आवश्यक मत नरहेकोले गौतमको दाँतमा ढुंगा लागेको चर्चा छ ।

सम्बन्धित समाचार