दृष्टिकोण बदल्नुस्, जीवन सार्थक बन्छ

कुनै विचारकलाई सोधियो – ‘वाट इज लाइफ?’ उत्तर मिल्यो–‘इट डिपेंडस् अपन हाउ यु लिव ।’

अर्थात् यो यस कुरामा निर्भर हुन्छ कि तपाईं कुन तरिकाले जीवन जिउनुहुन्छ ? जीवनका प्रति तपाईंको दृष्टिकोण के हो ? जीवनमा आउने परिस्थितिहरूलाई तपाईंले कसरी स्वीकार गर्नुहुन्छ ? हामी आफ्नो जीवनको उपयोग कुन रूपमा गर्दछौं ? यी सबै हामीमाथि नै निर्भर गर्दछ ।



हामीलाई प्रायः बताइन्छ– ‘जीवनलाई सफल बनाउन जरुरी छ, हामीले वर्तमानलाई मात्र नहेरौं, भविष्यलाई हेरेर केही चिन्ता गरौं ।’ यसमा कुनै शंका छैन कि आउनेवाला समयको पदचापलाई पहिचान गर्नु एवं त्यसप्रति जागरुक हुनु जरुरी छ, तर यो कुरा पनि हामीले याद राख्नुपर्दछ कि भविष्यको चिन्तामा डुबिरहँदा जीवन उल्झिन पुग्दछ । यस्तोमा जे.एच.मिलरको यो भनाइले हामीलाई नयाँ दृष्टिकोण बनाउन मद्दत गर्दछ । उनी भन्छन् ‘चिन्ताबाट भागेर कोही बच्न सक्दैन तर यदि त्यसप्रति हामीले आफ्नो मानसिकता बदल्यौं भने चिन्तालाई टाढा भगाउन सक्दछौं ।’

अज्ञानता मेटियोस्, भ्रम मेटियोस् र व्यर्थको चिन्ताबाट मुक्ति मिलोस् । यी कुराहरूको लागि प्रयत्न गर्नु जरुरी छ । तर यो काम उच्च डिग्रीको शिक्षाले मात्र सम्भव छ भन्ने जरुरी छैन । आज उच्च शिक्षा पाएका र सुविधायुक्त जीवन बिताएका व्यक्ति बढी चिन्तित र दुःखी देखिन्छन् । ज्ञानको सम्बन्ध शिक्षासँग मात्र हुँदैन । हुन सक्दछ कोही शिक्षा प्राप्त गरेर पनि ज्ञानी बन्न सक्दैन र यो पनि हुन सक्छ कि कोही निरक्षर भएर पनि ठूलो ज्ञानी बन्न सक्छ । कबीर, दादू, रैदास आदिलाई त पढाई लेखाइको अवसर नै मिलेन, तर पनि उनीहरूले आफ्नो जीवनलाई मात्र सार्थक बनाएनन्, उनीहरू असंख्य व्यक्तिको लागि प्रेरणाको स्रोत पनि बने । यो नै शिक्षित व्यक्ति र ज्ञानी महापुरुषबीचको सुन्दर उदाहरण हो ।

जीवन त हामीले उद्देश्यपूर्ण र अनौठो किसिमले जिउनु पर्दछ । दुनियाँमा त्यस्तो कुनै अनौठो कार्य छैन, जसलाई मानिसले गर्न नसकोस् । मात्र हाम्रो हृदयमा कामप्रति लगाव हुनुपर्दछ । जति धेरै चाहना हुन्छ, त्योभन्दा बढी मिहिनेत गर्ने क्षमता र इच्छाले नै हाम्रो जीवनलाई सफल बनाउँछ । जब हामी स्वार्थभन्दा माथि उठेर आफूलाई हेर्दै अरूको लागि केही गर्न तयार हुन्छौं, तब हामी वास्तविक एवं सकारात्मक जीवन जिएका हुन्छौं ।

अरूसँग तुलना गर्ने हाम्रो स्वभावले नै हामीलाई प्रायः दुःखमा धकेल्दछ । तर यस स्वभावबाट मुक्त हुने उपाय पनि निकाल्न सकिन्छ । यदि हामीलाई आफू निकै कष्टमा भएको, दुःख पाएको, प्रगति गर्न नसकेको आभाष हुन्छ भने हामीले आफूभन्दा तलका मानिसलाई हेर्नुपर्दछ । यसबाट हामीलाई मनमा सन्तोष मिल्दछ ।

त्यसैगरी मनमा यदि मैले धेरै हासिल गरें, म सर्वोच्च हुँ भन्ने अभिमान आउँदछ भने आफूभन्दा माथि रहेका व्यक्तिलाई हेर्ने सक्नुपर्दछ । यसबाट हामीमा आएको अहम्भाव हराएर जान्छ ।

सबभन्दा ठूलो कुरा हो तपाईंको हेर्ने दृष्टिकोण । यदि त्यो ठीक हुन्छ भने जस्तो सुकै परिस्थितिमा पनि पोजिटिविटीले तपाईंको साथ छोड्दैन । अनि यही सकारात्मकताबाट तपाईंले आफ्नो जीवनलाई सार्थक, सुखी र खुशी बनाउन सक्नुहुन्छ ।

सम्बन्धित समाचार