नेकपा फुट्ने सङ्केत पाएका ओलीले कांग्रेससँग बढाए निकटता

पछिल्लो समय आफ्नै पार्टीभित्रबाट घेराबन्दीमा परेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको निकटता बढाएका छन् । विहीबार कांग्रेस नेता शेखर कोईरालालाई भेटेपछि पनि उनले पटक पटक फोनमै कांग्रेस शीर्ष नेताहरुसँग वार्ता गरिरहेका छन् । साथै उनले आफू विरुद्दको घेरा कसरी तोड्ने भन्नेमा नेकपाकै आफूनिकट नेताहरूसँग भेटघाट र परामर्श गरेका छन् ।

ओलीले शनिबार बिहान सरकारी निवास बालुवाटारमा पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङ र परराष्टमन्त्री प्रदीप ज्ञवालीसँग पार्टीभित्र विकसित घटनाक्रमका विषयमा छुट्टाछुट्टै छलफल गरेका थिए । छलफलमा नेम्वाङ र ज्ञवालीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरु पेलेरै जाने रणनीतिमा रहेकोले उचित तयारी थाल्न सुझाव दिएका थिए । नेम्वाङले अन्तर्राष्ट्रिय शक्तिको आडमा प्रचण्ड पार्टी फुटाउनेसम्मको तयारी गरेको विभिन्न स्रोतले जानकारी दिएको ओलीसँग बताएको स्रोतको दाबी छ ।



ओलीलेले सचिवालय निर्णय कार्यान्वयनमा गरिरहेको आनाकानीलाई लिएर नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम पनि पटक पटक प्रचण्ड निवास खुमलटारमा भेटवार्ता गरिरहेका छन् । १० फागुनको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान संविधान संशोधन कार्यदल गठनसम्मका विषयमा नेकपा प्रवेश गरेपछि त्यसयता पार्टीभित्र ओली र ओली इतर समूहका रूपमा नेताहरूका बीच ‘मोर्चाबन्दी’ जारी छ ।

१४ फागुनको सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई निःशर्त राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने निर्णय ओलीले उल्याएपछि दुबै पक्षधर नेताहरू सशंकित छन् । पार्टीभित्र देखिएको विवाद समाधान कसरी खोज्ने भन्नेमा दुबै पक्षमा अहिले आन्तरिक तयारी तीव्र छ । तर अडान आ–आफ्ना यथावत छन् । सचिवालयको बहुमत सदस्य गौतमलाई राष्ट्रियसभामा पठाउनेमा एक ढिक्का रहेकोले ओली दबाबमा परेका छन् ।

खुमलटार र बालुवाटारबीचको शक्ति संर्घष
नेकपाभित्रको विकसित राजनीतिक घटनाक्रमलाई हेर्दा राष्ट्रियसभामा गौतम कि युवराज खतिवडा ? भन्दापनि नेकपामा खुमलटार हाबी कि बालुवाटार हाबी भन्ने शक्ति संघर्ष चर्केको देखिन्छ । ओली र प्रचण्डबीच ६ महिना खतिवडाले नै अर्थ मन्त्रालय चलाउने र ६ महिनापछि गौतमलाई राष्ट्रिय सभामा लैजाने मौखिक सहमति भएको भनिए पनि त्यो सहमति मान्य नहुने भन्दै ओली इतरका नेताहरूले प्रचण्डलाई चौतर्फी दबाब दिन थालेका छन् ।

यता ओली पनि सरकार ढल्ने भए नेकपा नै फुटाउने रणनीतिमा रहेको स्रोतको दाबी छ । प्रचण्ड भने ओलीलाई फकाएर ६ महिना यथास्थितिमा चल्ने र त्यसपछि ओली सरकार ढालेर गौतमलाई प्रधानमन्त्री बनाउने तयारीमा रहेको बुझ्न सकिन्छ । नेकपा नफुटाई ओलीलाई सरकारबाट निकाल्न ओलीइत्तरका शक्ति लागेको बुझ्न सकिन्छ ।

कांग्रेससँग नजिकिदै ओली
गत विहीबार कांग्रेस नेता शेखर कोईराला ओलीलाई भेट्न बालुवाटार नै पुगे । भेटपछि शेखरले ओलीलाई राजीनामा दिन सुझाव दिएको बताए । के आफ्नै पार्टीबाट चौतर्फि घेरावन्दीमा परेका बेला बालुवाटार नै गएर शेखरले ओलीलाई राजीनामा दिन सुझाव दिए होला त ? मानवीय संवेदनाका हिसावले पनि शेखरले त्यो अवस्थामा बालुवाटार पुगेर राजीनामा पक्कै मागेनन् । भेटै गरेर कसैको राजीनामा माग्ने कुरा पत्यारिलो छैन । कुनै बिरामी मान्छेलाई भेट्न गएर छिट्टै मर भनेर त शत्रुले पनि भन्न सक्दैन ।

त्यसैले शेखर र ओलीको त्यो भेट चर्चा गरिएजस्तो राजीनामा माग्नेमा मात्र सीमित नभएको स्रोतको दाबी छ । बाहिर राजीनामा मागेको हल्ला गर्न शेखरलाई ओलीले नै सुझाव दिएका थिए । स्रोतका अनुसार शेखरले पार्टीभित्र एक्लिएमा कांग्रेसले साथ दिने ओलीलाई बताएका थिए । ‘तपाईलाई ढाल्ने प्रयास भए कांग्रेस तपाईको साथमा छ, तपाईको लागि कांग्रेस सरकारमा आउन पनि तयार छ’ भन्ने ढाडस ओलीलाई शेखरले दिएको बताइन्छ । प्रचण्डले नेकपा फुटाएर सरकार ढाले पनि कांग्रेसलाई साथ लिएर पुनः प्रधानमन्त्री बनेर देखाइदिने तयारीमा ओली लागेको स्रोतको दाबी छ ।

के चाहन्छ कांग्रेस ?
राजनीतिक घटनाक्रम र शक्ति सन्तुलनलाई नियाल्दा कांग्रेसको प्राथमिकता सरकार होइन । उसको प्राथमिकता नेकपालाई फुटाउनु नै छ । नेकपा फुटाएमा सरकारमा सहभागी भए पनि नभए पनि कांग्रेसलाई कुनै फरक पर्ने छैन । नेकपा नफुटेमा आगामी निर्वाचनमा पनि नेकपाको बहुमत नआउला भन्न सकिँदैन । यो कुरा बुझेको कांग्रेसले पनि भित्रभित्रै नेकपा फुटाउन आफ्नो शक्ति प्रयोग गरिरहेको छ । विहीबारको शेखर र ओलीको भेटलाई पनि यही स्वार्थसँग जोडेर हेर्न सकिन्छ ।

कांग्रेसले प्रचण्डलाई पनि उचाल्ने गरेको छ । सभामुख प्रकरणदेखि नै प्रचण्डलाई कांग्रेसले साथ दिंदै आएको छ । ओली सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको भन्दै विकल्पको खोजी गर्न प्रचण्डलाई कांग्रेसले सुझाव दिंदै आएको छ । अप्ट्यारो परे कांग्रेसले साथ दिने भन्दै प्रचण्डलाई पनि कांग्रेसले सरकारको विकल्प खोज्न उचालेको पाइन्छ । यसर्थ कांग्रेस यतिबेला ‘फुटाउ र राज गर’ को नीतिमा अगाडि बढेको बुझिन्छ । पछिल्लो विवादकै कारण नेकपामा फुट आएमा त्यसको सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसलाई नै हुने प्रष्ट छ ।

सम्बन्धित समाचार