‘अवसर पाउने हो भने महिलाले घरझैं देशलाई पनि सुन्दर बनाउन सक्छन्’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जबसम्म महिलाहरू परनिर्भर भइरहन्छन्, तबसम्म महिलाहरू अधिकार प्राप्त गर्न नसक्ने बताइन् । ११० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिर्पोटस क्लव नेपालमा आयोजित कार्यक्रममा नीति निर्माणको कुरा गर्दा संविधानले ३३ प्रतिशत महिला सहभागिता ग्यारेटी गरेको भन्दै उनले हिजोको तुलनामा आज महिलाहरू राज्यका विभिन्न तहमा पुगेको बताइन् ।

महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बनाउने अबको महत्वपूर्ण अभियान भएको भन्दै अर्यालले भनिन् ‘आम महिलाहरूलाई आर्थिक उत्पादनसित जोड्दै सीपहरू सिकाउने आत्मनिर्भरताको दिशामा लगेर महिलाहरूलाई स्वतन्त्र र सवल बनाउन सके मात्र महिलाहरूले पूर्ण रूपमा समाजबाट स्वतन्त्रता प्राप्त गर्छन ।’ सन २०३० सम्म महिलाहरूमाथिका सबै खालका असमानताको अन्त्य गर्ने, समानतको प्रत्याभूत दिलाउने, महिलाहरूलाई सशक्त बनाउने र महिला अधिकारको संरक्षण गर्ने भनेर सरकारको पन्धौं योजनामा समाविष्ट गरी सरकार नीति नै तयार गरेर अघि बढेको उनले बताइन् ।



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा राष्ट्रिय सभा सदस्य कोमल वलीले समाजमा पछाडि परेका महिलाहरूको अवस्थालाई सुधार नगरेसम्म देश समृद्ध नबन्ने बताइन् । देशको आधा जनसंख्या रहेको महिलाहरू पछाडि परिरहेकोले सरकारले लिएको सम्वृद्ध राष्ट्र निर्माणको अभियानमा चुनौती थपिएकोे बताइन् । उनले देशलाई समृद्ध बनाउन पहिला यी चुनौतीको सामाना गर्नु पर्ने आवश्यकता औल्याइन् ।

नेपालको संघीय संसदको महिला सहभागिताको विषयमा नेपाल दक्षिण एशियामै नेपाल पहिलो स्थानमा र विश्वमा ४८ औं स्थानमा रहेको उनको दाबी थियो । उनले महिलाको समस्या नेपालमा मात्र नभएर विश्वव्यापी भएको बताइन् । साथै, उनले भनिन् ‘हामीले पुरूषसँग दाजिनुपर्छ जस्तो मलाई लाग्दैन । पुरूषसँग हाम्रो प्रतिस्पर्धा होइन । नारी यो धर्तीको सुन्दर सृष्टिकर्ता हो । जो अरूले गर्न सक्दैन् । नारी तुलनात्मक रूपमा पनि शक्तिशाली हो ।’

घरेलु काममा महिलाको योगदानलाई राष्ट्रिय अर्थतन्त्रमा जोडिन नसकेको गुनासो गर्दै वलीले कानुनमा बनेका कुराहरू व्यवहारमा लागु हुनुपर्नेमा जोड दिइन् ।

नेपाली कांग्रेसकी सचेतक तथा सांसद पुष्पा भुषालले नेपाली महिलाहरूले पाएको अधिकार कसैले दिएर नभई आन्दोलनबाट प्राप्त गरेको बताइन् । महिलालाई अंश र बंशको अधिकार, आमाको नामबाट बच्चाले नागरिकता प्राप्त गर्नु पर्छ भन्ने अधिकार, ३३ प्रतिशत महिलाहरूको सहभागिताको अधिकार पुरूषले चाहेर दिइएको नभई हरेक परिर्वतन क्रान्तिबाट महिलाको भूमिकाले गर्दा पाएको बताइन् ।

महिलाहरूले अझै पनि सर्घषको यात्रा तय गर्नुपर्ने जरूरी रहेको र त्यसका लागि महिलाहरूले आफूलाई परम्परागत भूमिकाबाट आधुनिक भूमिकातर्फ उन्मुख गराउनु जरूरी रहेको उनको भनाइ थियो । साथै उनले राजनीतिक र अधिकार नयाँ पुस्तालाई हस्तान्तरण गर्न पुरानो पुस्ता र नयाँ पुस्ता सँगसँगै सघर्षमा अगाडि बढ्न जरूरी भएको बताइन् ।

उपसभामुख महिलालाई दिनुपर्ने कारणले गर्दा राजनीतिक दल विभाजित भएको र आजसम्म उपसभामुख पद पूर्ति हुन नसकेको उनको आरोप छ । ‘उपसभामुख पुरूषका लागि भएको भए निर्वाचन भइसक्थ्यो । तर आज महिला भएको कारणले निर्वाचनको कुरै उठेको छैन’ उनले भनिन् । अवसर भनेको आफ्नो खुबी देखाउने ठाउँ भएको भन्दै उनले भनिन् ‘समाजको रूढीबादी सोचमा जबसम्म परिवर्तन हुँदैन, तबसम्म महिलाले अवसरका लागि लड्नु पर्दछ ।’

नायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तकी सहमहामन्त्री रेखा थापाले अब छोरीहरू छोरी भएर नभएर मान्छे भएर बाच्नु पर्ने बताइन् । उनले सधै सरकारले केही गरेन अथवा सरकार नै विदेशीले चलाएको भन्ने आरोपहरू सरकारलाई लगाउनुभन्दा पहिले आफ्नो मनभित्रको कमजोर सत्ता परिवर्तन नगरेसम्म परिर्वतन सम्भव नहुने बताइन् ।

पहिले पहिले नारी दिवसमा जुन मुद्दाहरू उठाइन्थ्ये, आज ११० औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदासम्म पनि उही मुद्दाहरू उठाइरनु दुःखद् भएको उनको भनाई थियो । आज पनि समाजमा पुरूषको दबदबा रहेको भन्दै उनले अरूलाई देखाउन नेतृत्वमा जानेभन्दा पनि पविर्तन गर्नलाई नेतृत्वमा जानुपर्ने बताइन् । छोरी हुनुको डर हटाएर अधिकारका लागि लड्नु पर्ने भन्दै थापाले देशको निर्णायक तहमा महिला पुगेमा मात्र महिलाले आफ्नो हक अधिकार पाउने बताइन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) महामन्त्री तथा सांसद चन्दा चौधरीले निर्णायक तहमा महिला पुग्ने हो भने देशमा भ्रष्टाचार नै नहुने बताइन् । निर्णायक तहमा यदि महिलालाई अवसर दिन हो भने भ्रष्टाचार पुरै हट्ने र महिलाहरूले जसरी घरपरिवारलाई सजाएर राख्छिन् त्यसरी नै देशलाई सजाएर राख्ने बताइन् ।
राज्यकै कतिपय निकायहरूमा अझै पनि ३३ प्रतिशत महिला सहभागिता नभएको भन्दै उनले त्यसको सुधार पार्टीभित्रबाट ल्याउनु पर्ने बताइन् । हरेक पार्टीमा ३३ प्रतिशत महिला सहभागी हुने कुरा ब्यवहारमा ल्याउन नसकेको गुनासो गरिन् । महिलाहरू जुनसुकै पार्टीको भए पनि महिलाको विषयमा होस् या राष्ट्रिय विषयमा होस् सबै महिला एक भएर लाग्नु पर्ने उनको भनाइ थियो ।

सम्बन्धित समाचार