विश्व स्वास्थ्य सङ्गठनका अनुसार आइतबारसम्म कोभिड–१९ विश्वका १ सयभन्दा बढी देशमा फैलिसकेको छ । विश्वभर एक लाख भन्दा बढी मानिसहरू कोरोनाबाट संक्रमित भएका छन् भने साढे ३ हजार भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ ।
कुनै पनि रोगले बालक, वृद्ध, युवा, जात, भाषा, धर्म भूगोल, धनी, गरिब हेर्दैन भन्ने मानिसको बुझाई र पछिल्लो समयमा विश्वभर फैलदैं गइरहेको कोरोना भाइरसको कारण आम मानिस एक खालको डर सिर्जना भएको देखिन्छ । हुन त जुनसुकै रोगबाट पनि मानिसहरू सचेत हुनुपर्ने जरूरी नै हुन्छ । तर त्यो सचेत हुनु भनेको डराउनु पर्छ भन्ने कदापि होइन । सचेत हुन र डराउनु अलग अलग कुराहरू हुन् । आफ्नो ज्यानको माया छ भन्दैमा डर त्रासको भूमरीमा पर्नु हुँदैन ।
कालोबजारीलाई प्रोत्साहन
कोरोना भाइरसको डर त्रासले गर्दा आम मानिसहरू यति धेरै आतंकित भइदिइए कि जसले गर्दा बजारमा कलोबजारी गर्नेहरूका लागि सुर्वण अवसर प्राप्त भयो । जब हामी सबै सचेत बन्नु पर्ने बेलामा डराउनुपर्ने अवस्था सिर्जना भयो, त्यसपछि कालोबजारी मौलायो । यसमा कालोबजारी गर्नेहरूको मात्र होइन, हाम्रो पनि दोष छ । यसअघि पनि नाकाबन्दी र भुकम्पको बेला पनि कालोबजारी नमौलाएका होइन । जबसम्म हामी आफै सचेत हुँदैनौं, तबसम्म कालोबजारी निरन्तर चलिरहन्छ । अहिले पनि आम नागरिकहरूले बजारबाट अत्यावश्यक औषधि, ह्याण्ड सेनिटाइजर, मास्क, खाना पकाउने ग्यास, चामल, दाल, खाने तेललगायत अत्यावश्यक वस्तु महङ्गो मूल्यमा किन्न बाध्य छन् ।
हामी आफैले के गर्ने ?
नेपालमा कोरोना भित्रेको छैन भनेर ढुक्क हुने एकखाले मानिसहरू छन् भने अर्कोखाले मानिसहरू डर त्रासमा छन् । आम नागरिकहरूले नेपालमा कोरोना भाइरसको संक्रमण छैन भनेर ढुक्क बस्ने अवस्था पनि होइन र अब नेपालमा पनि चाँडै नै आइहाल्छ भन्ने भविष्यवाणी गरेर डराइ हाल्नु पर्ने अवस्था पनि होइन । केवल सचेत हुने तथा सम्भावित विपत्तिबाट बच्न समयमै सुरक्षाका उपायहरू अपनाउनु पर्छ । त्यसका लागि भीडभाडमा नजाने, घरबाहिर निस्किँदा मास्क लगाएर निस्कने, पटक–पटक साबुन–पानीले राम्ररी हात धुने । हात मिलाउनुको सट््टा नमस्कार गर्ने गर्नु पर्छ । कोरोनाका लक्षण महसुस भए तत्काल स्वास्थ्य संस्थामा गई रोग चिकित्सकहरूको सल्लाह लिने गर्नुपर्छ । आफ्नो व्यक्तिगत जीवनशैलीमा विशेष ध्यान दिइ समयमै सहजगता अपनाएर सम्भावित विपतबाट जोगिन सकिन्छ ।
सर्वोच्चको आदेश
कोरोना भाइरसकै कारण सर्वोच्च अदालतले जोखिमयुक्त पाँच मुलुकहरू चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरान उडान रोक्न अन्तरिम आदेश दिइसकेको छ । शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्काल ‘क्वारेन्टाइन’ मा राखी छुट्टै उपचारको व्यवस्था मिलाउन सर्वोच्चले भनेको छ ।
सरकारको पहल
कोरोना भाइरसलाई लिएर सरकारले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति बनाएको छ । अति प्रभावित पाँच मुलुकको अनअराइभल भिसामा रोक लगाएको छ भने उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई अध्ययन अनुमति पत्र (एनओसी) वितरण बन्द गरेको छ । सरकारले विभिन्ने भेला, सभा, सम्मेलन र भीडभाड नगर्न सबैलाई आग्रह गरेको छ भने सरकारले नेपाल भ्रमण वर्ष र सगरमाथा सवांद स्थगित गरेको छ ।
कार्यक्रमहरू स्थगित
कोरोनाकै कारण देखाउदै विभिन्न राजनीतिक दलहरूले आ–आफ्ना औपचारिक कार्यक्रमहरू स्थगित गरिसकेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसका कारण भीडभाड जम्मा भएर कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेसँगै काठमाडौमा अन्तर्राष्ट्रिय नारी दिवश र होलीको रौनकमा समेत कमी देखिएको छ ।