सुस्तायो नेकपा, दुई अध्यक्षबीच फोनवार्ता पनि हुन छाड्यो

१० दिन यता प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारपछि आराम गरिरहेका छन् । चिकित्सकहरूले अस्पतालबाट डिस्चार्ज भएपनि ६ महिनादेखि एक वर्षसम्म नियमित कामकाजमा सक्रिय हुन नसक्ने बताइसकेका छन् । ओलीले आफूनिकट केही नेताहरूसँग फोनवार्ता गर्नेबाहेक तथा श्रीमती र भाञ्जीबाहेक कसैलाई भेटेका छैनन् । संक्रमणको उच्च जोखिममा रहेको भन्दै चिकित्सकहरूले उनलाई कसैसँग भेट्न दिएका छैनन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली नै अस्पतालमा आराम गरिरहेकोले नेकपामा गतिविधि शून्य भएका छन् । गत फागुन १८ यता सचिवालय बैठक बस्न सकेको छैन । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टीलाई सक्रिय बनाउन कुनै पहल गर्न सकेका छैनन् । देश कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला अन्य दलहरूले स–साना भए पनि जनचेतनामूलक कार्यहरू गर्ने र कार्यकतालाई सुसूचित गर्ने कार्य गरिरहेका भए पनि नेकपा भने ओली डिस्चार्ज हुने दिन गनेर बसेको छ ।



किन भए प्रचण्ड निष्कृय ?
कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि केही समय प्रचण्डको सक्रियता निकै बढ्यो । उनले ओलीइत्तरका नेताहरूलाई हात लिएर ओलीलाई अल्पमतमा पर्नेसम्मको गुटबन्दी गरे । पार्टी उपाध्यक्ष वामदेव गौतमलाई उचालेर राष्ट्रियसभामा पठाउनेदेखि संविधान संशोधन गरेर सरकार ढाल्नेसम्मको योजना बनाए । प्रचण्डको लहैलहैमा लागेर पार्टीका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले ओलीविरूद्ध बदला लिइरहे । प्रचण्डले सरकारै ढाल्नेसम्मको योजना बनाएको बुझेपछि ओली झस्किए र नेपाल र खनाललाई फकाउन थाले ।

दुई सातामै नेकपाको राजनीतिक घठनाक्रममा नाटकीय परिवर्तन भयो । ओलीले नेपाललाई प्रचण्डको क्याम्पबाट खोस्न सफल भए भने खनाललाई पनि प्रचण्डबाट टाढा गराउने प्रयास गरे । नेपालमार्फत ओलीले प्रचण्डलाई नै अल्पमतमा पारेको चर्चा छ । प्रचण्ड निस्क्रिय हुनुको कारण पनि यसैलाई मान्न सकिन्छ । प्रचण्ड यतिबेला के गर्दा राम्रो हुने हो र के गर्दा नराम्रो हुने हो भनेर सोच्नै सकिरहेका छैनन् । नेपाल र खनालले साथ नदिए पार्टीमा टिक्न गाह्रो हुने बुझेका प्रचण्ड फेरि ओलीकै शरणमा पुग्ने योजनामा छन् ।

त्यसैले पनि ओली अस्पताल भएको बेला उनी पनि निष्कृय भएका छन् । स्रोतका अनुसार पछिल्लो समय प्रचण्डसँग रूष्ट भएका भनिएका ओलीले प्रचण्डलाई भेट्ने त कुरै छाडौं, फोनसमेत गरेका छैनन् । उनले माधव नेपाललाई फोन गरेर पार्टीको गतिविधि बुझ्ने गरेको बताइन्छ । नेपाल र खनाललाई साथ लिएर प्रचण्डलाई अल्पमतमा पारी सरकार ढाल्ने प्रपञ्च रचेको बदला लिने सोचमा ओली रहेको स्रोतको दाबी छ ।

सरकार पनि निष्कृय
प्रधानमन्त्री नै अस्पतालमा रहेको र डिस्चार्ज अनिश्चित भएको हुँदा सरकार पनि अलमलमा परेको छ । मन्त्रीहरूले प्रभावकारी काम गर्न सकिरहेका छैनन् । कोरोना संक्रमणको हल्लाले देशभर कालोबजारी मौलाएको छ । अत्यावश्यक वस्तुको समेत चरम अभाव सिर्जना भएको छ । विषेशगरी स्वास्थ्यमन्त्री र भौतिक योजना तथा आपूर्तिमन्त्री सक्रिय हुनुपर्ने बेलामा उनीहरू नै निष्कृय देखिएका छन् ।

स्वस्थ्यमन्त्रीले सरकारले नागरिकको उपचार गर्न नसक्ने भन्दै निराशा बाँढिरहेका छन् । यतिबेला स्वास्थ्यमन्त्रीको राजीनामाको माग पनि चर्को रूपमा उठेको छ । नेकपाभित्रै पनि स्वस्थ्यमन्त्री भानुभक्त ढकाललाई फिर्ता बोलाएर सक्षम व्याक्ति स्वास्थ्य मन्त्रालयमा पठाउनुपर्ने आवाज उठिरहेको छ । तर ओली नै अस्पतालमा रहेकोले तत्काल यस्तो सम्भावना नरहेको बुझ्न सकिन्छ ।

सम्बन्धित समाचार