नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० फागुन ।
दाजु गुरूङ नेपाली भाषा साहित्यसेवीको नाम हो । मादी, संखुवासभामा पिता स्व. देवीबहादुर गुरूङ र माता स्व. मनमाया गुरूङको कोखबाट १९६४ फेब्रुअरी २९ मा जन्मनु भएका गुरूङ यतिबेला परिवारसहित हङकङमा बस्दै आएका छन् । नेपाली भाषा, साहित्यको क्षेत्रमा डेढ दशकदेखि सक्रिय गुरूङको एउटा मात्र साहित्यिक कृति बजारमा आएको छ । २०७५ सालमा प्रकाशित ‘टाँकीका फूलहरू’ कथासङ्ग्रह एक वर्षभित्रमै तेश्रो संस्करणसम्म प्रकाशित भएको कृति हो । केही समयको नेपाल बसाइमा रहेका उनै कथाकार, साहित्यकार तथा समाजसेवी व्यक्तित्व दाजु गुरूङसँग नवकान्तिपुर डटकमका संवाददाता महेश कठायत तथा प्रकाश समीरले गरेको कुराकानीको सम्पादित अंश :
यहाँको साहित्यिक यात्रा कसरी आरम्भ भयो ?
मेरो साहित्यिक यात्रा लगभग डेढ दशक भयो । म साहित्यमा पहिलेदेखि नै रूचि राख्थें । साहित्यका पुस्तक पढ्न निक्कै मन पर्दथ्यो, विस्तारै कविता लेख्न थालें । कविताबाट साहित्यलेखन आरम्भ भए पनि समय, विषयवस्तुअनुसार गीत, गजल, निबन्ध, कथा, स्मरण विधामा कलम चलाउदै गएँ र पछिल्लो समयमा कथा सिर्जनामै केन्द्रित भएको छु । अबको मेरो रोजाइको विधा पनि कथा नै हो । साहित्यिक यात्रा आरम्भबारे कुरा गर्नु पर्दा सन् २००७-०८ तिर संखुवासभा समाज हङकङले वार्षिक मुखपत्र निकाल्ने निर्णय गर्यो । त्यसको जिम्मेवारी मेरो काँधमा आयो । हरेक नेपाली नयाँ वर्षमा प्रकाशित गरिने विशेषाङ्कका लागि प्रकाशकीय, सम्पादकीय, लेख लगायतका सामग्रीहरू तयार गर्नु पर्ने र सम्पादन गर्नु पर्ने जिम्मेवारी मेरो भागमा परेपछि मैले लेख्न थालें । त्यसपछि निरन्तर लेखनमा लागँे । त्यसअघि पनि कविताहरू लेख्थें तर लेख्ने र थन्क्याउने काम मात्र हुन्थ्यो । त्यसपछि अलि व्यवस्थित तरिकाले अगाडि बढें ।
कुन समयमा बढी लेख्नु हुन्छ ?
यति नै बेला लेख्नु पर्छ भन्ने लाग्दैन । म भीडभाडमा धेरै लेख्छु । भीडभाडमा धेरै कुराहरू दिमागमा खेल्छ । जब भीडभाडमा मानिसहरू यताउति हिँडेको, दौडिएको, कराएको, हाँसेको, बोलेको देख्दा मलाई मेरो कथाका पात्रहरू बोलेको जस्तो लाग्छ, ती कुराहरूलाई कतिपय हृदयमा कैद गर्छु र कतिपय मोबाइलको नोटमा कैद गर्छु अनि फुर्सदको समयमा त्यसलाई तन्काउने, कला भर्ने, रंग दल्ने काम गर्छु । अर्को म अफिस समयमा पनि धेरै लेख्छु । ड्युटीको समयमा पनि धेरै सिर्जनाहरू जन्मिन्छन् । तीनलाई सिंगारपटार गर्ने काम फुर्सदको बेला गर्छु ।
साहित्यमा तपाईको आफ्नोपन के हो ?
साहित्य लेखन विशेषगरी कथा लेखनमा मेरो आफ्नै शैली छ । मलाई चित्त नबुझेसम्म म शब्दहरू दोहोर्याउछु । गद्य कवितात्मक शैलीमा लेख्छु । साहित्य सिर्जना गरिरहँदा केही नयाँपन दिउँ जस्तो लाग्छ । नयाँ कुरा भयो भने मात्र साहित्य हुन्छ जस्तो लाग्छ । त्यसैले मैले कुनै पनि सिर्जना प्रकाशित हुनुभन्दा अगाडि धेरै मेहनत गर्छु ।
हङकङमै बसेर साहित्य साधनामा सक्रिय हुनुहुन्छ ? त्यहाँको साहित्यिक माहोलबारे बताउनुहोस् न ।
हङकङ नेपाली भाषा, साहित्यका लागि दार्जिलिङ पछिको महत्वपूर्ण क्षेत्र हो । झण्डै ३५ हजार नेपालीहरू रहेको हङकङमा थुप्रै सर्जकहरू बस्नु हुन्छ । त्यहाँ साहित्यिक संघसंस्थाहरू छन् । नेपालीहरू विदा र फुर्सदका समयमा भेट्ने र साहित्यिक माहोल तयार गर्ने गर्नु हुन्छ । थुप्रै कृतिहरू प्रकाशित भएका छन् । साहित्यिक कार्यक्रमहरू, कृति विमोचन, चर्चा, परिचर्चा कार्यक्रमहरू निरन्तर भइरहन्छन् । हङकङ साहित्यिक साझा श्रृङ्खला संचालन भइरहेको छ । म त्यस श्रृङ्खलाको संस्थापक पनि हो । अहिले ९४ औं श्रृङ्खला पुगेको छ । रचना वाचन कार्यक्रमहरू गरिरहन्छौं । विशेषाङ्क प्रकाशित गर्छौ । वार्षिकोत्सव कार्यक्रममा कृतिहरूलाई सम्मान गर्ने, वर्षभरी संस्थालाई योगदान दिने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेका छौं । म पनि सन् २०१२ सालदेखि निरन्तर रूपमा कार्यक्रम संचालनमा जोडिएको छु ।
साहित्यको परिभाषा तपाईंकै शब्दमा गर्नु पर्यो भने …?
ठ्याक्कै यही भनेर परिभाषित गर्नका लागि यो विज्ञान होइन । साहित्यलाई समाजको दर्पण भन्दै आइएको छ । तथापि मलाई के लाग्छ भने साहित्य समयको दर्पण हो । म त भन्छु समय बोल्ने माध्यम नै साहित्य हो । साहित्यमा समय बोलिनु पर्छ । म हङकङमा बसेर नेपालको विषयवस्तु लेख्छु भने मेरो सिर्जनाको के अर्थ भयो र ?
आफूले पढ्दा कस्ता खालका किताबहरू रोज्नु हुन्छ ?
पाठकको रूपमा प्राय : सबै विधाका कृतिहरू पढ्छु । आख्यानहरू पढ्न धेरै मन पर्छ । महाभारत, रामायण जस्ता पुस्तकहरू दोहोर्याएर पढेको छु । मलाई पुस्तक पढ्नुमा आनन्द आउछ ।
लेखन यात्राको कुनै अविस्मरणीय क्षण ?
मेरो साहित्य यात्राको अति नै अविस्मरणीय क्षण मेरो पहिलो कृति प्रकाशन अघिको कुरा छ । प्रकाशन भएर बजारमा आएको हिसाबले ‘टाँकीका फूलहरू’ कथासङ्ग्रह पहिलो हो तर, यस भन्दा अगाडि मैले एउटा कविताको कृति तयार गरिसकेको थिएँ । कविता कृतिका लागि लेखन, सम्पादन, ले–आउट सबै प्रक्रिया पूरा भएर छपाईंका लागि छापाखानामा पठाउने अन्तिम कपि पढ्दै गर्दा मेरो मनमा धेरै कुराहरू उथलपुथल भए । मलाई लाग्यो– यी कविताहरूले यो समय बोल्दैनन् । साहित्यमा त समय बोल्ने हुनु पर्छ । मनभित्र यस्तै कुराहरू खेलिरहेपछि मैले आफैंले निचोड गरेँ– म यो कृति प्रकाशन गर्दिनँ । त्यसपछि म मेरो कृतिका लागि प्राविधिक पाटोमा खट्ने साथीहरूलाई विस्तारै सबै कुराहरू बुझाएँ र ६-८ महिनाको दौरानमा मैले सङ्ग्रहका लागि कथाहरू तयार गरेँ । यसरी टाँकीका फूलहरू प्रकाशित भयो । यो मेरो साहित्यिक यात्राको अविस्मरणीय पल हो ।
‘टाँकीका फूलहरू’ बजारमा आइसकेपछि कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
मैले सामान्य श्रृङ्खला चलाइरहेको थिएँ । साहित्यिक क्षेत्रमा होमिइरहँदा केही न केही कृति हुनु पर्छ भन्ने सोच आयो । मलाई साहित्यकार बन्ने रहर पनि होइन, अहिले पनि म आफूलाई साहित्यकार भनेर चिनाइरहन पनि चाहन्नँ । तर श्रृङ्खला चलाउने मान्छेको कम्तिमा एउटा कृति हुनुपर्छ भन्ने सोच आयो । यसले मलाई कृति प्रकाशनका लागि अलि बढी प्रेरित ग¥यो र मैले विभिन्न चरणहरू पार गर्दै टाँकीका पूmलहरू प्रकाशनमा ल्याएँ । यो प्रकाशन भए पछि मैले सोचेभन्दा राम्रो प्रतिक्रिया प्राप्त गरेँ । मेरो अनुपस्थितिमै नेपालमा पनि विभिन्न साहित्यिक संघसंस्थाहरूले परिचर्चा कार्यक्रम गरिदिनु भयो । यसले मलाई धेरै सन्तुष्टि दिलायो । पुस्तक बिक्रीका हिसाबले पनि म सन्तुष्ट नै छु । ७०० भन्दा धेरै प्रति पुस्तक मैले हङकङमै बिक्री गरे । यही कृतिले मलाई नेपाली भाषा साहित्य परिषद्बाट हरेक वर्ष प्रदान गरिने ‘पारिजात पुरस्कार–२०१९’ दिलायो । टाँकीका पूmलहरू बजारमा आए पछि मैले आफूले पुस्तक प्रकाशन अघि सोचेको भन्दा पनि बढी सफलता प्राप्त गरेँ । त्यसपछि म कथा लेखनमै बढी केन्द्रित भइरहेको छु । मेरो प्राथमिकतामा अहिले कथा परेको छ, यो पनि टाँकीका फूलहरूकै सफलताको देन हो ।
तपाईं सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । कसरी मिलाउनु हुन्छ समय ?
विदेशमा सामान्यतयाः कामलाई सम्मान गरिन्छ । कामलाई घृणा गर्ने संस्कार छैन । एकदम सम्मान गरिन्छ । जति पनि साहित्यकार, समाजसेवीहरू छन् सबैले कामको समयलाई मिलाएर साहित्य र समाजसेवामा लागिरहेका छन् । मैले पनि सबैकुरा मिलाएर साहित्य र समाजसेवालाई बरोबर समय दिइरहेको छु ।
तपाईंले हङकङमा रहेर नेपालका लागि गर्नु भएको समाजसेवाको पाटोबारे केही बताइदिनुहोस् न ?
म संखुवासभा समाज हङकङको संस्थापक पनि हो । यो संस्था हामीले सन् १९९६ मा दर्ता गरेका हौं । हङकङमै दर्ता भएको यो पहिलो नेपाली संस्था पनि हो । यसबाट हामीले नेपालमा थुप्रै सामाजिक काम गरेका छौं । जिल्लामा दैवी प्रकोपमा परेकाहरूलाई उद्धार गर्न मद्दत गर्ने, आँखा अस्पताल स्थापना गर्दा आर्थिक सहयोग गरेका छौं । हाम्रैै नेतृत्वमा रेडक्रसलाई एम्वुलेन्स प्रदान गर्यौ । यस्ता थुप्रै कामहरू गरेका छौं । संखुवासभा हङकङ प्रतिभा पुरस्कार स्थापना गरेका छौं । १२ लाखको अक्षयकोष खडा गरेका छौं । प्रायः संस्थाबाट नेपालमा हुने सबै खाले गाह्रो, अप्ठ्यारोमा साथ, सहयोग गर्दै आइरहेका छौं । संस्थाको लक्ष्य पनि त्यही हो ।
टाँकीका फूलहरूले के दिन्छ पाठकलाई ?
कुनै पनि सिर्जनामा समय लेखिनु पर्छ । सिर्जना समयसापेक्ष भएन भने त्यो कृति सबल हुन सक्दैन । टाँकीका फूलहरूले समय बोकेको छ । समयको बोध गराउँछ । मेरो मान्यता पनि यही हो । म हङकङमा बस्छु भने मैले मेरा सिर्जनामा हङकङ बोल्नु पर्छ भन्ने मेरो मान्यता हो । मैले हङकङमा बसेर नेपाल लेख्नु अर्थ लाग्दैन । समग्रमा टाँकीका फूलहरूले वर्तमान हङकङ बुझाउँछ । त्यहाँको परिवेश र त्यहाँका नेपालीहरूको परिवेशलाई बोल्छ । मेरो अभियान पनि यही हो । म प्रायः साहित्यिक कार्यक्रमहरूमा आफ्ना श्रृङ्खलाहरू चलाइरहँदा साथीहरूलाई यही भन्छु, तपाईंहरू हङकङमा बसेर नेपालका कुरा नलेख्नुस् । सिर्जनाले समयको प्रतिनिधित्व गर्न सक्नु पर्छ । नयाँ भनेको प्रस्तुतिकरण हो । कुनै पनि सिर्जनामा एक खालको लय हुनु पर्छ, तब मात्र पढ्दा पाठकलाई आनन्द मिल्छ । टाँकीका फूलहरूमा मैले यही प्रयोग गर्ने प्रयास गरेको छु । यसको अध्ययनपछि धेरै साथीहरूले यहीे विधि अपनाउनु भएको छ । अब हामीले पनि समय लेख्नु पर्छ भन्ने बोध गर्नु भएको छ । यो पनि टाँकीका फूलहरूले दिएको कुरा भन्ने लाग्छ मलाई ।
हङकङमा बसेर सिर्जना गरिरहँदा यता काठमाडौंकोे साहित्यलाई कसरी हेरिरहनु भएको छ ?
हामी प्रवासमा बसेर लेख्ने साहित्यकार, लेखकहरूलाई राजधानी वा देशले हेर्ने दृष्टिकोण अलि सङ्कीर्ण छ । नेपालबाहिर हङकङमा पनि नेपाली साहित्यको राम्रो स्थान छ । हरेक वर्ष पुस्तक प्रकाशन भइरहेका छन् । तर, यताका साहित्यकारहरूको समीक्षा अलि फरक खालको छ । त्यहाँका मान्छेले के लेख्छन् र ? के जानेका छन् र भन्ने खालको सङ्कीर्ण सोच काठमाडौंको छ । देशबाहिर बसेर लेख्नेहरूभन्दा आफूहरू अलि बढी स्तरीय छौं भन्ने भ्रम पनि छ । यो एउटा इगो पनि होला । हामी जहाँ बसेर सिर्जना गरे पनि नेपाली भाषा, साहित्यकै श्रीवृद्धिका लागि गरिरहेका छौं र गरिरहने छौं । यस्तो खालको इगोले साहित्यको श्रीवृद्धि हुँदैन । हामीले यतैका लेखकहरूको किताब पढ्छौं । हामी किताब किनेर पढ्छौं, लेखकलाई सम्मान गर्छौं । किताब किनेर पढ्ने संस्कार बसाएका छौं, जसबाट लेखकलाई पनि राहत मिलोस् भन्ने हाम्रो चाहना छ । हामीले पढेर लेख्ने संस्कारको विकास गरेका छौं । तर, काठमाडौंका केही बुद्धिजीविहरूमा नपढी लेख्ने प्रचलन बढी छ । मलाई के लाग्छ भने त्यताका साहित्यकारहरूले दृष्टिकोण बदल्नु पर्छ । मेरो अनुरोध देशबाहिर बसेर लेख्नेहरूको पनि अध्ययन गरेर सही मूल्यांकन गरिदिनुस् भन्ने हो ।