गुटगत राजनीतिको शिकार बनेको कांग्रेसको अबको कार्यदिशा

नेपाली कांग्रेसको चौधौं महाधिवेशन आगामी वर्षको फागुन ७ गते हुने कार्यतालिका छ । कांग्रेसको आन्तरिक, राजनीतिक गतिविधि र कांग्रेसका बारेमा छापाहरूमा आएको समाचारहरूको आँकलन गर्दा कांग्रेस अधिवेशन संघारमै आएजस्तो देखिन्छ । तर यथार्थमा त्यस्तो होइन । कांग्रेस दुरदर्शी भएर एक वर्षपछि हुने अधिवेशनको तयारीमा अहिले नै जुटेको पनि होइन । पार्टी सत्ताको राजनीतिका निम्ति भैरहेका दौडधुप सतहमा आएका मात्र हुन् । त्यस्तै परिस्थिति आयो भने विधानले ६ महिना थप्न मिल्ने प्रावधान पनि छ । यस आधारमा भन्ने हो भने अधिवेशन २०७८ श्रावणसम्म लम्बिन सक्छ । त्यसो हो भने अहिले नै कांग्रेसमा किन हतारो छ त ?

यसका पछाडि कारणहरू छन् । झाँगिंदै गएको गुट–उपगुट तल्लो तहसम्म भएको सांगठनिक अस्तव्यस्तताका बीच पार्टीको मतदाता बढाउने र आफ्नो पकड बढाउनेसम्मको खेल हुन सक्छन् । कांगे्रसका मतदाता भनेका उसले बनाएका सक्रिय सदस्यता नै हुन् । नेपाली कांग्रेस पार्टीमा हाल करिब ४ लाख ५० हजार क्रियाशील सदस्य रहेको बताइन्छ । आउदो अधिवेशनमा यो संख्यालाई बढाएर ६ लाख ५० हजार पुर्याउने योजनामा कांग्रेस रहेको बुझिएको छ ।



गुट राजनीतिको शिकार
गुट–उपगुटमा विभाजित हुनु कांग्रेस पार्टीको सदाबहार रोग मानिन्छ । विगतमा पनि कांग्रेस गुट–उपगुटमा विभाजित थियो र अहिले पनि छ । विगतमा पनि शीर्ष नेतृत्वका बीच प्रतिस्पर्धा हुन्थ्यो र अहिले पनि त्यही हाल छ । फरक के छ भने पहिले गुट राजनीतिको पछाडि नीतिगत उद्देश्य र कार्यक्रम हुन्थ्यो भने अहिलेको विवाद वा झगडा कसरी पार्टीलाई आफ्नो कब्जामा राख्ने मात्र भएको देखिन्छ । गुटगत राजनीतिले नेपाली कांग्रेस पार्टी जर्जर भइसक्ता पनि नेताहरू भने पार्टीको चिन्तामा भन्दा जुँगाको लडाइँमा नै व्यस्त र मस्त देखिन्छन् । कांग्रेसभित्र सैद्धान्तिक लडाइँभन्दा गुटगत राजनीति नै हावी भएको देखिन्छ, यो परिस्थिति सिर्जना हुनु नै दुर्भाग्यपूर्ण छ ।

तस्विरमा लेखक नवराज घिमिरे

मूल रूपमा नेपाली कांग्रेसभित्र दुईवटा बृहत् गुट अस्तित्वमा देखिन्छन्; एउटा शेरबहादुर देउवा गुट र अर्को रामचन्द्र पौडेल गुट । यी दुई गुटमध्ये पनि शेरबहादुर देउवाको गुट यो गुट अर्कोभन्दा सबल गुट मानिन्छ । देउवा गुटको स्थायी विरोधी गुटका रूपमा परिचित बरिष्ठ नेता रामचन्द्र पौडेलको गुट पनि आफ्नै खालको हैसियत छ । त्यसदेखि बाहेक पनि महामन्त्री शशांक कोइराला गुट, शेखर कोइराला गुट, अर्जुननर्सिङ केसी गुट, कृष्णप्रसाद सिटौला गुट तथा प्रकाशमान सिंह गुटआदि तथा अरू पनि धेरै महाधिवेशन लक्षित गुटहरू अस्तित्वमा छन् । धेरै गुटहरू महाधिवेशनपछि गुमनाम हुन्छन् । महाधिवेशनमा आफ्नो अस्तित्व देखाउन र लाभका पदहरूमा दलाली गर्न सिर्जित कतिपय गुटहरू त महाधिवेशन आइनपुगी विलय हुन पुग्दछन् । गुटहरू बन्ने र पुनः कुनै शक्तिशाली गुटमा गएर विलय हुने खेलले अन्ततः सिङ्गो नेपाली कांग्रेस पार्टीलाई शिथिल बनाएको छ । पार्टीका शीर्ष नेताहरूले आफ्नो भूमिका र ऐतिहासिक दायित्वप्रति संवेलनशील नहुँदा कांग्रेस पार्टीप्रति नै जनविश्वास घट्तै गइरहेको छ । भ्रष्टाचारसम्बन्धी ठूला ठूला काण्डहरूमा कतै न कतै कांगे्रसी नेताको संलग्नता देखिनु, त्यस्ता काण्डको भण्डाफोर गर्न नसक्नु तथा आरोपित नेताका बारेमा पार्टीभित्र छानविन नहुनु आदि कारणहरूले क्षयीकरण भइरहेको कांग्रेसको गरिमालाई शीर्ष नेताहरूले बचाउन पहल नगर्नुले पार्टीगत चिन्तनभन्दा व्यक्तिवादी वा गुटगत चिन्तन हाबी भएको महसुस गर्न सकिन्छ ।

गुट बलिया पार्टी कमजोर
स्वाभाविक छ– जब व्यक्तिवादी चिन्तन हाबी हुन्छ वा एउटा सानो गुटको स्वार्थका लागि नेतृत्व क्रियाशील हुन्छ, पार्टी त केवल देखाउने दाँत मात्र हुन पुग्दछ । राष्ट्रिय राजनीतिका नेपाली कांग्रेसको भूमिका कमजोर हुनुमा पनि यही गुटगत राजनीतिको प्रभावले गर्दा नै हो । आज नेपालको राष्ट्यि राजनीतिमा जुन भूमिका खेल्न पर्ने हो र जनमत आफ्नो पक्षमा पार्न पहल गर्नु पर्ने हो, त्यस्तो कर्म गर्न कांग्रेस चुकेको छ । आफ्नो गौरवशाली इतिहास र मुलुकको प्रत्येक राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेल्दै आएको कांग्रेस अहिले भने कुहिरोबीचको कागझैं आफैभित्र रूमलीने अवस्थामा पुगेको छ । यो अवस्था कांग्रेस पार्टीका लागि मात्र होइन, सिङ्गो मुलुककै लागि राम्रो कुरा होइन ।

पराजितलाई पद ?
कांग्रेस पार्टीलाई कसरी नेपालको राष्ट्रिय राजनितीमा प्रभावशाली बनाउने भन्ने कसैसँग पनि स्पष्ट नीति, दृष्टिकोण र कार्यदिशा पाइँदैन । विरोधका लागि विरोधको राजनीतिमा सबै जना उत्साहित देखिन्छन् तर आधार बलियो पारेको देखिँदैन । नेतृत्व नै कमजोर, फितलो र भ्रमित भएकै कारण विगतको चुनावमा कांग्रेसले अस्वाभाविक परिणाम भोग्नु परेको हो । नेतृत्व यति कमजोर देखियो कि चुनावी परिणामलाई लिएर निर्मम समीक्षा गर्ने हिम्मत पनि जुटाउन सकेन । राम्रो काम र परिणामको जस लिने नेतृत्वले कमजोर पक्षको जिम्मा लिन सकेन । बरू आफूचाहिँ सतप्रतिशत सही भएको तर अन्तर्घातका कारणले मात्र हारेको भन्ने लुते तर्क दिएर आफूलाई बचाउन खोज्यो । नेतृत्वले नैतिक जिम्मेवारी लिएर राजीनामा दिने हिम्मत देखाएको भए नेतृत्वको उचाइ अझ बढ्ने थियो । तर स्वार्थी समूहले त्यो सल्लाह नै दिएनन् बरू अरू गुटलाई पेलेरै जाने सल्लाह दिए ।

त्यति मात्र होइन, निर्वाचनमा पराजितहरूले लाभका पदहरू दावी गर्ने, भाग खोज्ने र हरेक निर्णयमा विमति जनाउने राजनीतिले नेपाली कांग्रेसलाई थप कमजोर बनाएको हो । महाधिवेशनमा विजयीले तोकिएको अवधिसम्म विधानले तोकेको भूमिकामा रहेर पार्टीका गतिविधि सञ्चालन गर्ने तथा पार्टीमा सन्तुलन कायम राख्ने उसको जिम्मेवारी हो । चुनावमा हार पनि हुन सक्छ । हारेकाहरूबाट नेतृत्वको कमीकमजोरीहरूमाथि आलोचना पनि हुन सक्छ । नेतृत्वले त्यस्ता कुरालाई पचाउन सक्नुपर्छ । अधिवेसनमा पराजितहरू आफ्ना गुटका व्यक्तिहरूले हल्ला गरेकै भरमा वा थप आलोचना नगरुन भन्नका लागि उनीहरूलाई नेतृत्वले राम्रा पदहरू दिँदै जाने हो भने त्यसले पार्टीलाई झन कमजोर बनाउँदै जान्छ अनि नेतृत्व पनि सिङ्गो पार्टीको नेता नभएर एउटा गुटको मात्र नेता बन्न पुग्छ । नेपाली कांग्रेस आजको अवस्थामा त्यही कमजोर प्रवृतिको शिकार भएको छ । आउँदो चौधौँ महाअधिवेसनमा पनि पार्टीका नेताबीच होइन, गुटका नाइकेहरूबीच प्रतिस्पर्दा हुने देखिंदैछ । गुटको नेताको चुनावमा कुनै एउटा गुटको नेता विजय हुनेछ-हुनेछन् । गुटको नेतालाई सभापति बनाउने वा पार्टीको नेता चुन्ने ? कांग्रेस सामु अहंम् प्रश्न उपस्थित छ । सच्याउन खोज्ने हो भने समय बितिसकेको भने छैन ।

सम्बन्धित समाचार