महेश कठायत
काठमाडौं, १४ चैत ।
कोरोना भाइरसले अहिले विश्व मानव समुदायमा एकदमै भयावह अवस्था सिर्जना भएको छ । यतिबेला कोरोना भाइरसको अघि विश्वका शक्तिशाली भनिएका देशहरू पनि घुडा टेक्न विवश छन् । आ–आफ्ना नागरिकको जीउधनको रक्षाका लागि सबै देशहरू मरिहत्ते गरिरहेका छन् । कोरोना भाइरस विरूद्धको लडाइँमा कुनै एक देश मात्र नभएर विश्व मानव समुदाय नै लागिपरेको छ । दिन दुई गुणा र रात चौगुणा गरेर फैलिंदै गइरहेको कोरोना भाइरसकै कारण अहिले विश्वका कयौं देशहरू लकडाउनको अवस्थामा छन् । यो अवस्थालाई हेर्दा लाग्छ यतिबेला मानव समुदाय हातहतियार विनाको तेस्रो विश्व युद्धको लडाइँमा छ । मानिसहरूको दैनिकीमा सहजता नआउँदा यो भाइरसले पुरै विश्व अर्थतन्त्रमा नै ठूलो असर गरेको छ । मानिसहरू स्वाभाविक रूपमा आफ्नो दैनिकीमा फर्किने अवस्था कहिले आउँछ भनेर अनुमान लगाउने अवस्था छैन ।
कोरोना भाइरसको महामारीबाट विश्वका अधिकांश देशहरू नै आक्रान्त भएर एकदमै जटिल अवस्था भोगिरहेका छन् । यस महामारीबाट मानव समुदायलाई मुक्त बनाउन सबै देशहरू आ–आफ्नो तरीकाले कोरोनाविरूद्धको लडाइँ लडिरहेका छन् । कारोनाविरूद्धको लडाइँ विश्वको साझा लडाइँ बनेको छ । अन्य देशहरूको तुलनामा नेपालमा कोरोना भाइरसको संक्रमण कम छ तर हामीले सजगता अपनाएनाैं र अलिकति मात्र हेलचेक्इँ गर्यौं भने हामीले अतुलनीय र अकल्पनीय क्षति बेहोर्नु पर्ने परिस्थिति सिर्जना हुन सक्छ ।
नेपाल सरकारलाई कोरोना संक्रमण महामारी नेपाल भित्रिन नदिन प्रर्याप्त समय हुँदा हुँदै पनि विदेशबाट आउनेहरूको चेकजाँचमा लापरबाही गर्दा कोरोना भाइरस नेपाल भित्रिइसकेको छ । तर अझै पनि केही समय बाँकी नै छ । अब देशभित्रका संक्रमितहरूबाट अन्य व्यक्तिमा यसको संक्रमण फैलिन नदिन तदारुकताका साथ सरकारले काम गर्नु पर्ने हुन्छ । हुन त सरकारले पछिल्लो समयमा आएर कोरोना संक्रमण फैलिन नदिन केही महत्वपूर्ण कामहरू पनि गरेको छ । कमजोर स्वास्थ्य सुविधा भएको नेपाल कोरोनाविरुद्धको लडाइँमा थप कडाइका साथ होमिएको छ ।
केही विलम्ब गरेर भए पनि सरकारले सम्भव भएसम्म सुरक्षाका सबै उपाय अपनाएको छ, जुन स्वागत योग्य पनि छ । नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर आन्तरिक र बाह्य सबैखाले उडानमा रोक लगाएको छ भने पूरै देश एक सातसम्मका लागि लकडाउन गरिएको छ । तर यति गरेर मात्र आम नागरिकलाई ढुक्क हुनसक्ने अवस्था भने छैन । अहिले सामान्य रुघाखोकी र ज्वरो आएर मानिसहरू स्वास्थ्य जाँच गराउन अस्पताल जाँदा डाक्टरहरू नै त्रसित बन्ने अवस्था छ । यस्ता सामान्य रुघाखोकी र ज्वरोका बिरामीहरूलाई केही निजी अस्पतालहरूले भर्ना लिन मानिरहेका छैनन् । मुलुक सङ्कटमा भएको अवस्थामा अस्पतालहरूले नै सरकारको सङ्कल्पमा असहयोग गर्नु अत्यन्त निन्दनीय कार्य हो ।
त्यसैगरी सरकारको सुरक्षा निर्देशनलाई आम नागरिकहरूले पनि पालना गरी असल नागरिकको कर्तव्य पूरा गर्नुपर्छ । पछिल्लो समयमा संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई नै संक्रमण हुनबाट जोगाउन नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कम्तीमा १४ दिन घर क्वारेन्टाइनमा बसेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नु पर्दछ । कोरोना भाइरसको महामारीसँग जुध्न कसैको एक्लो प्रायासले मात्र सम्भव छैन । यसका लागि सबैले आ–आफ्नो व्यवहारमा पनि सुधार ल्याउनु जरूरी छ । कोरोनाको महामारी संक्रमणलाई हेर्दा एकबाट दुई, दुईबाट तीन र तीनबाट चारभन्दा गरेर होइन, एकबाट दस, दसबाट सय, सयबाट हजार र हजारबाट लाखको रूपमा फैलिरहेको देखिन्छ । त्यसैले यदि यसले नेपालमा फैलिने अवसर पायो भने त्यसको परिणाम् हेर्न हामी जीवित नरहन सक्छौं । यो नै आजको चुनौती हो ।
पहिलोपल्ट ३१ डिसेम्बरमा चीनको बुहानमा पहिलो कोरोना संक्रमित भेटिएको थियो । त्यसपछि संक्रमितको संख्या एक लाख पुग्न ६७ दिन लाग्यो । तर, त्यसको ११ दिनपछि संक्रमित २ लाख नाध्यो भने थप ४ दिनमा तीन लाख नाघेकोे थियो । त्यसैले यो फैलन पायो भने हाम्रो स्रोत र साधनले यसलाई रोक्न र नियन्त्रण गर्न सम्भव छैन । अमेरिका र इटाली जस्ता विकसित मुलुकहरूले नियन्त्रण गर्न नसकेको महामारीलाई नेपालले रोक्न सक्ने हैसियत राख्तैन । यसलाई फैलनबाट रोक्ने सबैभन्दा उत्तम उपाय भनेकै सामाजिक दूरी कायम राख्नु हो । त्यसैले नेपाल सरकारले पूरा देश नै लकडाउन गरेको अवस्थामा हामीले सामाजिक दूरी कायम गर्न सबैले घरभित्रै बसेर देशभक्ति देखाउनुको अर्को विकल्प छैन । यही नै नागरिक कर्तव्य पनि हो ।