दार्चुला सीमामा तीनदिन देखि सयौँ नेपाली अलपत्र, ‘आफ्नो जनता फिर्ता लेऊ’ भन्दै नाराबाजी

भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका तीन सय भन्दा बढी नेपालीहरु सीमामा अलपत्र परेका छन् । पिथौरागढ, डिडिहाट, मसुरीलगायतका क्षेत्रमा काम गरी फर्किएका ३ सय १३ नेपाली तीन दिनदेखि दार्चुला सीमामा अलपत्र परेका हुन् ।

कोरोनाको संक्रमण फैलिएपछि त्यसलाई रोक्न भन्दै भारत सरकार र राज्य सरकारले लकडाउन गरेका छन् । सार्वजनिक यातायात, हवाई र रेलमार्ग पनि बन्द गरेको छ । यसरी गरेको बन्दको प्रभाव भारतमा कार्यरत नेपाली नागरिकमा परेको छ । श्रमका लागि भारत पुगेका, खासगरी सुदूरपश्चिमका नेपाली प्रभावित भएका छन् । उनीहरु हिडेरै भए पनि नेपाली सीमामा आइपुगेका छन् ।



सीमामा आइपुग्दा नेपालमा पनि लकडाउनका कारण सरकारले सीमानाका बन्द गरेपछि उनीहरु आफ्नै देश छिर्न पनि अहिले नारा लगाइरहेका छन् । ‘हामीलाई आफ्नो देश छिर्न दे’ भन्दै उनीहरु भारतीय क्षेत्रबाट नेपाल सरकारलाई सुनाइरहेका छन् । यस्तो समस्या खासगरी पश्चिम नेपालका मान्छेहरूको छ र पश्चिमी नाकामै दिनदिनै मान्छे आइरहेका छन् ।

शुक्रबार राति १० बजेसम्म दार्चुला सदरमुकाम खलंगास्थित झोलुंगे पुल खुलाएर २ सय २५ जनाको उद्धार गरिएको थियो । राति १२ बजेपछि भारतको धारचुलामा आइपुगेका नेपालीहरु अलपत्र परेका हुन् । उनीहरुको उद्धारका लागि अहिले सम्म प्रयास भएको छैन ।

नेपाल–भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा नेपाली मजदुरहरु तीन दिनको पैदल यात्रापछि पिथौरागढबाट धारचुला आइपुगेका हुन् । भारतका होटलहरुमा बस्न र खान नदिएपछि बाध्य भएर काम छोडेर फर्किनु परेको नेपालीहरुले बताएका छन् ।

मार्मा गाउँपालिका ५ का दिलेन्द्र महताले तीन दिनदेखि खान नपाएको बताए । ‘चाउचाउ र बिस्कुट पनि किन्न पाइएको छैन,’ उनले टेलिफोनमा भने ‘धारचुलामा अहिले बढी मान्छे भएपछि सडक छेउ र महाकाली किनारमा आएर बस्नुपरेको छ ।’

यस्तै अपिहिमाल गाउँपालिका ५ का सुनील धामीले ठेकेदारले समयमै रकम नदिँदा आउन ढिलाइ भएको बताए । ’काम गरेको रकम पनि आधा दिएको छ । २ हजार रुपैयाँ दिएर पठाएको हो । अहिले धारचुलाम के खाने भन्ने भइरहेको छ,’ उनले भने, भारतीय प्रहरीले सामाजिक दूरी बनाएर बस भन्छन् । अहिले महाकाली बगर क्षेत्रमा महाकाली नदीको पानी खाएर बसेका छौ ।’

हाल दार्चुलामा रोकिएका सबैभन्दा बढी बैतडीका नागरिक रहेका छन् । प्राप्त विवरण अनुसार दार्चुला मार्मा गाउँपालिकाका ३८ जना, अपिहिमाल गाउँपालिका ५ जना, शैल्यशिखर नगरपालिका ११ जना रहेका छन् । यस्तै बैतडी जिल्ला पुर्चौडी नगरपालिका १ सय ६४ जना, डिलाशैनी गाउँपालिका ६२ जना रहेका छन् ।

यसैगरी बझाङ जिल्ला बुङ्गल नगरपालिकाका ३० जना, र जाजरकोटका ३ जना रहेका छन् । यता दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सीमा पारी रहेका नेपालीको उद्धारका लागि छलफल र परामर्श भईरहेको बताए । उनले भने ‘हामी निरन्तर छलफलमा छौं, अहिले पनि त्यसैका बारेमा बैठेक चलिरहेको छ, केन्द्रमा पनि परामर्श गरिरहेका छौं, कसरी हुन्छ चाँडै नै उद्धार गर्छौँ ।’

सम्बन्धित समाचार