काेराेनाकाे कहर: निःशुल्क दूध बाड्न शुरु

 

दूध बिक्न छाडेपछि पशुपालक कृषकले गाउँलेलाई निःशुल्क बाढ्न थालेका छन् ।



गौरीगञ्ज गाउँपालिकाका किसानका दूध नबिकेपछि गाउँलेलाई बाढ्न शुरु गरेको हुन् बाह्रदशी गाउँपालिकाका अधिकांश कृषकका दूध डेरीले सङकलन गर्न छाडेपछि उनीहरुले गाउँलेलाई निःशुल्क बाड्न थालेको हुन् । डेरीले दूध नलिदा गाउँलेलाई निःशुल्क बितरण गर्दै आएको सो गाउँपालिकाका कृषक राजु साहले जानकारी दिए ।

उनले दैनिक ७५ लिटर दूध उत्पादन गर्छन् । पाथीभरा कृषि फर्म दर्ता गरेर पशुपालन शुरु ग्ेका कृषक साहको मुख्य आयश्रोत नै दूध हो । तीन वर्ष अघिदेखि तीन उन्नत जातका गाई पालन गरेर उनले सो व्यवसाय शुरुआत गरेका थिए ।

गौरादह नगरपालिका – ८ थापा चोक निवासी नारायणप्रसाद गौतमले गौशाला कृषि फर्म दर्ता गरेर उन्नत जातका गाई पालेका छन् । दैनिक ५० लिटर दूध विक्री गर्ने उनको पनि समस्या उस्तै छ । साह र गौतम जस्ता किसानले उत्पादन गरेको दूध नबिक्नु अहिलेको साझा समस्या हो । अधिकांश व्यवसायिक पशुपालक किसानले दैनिक ५० लिटर भन्दा बढी दूध निःशुल्क गाउँलेलाई बाड्दै आएका छन् ।

‘गाउँमा दूध बाँडेर पनि सकिदैन’ साहले भने – ‘दुई चार लिटर भए पो बल्लो गाउँ पल्लो गाउँमा दूध दिँदा सकिन्छ, ग्रामीण क्षेत्रका अधिकांशले पशुपालन गरेका छन् । प्रायजसो घरैपिच्छे दूध हुन्छ उनीहरुले लाँदैनन् जसले पशु पालेको छैन उनीहरुले मात्र लाँदा हामीले उत्पादन गरेको दूध सकिदैन ।’ साह भन्छन् – ‘दूध फाल्नु पनि त भएन नि ।’

गौरीगञ्ज–खजुरगाछी क्षेत्रका किसानहरूले उत्पादन गरेको दूध खजुरगाछीको आठमौजा बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको चिश्यान केन्द्रले खरिद गर्दै आएको थियो । आठमौजा सहकारी संस्थाले संकलन गरेको दूध रितिका डेरी उद्योगले खरिद गर्ने गरेपनि अहिले रितिका डेरी उद्योगले दूध लिन छाडेको सहकारीका अध्यक्ष अर्जुन दंगालले बताए ।

सहकारीले दैनिक एक हजार लिटर दूध संकलन गर्ने गरेकोमा एक सय ५० लिटर दूध स्थानीय ठाउँमा बिक्री हुने र बाँकी दूध रितिका डेरी उद्योगलाई बिक्री गर्ने गरेको आठमौजा सहकारीका दूध संकलन कर्ता जयप्रसाद ढकाल बताउँछन् ।

सम्बन्धित समाचार