नेपाली साहित्यको एउटा सुन्दर प्राप्ति हो ‘प्रपञ्च’ उपन्यास

विषय प्रवेशः

उपन्यासकार प्रकाश कोइरालाको जन्म २०४४ साल फाल्गुण २ गते गोलञ्जोर–६, सिन्धुलीमा (तत्कालीन वाशेश्वर– २, डडुवागाउँ) माता हर्ककुमारी र पिता वेद कोइरालाको कान्छो सुपुत्रको रूपमा भएको हो । उनीले २०६० मा कौशिकी मावि ग्वाल्टार सिन्धुलीबाट प्रवेशिका उत्तीर्ण, राराव क्याम्पस जनकपुरबाट आइएस्सी गरेर आरआर क्याम्पस काठमाडौबाट बीए पास गरे । हाल उनी आरआर क्याम्पसकै अङ्ग्रेजी विषयका स्नातकोत्तर तहका विद्यार्थी रहेका छन् । काव्य र आख्यानमा कलम चलाउँदै आएका प्रकाशको प्रथम साहित्यिक रचना ‘श्रमको फल’ (२०५९) फुटकर कविता हो भने ‘आरूआरती’ (खण्डकाब्य, २०६५) प्रथम प्रकाशित पुस्तकारकृति हो । यिनको हालसम्म ‘आरूआरती’ (खण्डकाव्य, २०६५), ‘यो देशको नाउँमा’ (२०६६), र ‘जागृति जागरण’ (२०७०) गरी तीनवटा खण्डकाव्यहरू प्रकाशित छन् । कवि मण्डली जनकपुरको उपाध्यक्ष (२०६३) र अध्यक्ष (२०६७) भई जनकपुरको साहित्यिक संस्थाको अनुभव लिएका प्रकाशले त्यहीँको विभिन्न काव्य गोष्ठीहरूमा सहभागिता जनाएर एक दर्जन जति प्रमाणपत्र हासिल गरेर आफ्नो प्रतिभालाई उजागर पारेका छन् । प्रस्तुत लेखनमा नेपाली साहित्यका यिनै साधक कोइरालाले हालै प्रकाशित गरेको प्रपञ्च उपन्यास (२०७६) को मुख्य प्रवृत्तिगत विश्लेषणसहित सामान्य चर्चा गरिनेछ ।



प्रपञ्च उपन्यासको विश्लेषण

प्रकाश कोइरालाद्वारा लिखित प्रपञ्च उपन्यास प्रकाशित कृतिमध्ये चौथो तर औपन्यासिक कृतिका रूपमा पहिलो कृति हो । यसभित्र ६५ भाग २५७+५ पृष्ठ समाहित छन् । बिएन पुस्तक संसार प्रालि काठमाडौको प्रकाशन, सन्तोष दाहालको आवरण, भानु नेपालको भाषा, सम्पादन र हाङयुग अज्ञातको विचार यसभित्र समाहित गरेर उपन्यासमा घर गृहस्थी सम्बन्धी कता–कताबाट आइपरेका झोर झमेलाको प्रपञ्चलाई व्यवस्थापन गरेकोे पाइन्छ । उपन्यासलाई सजिलोको लागि स्थानगत परिवेशको आधारमा तपसिलअनुसार विभाजन गरेर हेर्न सकिन्छ :

१. भाग : १ देखि ३४ सम्म महोत्तरीको बर्दिबासको चित्रण (१–६० पृष्ठ)
२. भाग : १६ देखि ४७ सम्म मन्थलीको चित्रण (६१–१३५ पृ)
३. भाग : ३५ देखि ४६ सम्म रामेछाप बजार अनि भूस्वर्गराज्य गाउँ (१३६ –१७३ पृ)
४ भाग : ४८ खुर्कोट–सिन्धुलीमाडी– बर्दिबासको चित्रण (१७४–१७७ पृ)
५. भाग : ४८ देखि ६२ बर्दिबासको चित्रण (१७८–२२८ पृ)
६. भाग ६३ देखि ६५ भुस्वर्गराज्यगाउँको चित्रण (२२९–२५७ पृ)

यसरी यस उपन्यासले रामेछाप, सिन्धुली र महोत्तरीको स्थानगत र सामाजिक परिवेशलाई समेटेको पाइन्छ ।

प्रपञ्च पात्र बहुलता भएको उपन्यास हो । यसमा प्रमुख, सहायक र गौण पात्र गरी झण्डै पाँच दर्जनजति पात्रहरू उपस्थापन गरी कथानकलाई गतिशील बनाइएको छ । यस उपन्यासभित्र विभिन्न वाद तथा सिद्धान्तहरूको पनि समिश्रण भएको पाइन्छ । पाश्चात्य साहित्यमा परिष्कारवाद, स्वच्छन्दतावाद, यथार्थवाद, प्रकृतवाद, अतियथार्यवाद, विसङ्गतिवाद, अस्तित्ववाद, उत्तरआधुनिकतावाद आदि वादहरू प्रमुख रूपमा चलिआएको पाइन्छ । यीमध्ये यथार्थवादभित्र विभिन्न भेदहरू पाइन्छन् । सामाजिक, मनोवैज्ञानिक, आलोचनात्मक र समाजवादी भेदहरू रहेका छन् भने मनोविज्ञानअन्तर्गत पनि समाज मनोविज्ञान, बालमनोविज्ञान, अपराध मनोविज्ञान तथा व्यक्तिमनोविज्ञानजस्ता उपभेदहरू प्रयोगमा आएका छन् । तसर्थ प्रपञ्च उपन्यासलाई पनि यसले आत्मसात् गरेका प्रमुख वाद र विशेषताहरूका आधारमा यसलाई केलाउनु वाञ्छनीय देखिन्छ ।

तस्विरमा समीक्षक

१. विसङ्गतिवादी प्रवृत्ति : पाश्चात्य साहित्यमा विसङ्गतिवादी सिद्धान्तको प्रवर्तक जाँ पाल सात्र्रलाई लिइन्छ । यसको पृष्ठभूमिमा डार्विनको विकासवाद, माक्र्सको द्वन्द्वात्मक भौतिकवाद, फ्रायडको मनोवैज्ञानिक सिद्धान्त तथा स्कोपेन हावरको जीवन जगतप्रतिको दुःखवादी दृष्टिकोण र नित्सेको निरीश्वरवादी मानवतावादी दृष्टिलाई प्राक् आधार मानिन्छ । यीमध्ये नित्सेको निरीश्वरवादी दृष्टिकोणबाहेक अरू सबैको सिद्धान्तलाई यस उपन्यासले अंगीकार गरेका पाइन्छ । मूलत : स्क्रोपेन हावरको दुःखवादी दृष्टिकोण र फ्रायडको मनोविज्ञानको दलदलमा यो उपन्यास हराभरा भएको छ । विसङ्गतिवाद जीवन जगत्को निरर्थकता निस्सारता र सङ्गतिहीन विसङ्गत जीवनमूल्य प्रकट गर्ने नास्तिक सिद्धान्त भए पनि प्रपञ्चको केन्द्रीय पात्र म अर्थात् पुण्यप्रसाद विसङ्गतिबोधपछि संघर्ष गरेर अस्मीता रक्षा गर्ने पक्षमा उभिन्छ; तसर्थ यो अस्तित्ववादी उन्मुख उपन्यास पनि देखिन्छ । विसङगतिवादी साहित्यका पात्रहरू अनिश्चित भविष्यको पर्खाइमा बाँच्ने गर्छन् । त्यस उपन्यासका केन्द्रीय पात्र पुण्यप्रसादको एउटा मनोसंवाद हेरौ :
म मरेर बाँच्दै थिएँ कि बाँचेर मर्दै थिएँ, मैलाई थाहा थिएन । (पृ २३०) विसङ्गत पात्रहरू अनेकौं हण्डर कष्ट भोगेर बाँच्न विवश हुन्छन् । जीवनको अर्थ र सार गुमाएर, नैतिक मूल्य र मान्यता, आस्था र विश्वासप्रति प्रश्न चिन्ह खडा गर्दै गौण पात्र भट्टीवाली साहुनी मनकुमारीको उद्देश्यहीन अवस्थाको एउटा उदाहरण हेरौ :

‘साहुनी झम्टेर आई र मेरो गालामा क्वाप्पै टोकी ।’ (पृ ३२)

उपन्यासमा पात्रहरूले भोग्नु परेका शारीरिक र मानसिक आघात, तनाव, पीडा, कुण्ठा र नैराश्यको कारण जीवनप्रति नै वितृष्णा जागेको छ । तसर्थ यस उपन्यासमा विसङ्गतिवादी शून्यवादी दर्शन पनि अभिव्यक्त भएको छ : जस्तै– ‘मेरो मानसिक विचलनले उग्ररूप लिँदै थियो । जीवन नै शून्य थियो ।’ (पृ २३२)

यसैले विसङ्गतिवादले जीवनलाई चरम निराशातिर धकेल्छ । शून्यवादको मुख्य अभिव्यक्ति उपन्यासकारले म पात्र (पुण्यप्रसाद) द्वारा यत्रतत्र अनुभूति गराएका छन् । अञ्जलीसँगको पहिलो प्रेमको असफलता र श्रीमतीहरू किरण र चन्द्रकलाको मृन्युपछि उद्देश्यहीन जीवन बाँचेको पुण्यप्रसाद एकदमै रीत्तो निरर्थक र अभिषापपूर्ण भई चरम वितृष्णाको सिकार बन्दछ । यसरी प्रपञ्च उपन्यासमा विसङ्गतिवादी जीवन दृष्टिलाई सशक्त रूपमा प्रस्तुत गरिरहेको छ ।

२. अस्तित्ववादी प्रवृत्ति : अस्तित्ववादले मान्छे निस्सार र निस्प्रयोजन भएर पनि बाँच्न वा आफ्नो अस्तित्व प्रमाणित गर्न चाहान्छ भन्ने बताउँछ । अस्तित्ववाद मान्छेको वैयक्तिक जीवनलाई नुतन सन्दर्भ र नवीन मानवीय मूल्य र अर्थ दिएर प्रस्तुत भएको एक अत्याधुनिक साहित्यिक दर्शन हो । यसले ‘मानव जीवन निरूपाय, असङ्गत, विवश र निरर्थक भए पनि यी सबैलाई समाप्त गर्न मानवीय अस्तित्व चेतना आवश्यक छ’ भन्ने मान्यता राख्दछ ।

यसका प्रवर्तक डेनिश दार्शनिक सारेन किर्के गार्ड हुन् । त्यसपछि फ्रान्सेली विद्वान जाँ पाल सात्र्रले नयाँ सन्दर्भसहित अस्तित्ववादको प्रतिष्ठापन गरेको मानिन्छ । यो वाद दुई धारामा प्रस्तुत भएको भेटिन्छ :
१) आस्तिक अस्तिववादी धारा : यसका प्रणेता सारेन किर्केगार्ड हुन् र यिनले क्रिश्चियन धर्मसापेक्ष अस्तित्ववादको थालनी गरेका थिए ।
२) नास्तिक अस्तिववादी धारा : ईश्वरको सत्ता नमानेर मान्छेको सत्ता स्वीकार्ने, धर्ममा विश्वास नराख्ने नास्तिक अस्तिववादी धारा हो । यसका प्रवर्तक जाँ पाल सात्र्र हुन् ।

यसरी हेर्दा प्रपञ्च उपन्यास आस्तिक आस्तिववादी धारा अन्तर्गत समेट्न सकिन्छ । यसका पात्रहरू सबै ईश्वर माथि विश्वास राख्दछन्् । प्रमुख पात्र पुण्यप्रसाद, सहायक पात्र अञ्जली, किरण, चन्द्रकला, गौरी, विष्णुप्रसाद उपाध्याय आदि आ–आफ्नै समस्याले थिचिएर थिलथिलो भएको बेला अर्धनारिश्वर महादेवलाई पुकार्छन् । महिला पात्रहरू धार्मिक चाडवाँडमा भगवानलाई सम्झेर सहभागी बन्छन् । कोही आँफुले चाहेको पति प्राप्तिका लागि भाकल गर्छन् । तसर्थ यस उपन्यासका सबै पात्रहरू आस्तिक छन् ।

अञ्जलीसँगको पहिलो प्रेमको असफलता र किरण र चन्द्रकलाजस्ता दुईजना श्रीमतीहरूको मृत्यु वियोग भोगेको प्रमुख पात्र पुण्यप्रसाद चरम वितृष्णाको सिकार बनेपछि उसलाई चाहने भाउजुकी बहिनी नीलिमालाई ४६ वर्षको उमेरमा बिहे गरेपछि शीतलता प्राप्त गरेको अनुभूति गर्छ । तसर्थ यो उपन्यासमा अस्तित्ववादी दृष्टिकोण पाइन्छ । बिहेपछिको प्रमुख पात्र पुण्यप्रसादको सकारात्मक धारणाको संवादको उदाहरण हेरौ : घामको मुस्कुराहट धर्तीमा फुलेर मगमगाइरहेको बिहानमा हाम्रो मन्दमुस्कान पनि मिसियो ।….. (पृ २५७)
तसर्थ मानवीय जीवनका पीडा विसङ्गति निस्सारता, निरर्थकताका बीचमा उभिएर इच्छा शक्तिलाई प्रवल तुल्याइ अस्तित्ववान बनाउने मान्यतालाई यस उपन्यासले आत्मसात् गरेको छ ।

३. सामाजिक यर्थाथवादी प्रवृत्ति : पश्चिममा बाल्जाकबाट सुरु भई जोलासम्म चरम विकास गरेको सामाजिक यथार्थवादले भौतिक जगत् र त्यसका वस्तुसत्यलाई सामाजिक यथार्थका कोणबाट हेर्दछ । समाजमा सामान्य, विशिष्ट, घटना, परिवेश, स्थिति, स्थानकाल सबैलाई आत्मसात गर्देै यो वादले समाजकै जनजीवन बोली भाषा आदिको महत्व दिन्छ ।

समाजमा जे छ अर्थात् समाजमा भइरहेको कुरा जति छ, त्यति मात्र आफ्ना रचनामा स्थापित गर्ने प्रवृत्तिलाई सामाजिक यथार्थवादी प्रवृति भनिन्छ ।

समाजको आर्थिक संरचनावाट पीडित बनेर सिकार भएका जीवनभोगलाई कर्मको फल ठान्ने, दुष्कृतिका षडयन्त्रहरूबाट पीडित क्षणहरूलाई पनि प्रारब्धको आर्जन ठान्ने, जाति, धर्म, लिङ्ग, वर्ण, आदिका कृत्रिम आवरणलाई ब्यापक रूपमा राखेर प्रस्तुत गर्ने कला सामाजिक यथार्थवादी चिन्तनकला हो र यी सबै प्रपञ्च उपन्यासले समेटेको छ ।

यस उपन्यासमा महोत्तरी, सिन्धुली र रामेछापको भौगोलिक एव्म सांस्कृतिक परिवेश समेटेको पाइन्छ । प्रेम प्राप्तिका खातिर मानिसहरूका मानसिक पीडा, दुःख, चिन्ता आदिलाई आधार बनाएर नेपाली ग्रामीण जीवनको गोठाले र खेतालो कथावस्तुमा पात्रहरूको अनेक हण्डर र कलह देखिन्छ । किसानहरू खेती गर्छन्, गाईभैंसी पाल्छन् । सम्पत्तिमा दाजुभाइहरू झगडा गर्छन्, मनोरञ्जनका साधनका रूपमा विवाह, व्रतबन्ध र सांस्कृतिक कार्यक्रमका नाचगान र नाटक मात्र हुन्छन् । प्राकृतिक प्रकोपले पीडित बन्छन् : भगवान पुकार्छन्, आजीविकाको कुनै अवसर भेटिदैनन्; यस्तै हृदयविदारक र कारूणिक पात्रहरूको जीवन्त चित्रण यस उपन्यासले समेटेको छ । नेपालीपनले ओतप्रोत भएका गाउँले भावलाई सरल र सहज शैलीमा सुधारको चाहना राख्दै गरिबिलाई एउटा गम्भीर समाजिक समस्याको रूपमा उनले चित्रण गरेका छन् । सामाजिक कुप्रथा, सङ्किर्ण मनस्थिति तथा अन्धविश्वासको कारणले समाजमा नारीले भोग्नु परेका मर्माहित व्यथा र उनीहरूप्रतिको सामाजिक दृष्टिकोणको चर्चा गरेका छन् ।

अन्धविश्वासका उदाहरण हेरौं : ‘म औंसीको मध्यराति जन्मेको हुँ, आंैसियाले आमा, बा अथवा पत्नी मार्छ ।’ (पृ २१) ‘जलेश्वरको शिवमन्दिरको कुटीमा बस्ने एउटा बाबाले छोरो जन्मने जडिबुटीको दुई मात्रा दिएका थिए । ( पृ २१३) यस्तै गरी निम्नवर्गीय समस्या, पारिवारिक विघटन र आर्थिक द्वन्द्वको प्रतिबिम्ब पनि उनको उपन्यासका समाजमा समाहित छ ।

२०४१, २०४५ र २०५० सालको अनावृष्टि भुकम्प र अतिवृष्टिको प्रकोपका कारण जनधनको क्षति भएपछि बर्दिबास पुगेका केही परिवारमध्ये यस उपन्यासका म पात्र अथात् पुण्यप्रसादलाई बिहेको चाहना गर्ने सहायक पात्र गौरीको अर्कोसँग बिहे हुँदा ब्रासलेट उपहार दिनलाई भैंसी बेचेको प्रसङ्गले उनको निम्नवर्गीय आर्थिक स्थितिलाई बोध गराउँछ ।

यिनले नारीपात्रलाई उच्च सम्मान दिएको एउटा उदाहरण यस प्रकारको छ :

‘महिला हिंसा गर्नुमा पुरुषार्थ सोच्ने पुरुष नै नामर्द हुन् ।’ (पृ १६) यसरी नेपाली साहित्यमा कथाकार मैनालीबाट प्रवर्तित र उपन्यासकार रूद्रराज पाण्डेको यथार्थवादी परम्परालाई निरन्तरता दिँदै नेपाली जनजीवनका वेदना र समस्यालाई सुन्दर पाराले सूक्ष्म ढङ्गले विषयवस्तु बनाएर प्रस्तुत गरेको प्रपञ्च उपन्यासमा आञ्चलिक विशेषताहरू पनि पाइन्छन् । उनको विषयवस्तुभित्र अशिक्षा, अभाव, अज्ञानता र स्थानीय नेताहरूको शोषण र उत्पीडनका चक्रले धुलिएको नेपाली समाजको सत्यताको उद्घाटन गरेको आभाषित हुन्छ । कक्षा ७ उतीर्ण गरेपछि गाउँलेले विद्यार्थीलाई अभिनन्दन गर्नु अशिक्षा र अज्ञानताको उदाहरण हो । समाजमा विद्यमान परम्परित रुढिवादी मान्यता, भेदभावपूर्ण संस्कार, बालविवाह, बहुविवाहजस्ता विकृति आदिको समाप्ति हुनुपर्ने साहित्यिक आग्रह पनि प्रपञ्च उपन्यासमा पाइन्छ ।

४) मनोवैज्ञानिक यर्थाथवादी प्रवृत्ति : यो वाद मनोवैज्ञानिक सिग्मण्ड फ्रायड, अल्फ्रेड एडलर र कार्ल गुष्ताभ युङका मनोविश्लेषण सिद्धान्तमा आधारित छ । फ्रायडवादको प्रभावलाई यथार्थ रूपमा हेर्नु नै मनोवैज्ञानिक यथार्थ हो, जसको प्रभाव उपन्यासमा पाइन्छ । बाह्य यथार्थभन्दा आन्तरिक मनको यथार्थ प्रक्रियाको यथातथ्य प्रस्तुति नै मनोवैज्ञानिक यथार्थवाद हो ।

फ्रायडले मनलाई चेतन, अवचेतन र अचेतन गरी तीन तहमा विभाजन गरेका छन् । प्रपञ्च उपन्यासका पुण्यप्रसादको अधिकांश समय चेतनभन्दा अचेतन अवस्थामा व्यतित भएको देखिन्छ । यौन कुण्ठाको सिकार भई पुण्यप्रसाद श्रीमती किरणलाई भेट्न राती ससुराली घरमा चोरझैं पस्नु, चन्द्रकलालाई सिन्धुलीगढीको सिस्नुघारीमा छेलिएर दिउँसै समागम गर्नु आदि विषय यौन असन्तुष्टिको विक्षिष्त अवस्था हो । त्यस्तै गरी यौनको असन्तुष्टि र अतृप्तिको अर्को घटना हो– शिक्षक रामबाबुले आफ्नै चेली उजेलीलाई गर्भवती बनाउनु र प्रतिमालाई घारीमा लगेर बलात्कार गर्नु । यस उपन्यासमा यौन भावना छताछुल्ल छरिएको पाइन्छ । पुण्यप्रसाद र गौरीको समागम, कक्षा १० का विद्यार्थीहरू गौरव र कमली अनि विक्रान्त, भावना, हरिगोपाल र लीलामाया आदिले पत्राचार गर्दै झाडी प्रेम गर्नु जस्ता प्रवृत्ति देखिन्छन् भने अञ्जली चाहिँ परपीडन प्रवृतिको पात्र देखिन्छे । त्यस्तै भट्टीवाली साहुनीले चाहिँ रक्सीभन्दा बंैस बेचेर जीवन धानेकी हुन्छे ।

फ्रायड भन्छन्– मानिसका सम्पूर्ण क्रियाकलापको मूलशक्ति कामवासन हो । प्रेमको असफलतालाई मल्हम लगाउन रक्सीको भट्टीमा पुण्यप्रसादले धेरै समय खर्चिएको छ, र भन्छ, ‘नाजायज फाइदा उठाएकोमा म आत्माग्लानिले पग्लिएँ ।’ (पृ २१९) उता मनकुमारी भन्छे– ‘सय पचासमा सय जनासँग लुछिनुभन्दा त माष्टरजी जस्तो एकमुष्ट मन खन्याउने मान्छे भए म यति धेरै कुहिने थिइनँ ।’ (पृ.२१९)

यसरी उपन्यासमा यौन समस्याले ग्रसित पात्रहरूको मनोदशा र बाध्यतारूपी धरातलको उद्घाटन गरेको पाइन्छ । पुण्यप्रसादलाई गौरी, नानीमाया र नीलिमाले प्रेम प्रस्ताव राख्छन्, ऊ चाहिँ अञ्जलीको असफल प्रेममा बरबराउन थाल्छ । पुरै जीवन अञ्जलीको सपनामा निरर्थक बनाउँछ, मानौ जीवनको समस्याको एकमात्र समाधान भनेको आदर्श प्रेमका लागि नभएर अञ्जलीसँगको कामवासना तृष्ति मात्रै हो । पुण्यप्रसाद संसारप्रति उदिग्न छ । उता गौरीका दमित क्षणहरूले अचेतन रूपमा हुण्डरी मच्चाउँछ । यौन तृष्णाकै कारण छोरा निसान र सुशान्तले सुशिला र सर्मिलालाई भगाउँछन् । गृहयुद्धमा गएकी एक छापामार युवतीले कुमारीमै आमा बनेर क्रान्तिको जन्म दिन्छे । साथी पुष्पले किरणलाई अगाघ प्रेम गरे पनि असफल हुन्छ । यसरी उपन्यासका तमाम पात्रहरू प्रेमाग्निमा सेकिएका हुन्छन् । एकोहोरो र वाहियात प्रेम गरेको पुण्यप्रसादले सम्धिनी बनिसकेकी अञ्जलीको फोटो–सेक्स गरेर मानसिक रोगीको ज्वलन्त उदाहरण पेश गर्दछ । माष्टरले बलात्कार गरेको प्रतिमालाई पुण्यलालले बिहे गर्दछ । पुण्यप्रसादलाई नाङ्गी अञ्जली आएर सपनामा सधंै सताउने गर्छे र भन्छे– साखीने भालेले छेकेजस्तो गरी नाचेर छेक्दै श्रीमतीलाई खुसी तुल्याउनु । त्यसैले उपन्यासकारका अधिकांश पात्रको प्रेम अस्वीकृत छ, असफल छ । उनका पात्रहरू यौन विकृतिको जटिलतामा नाचिरहेका छन् । त्यसैले विवेच्य प्रपञ्च उपन्यास प्रेम, रोमान्स, आकर्षण, प्रेमाघात र पीडाहरूको सङ्ग्रहजस्तै बन्न पुगेको छ ।

निष्कर्ष :
विवेच्य उपन्यासमा पञ्चायत र प्रजातन्त्रकालको परिवेशलाई मूल आधार बनाएर आर्थिक सामाजिक र सांस्कृतिक पाटोलाई चित्रण गर्ने उद्देश्य राखेको पाइन्छ ।

समाज यस्तो छ भनेर चित्रण गर्दा निम्न वर्गको पात्रहरूको घनत्वमा उपन्यास टुङ्गिएको पाइन्छ । त्यसैले सामाजिक यथार्थवादीहरू समाजकै अर्घेलो रहन सहन र चालचलन मन पराउँछन् । तसर्थ उपन्यासकारले मानव जीवनकै विशिष्ट घटना प्रेमलाई आत्मसात् गरेर मानवकै मनोदशा, मनोग्रन्थिको जटिलता र मनका अचेतन क्रियाकलापलाई चिरफार गरेर कामवासनाको तुष्टि लिएका छन् । यसका लागि उनले पात्रहरूमा अश्लील, क्षुद्र र अपरिष्कृत व्यक्तिबोली प्रयोग गरेको पाइँदैन । तसर्थ पात्रहरूको संवादमा विश्वसनीयता छ । भोक, रोग र शोक सुर्ताको विषयमा मात्रै नअल्मलिई आशा भरोसा र उज्यालोको प्रत्याभूति पनि गरिएकाले यो संयोगान्त विषयमा आधारित अस्तित्ववादी उपन्यास हो । राष्ट्रप्रेम, विद्रोहात्मकता र प्रगतिशीलता जस्ता प्रवृत्तिमा आधारित सहायक कथानकले उपन्यासलाई रोचकता र कुतुहलता पैदा गराएको छ ।

यौन भावनाको खुल्ला प्रस्तुति र कुत्सित रूपलाई देखाउनमा उनी खप्पीस देखिन्छन् । तसर्थ प्रकृतवादी यौन चेतनापरक विषयवस्तु र स्थानीयताको चित्रणले समेत उनको उपन्यास प्रभावकारी देखिन्छ । त्यसैगरी साहित्यमा यथार्थका प्रस्तुतिका क्रममा कतिपय असुन्दर र अपाच्य कुराहरू पनि आवश्यक छ भन्ने प्रकृतवादीहरूको मतलाई उनले पनि पछ्याएका छन् । किनकि आख्यानमा यथार्थलाई नलुकाइ जस्ताको तस्तै वर्णन गर्दा लुप्तगुप्त स्थानहरू असुन्दर र निर्लज्ज लाग्न सक्छन् यद्यपि उनले काव्यात्मक शैलीमा कतिपय विषयवस्तुलाई सुन्दर विन्यास पारेर प्रस्तुत गरेका छन् ।

उपन्यासमा असंख्य पात्र परिचालन भएकाले ‘म’ पात्रद्वारा कथानकलाई गतिशील बनाइएको छ । कतै तृतीय पुरुष दृष्टिबिन्दु पनि पाइन्छ । यस उपन्यासमा रसिला, घोचिला एवम् सार्थक संवादको आयोजना गरिएको छ । संवादमा पात्रको आँसु र सुस्केरा प्रतिध्वनित पाइन्छ । सारगर्भित संवादभित्र मनोवाद, एकालाप तथा स्वगत कथनको प्रयोग पाइन्छ । विचार र व्याख्याको कुशलताको कारण कतिपय अवस्थामा पात्रहरूमा शिथिलता देखिन्छन् । कतिपय स्थानमा लेखकले काल्पनिकताको प्रयोग गरे पनि यथार्थको निकट पु¥याएर साहित्यिक भ्रम सिर्जना गर्न सफलता मिलेको पाइन्छ । उपन्यासको आरम्भदेखि नै कारूणिक भावको मुहान खोले पनि अन्त्यमा संयोगान्त पारिएको छ । जब पाठकले उपन्यासको अध्ययन गर्न थाल्छन्, तब आँखाभित्र आँसु टिलपिल गर्न थाल्छन्, हृदय भक्कानिन र पग्लिन थाल्छ । त्यसैले यो चित्ताकर्षक र प्रभावकारी उपन्यास हो ।

तत्सम्, तत्भव र आगन्तुक शब्दको यथाप्रयोगले घटनाको प्रस्तुतीकरण सुगठित बनेको छ भने उखान टुक्काले भाषागत रूपमा थप सौन्दर्य थपिएको छ ।

दलित र अपाङ्गता भएका पात्रहरूको मानसिक आघात र हीनताबोधलाई पनि मार्मिक ढङ्गले चित्रण गरिएको छ । त्यसैगरी मानवीय यौन र रतिगात्मक सन्दर्भबाट तिनको अर्धपागल र विक्षिप्त मानसिकता केलाउने मनोविज्ञानले यो उपन्यास ओतप्रोत छ ।
विसङ्गतिवादी–अस्तित्ववादी पाश्चात्य जगत्मा विकसित नवीनतम् दर्शनलाई आधार बनाई मानव जीवनको व्याख्या विश्लेषण गर्नु र जीवनको विसङ्गतिवोधबाट झल्कने शून्यता र अहम्ताबोधबाट हासिल हुने अस्तित्व देखाउनु नै उपन्यासकारको प्रमुख उद्देश्य रहेको देखिन्छ । उपन्यासमा प्रेम सम्बन्धी जुन त्रासदी अभिव्यक्त भएको छ, त्यसले जीवनका थुप्रै विषयमाथि प्रकाश पारेको छ । विशेषतः यौन सम्बन्धी मानवीय अवधारणा र क्रियाकलापप्रतिको प्रस्तुतिमा उपन्यासकार अग्रपंक्तिमा उभिएका छन् । नेपाली ग्रामीण परिवेशलाई आधार बनाएर जनजीवनको यथार्थता खोलेकोमा उपन्यासकारलाई साधुवाद छ !
हाल : टीकाथली, ललितपुर

सम्बन्धित समाचार