२०७६ साललाई फर्केर हेर्दा…

विभिन्न सफलता र असफलताका आरोह अवरोहका बीच २०७६ सालको अन्त्य अत्यन्त्र संत्रासमय बन्यो । नेपाल र नेपालीका लागि २०७६ साल आशा वा निराशा जे भए पनि नववर्ष २०७७ को खुसी साट्न नपाएर केही नमिठो महसुस भयो । हुन त अहिले विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण मुलुक नै लकडाउनमा रहेको बेला नववर्षको खुसी साट्न नपाउँदा खासै धेरै दुःखी हुने विषय नबने पनि सधैझैं खुसीयाली मनाउन नपाउँदा भने यस पटकको नयाँवर्षको शुरूमै केही खल्लोपन महसुस भयो ।

२०७६ मा जे जस्तो परिस्थिति हाम्रा अघि आए पनि केही बिर्सनै पर्ने घटनाहरू र केही बिर्सनै नसकिने घटनाहरू घटित भए । यस लेखमार्फत् गत वर्ष देशले भोगेका आशा, निराशा र भावी सम्भावनाहरूलाई सतही रूपमा भए पनि स्मरण गर्ने प्रयास गरिएको छ ।



राजनीतिक दलहरूबीचको एकता : 

२०७६ सालको नयाँ वर्षसँगै अर्थात् वैशाख २३ गते नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टीको गठन भयो । नेपाली राजनीतिकका ठूला दल एमाले र माओवादी केन्द्रबीच पनि जेठ ३ गते पार्टी एकता सम्पन्न भयो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पनि फागुन २८ गते एकता भयो । 

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : 

करिब २३ वर्षपछिको चिनियाँ राष्ट्रपति नेपाल भ्रमण पनि सुखद नै रह्यो । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणअघि सन् १९९६ डिसेम्बर ५–६ मा तत्कालीन चिनिया राष्ट्रपति जियान जेमिन नेपाल भ्रमणमा आएका थिए ।  असोज २५ गते नेपाल आएका सी जिनपिङले चीन–नेपाल सीमापार रेलमार्ग, केरूङदेखि काठमाडौंसम्मको सुरूङ मार्ग र हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माणमा जोड दिएका थिए ।

सफल रूपमा सम्पन्न साग :

नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सफलतापूर्वक सम्पन्न भयो । उक्त प्रतियोगितामा नेपालले ५१ स्वर्णसहित नेपालले दोस्रो स्थान हासिल गरेको थियो ।

बालुवाटार प्रकरणमा १७५ जना विरूद्ध भ्रष्टाचार मुद्दा :

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा भूतपूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा माघ २३ गते मुद्दा दायर ग¥यो । बालुवाटारस्थित एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा लगेर भ्रष्टाचार गरेको अभियोगमा आयोगले राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी र ठूला व्यापारीसहित १ सय ७५ जनाविरूद्ध नौ अर्ब आठ करोड १४ लाख बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका लागि यो इतिहासकै सबैभन्दा ठूलो घटना हो ।

२ दर्जन व्यक्तिका हत्यारा जेल चलान :

२०६४ सालको संविधानसभा निर्वाचनका क्रममा करिब २ दर्जन व्यक्तिलाई इट्टाभट्टामा हालेर जिउँदै जलाउने व्यक्ति कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य अफताव आलम असोज २६ गते पक्राउ परे । आफूले गरेका नरसंहारका घटनालाई १२ वर्षसम्म लुकाउन सफल भएका आलम विरूद्ध जन्मकैदको माग गर्दै मुद्दा दायर भएपछि अन्ततः कारागार चलान भए ।

प्रतिबन्धित विप्लव समूहको शृङ्खलाबद्ध विष्फोट :

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको ‘विप्लव’ समूहले संघीय राजधानीका विभिन्न स्थानमा बम बिस्फोट गराएको घटनाले पनि २०७६ सालमा चर्चा नै पायो । काठमाडौंको सुकेधारा, घट्टेकुलो र थानकोटमा भएको बम विस्फोटमा ४ जनाको मृत्यु भयो भने ८ जना घाइते भएका थिए । सुकेघारास्थित एक सैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा विस्फोट भएको थियो । यसरी भएको बम बिस्फोटमा स्वयम् विप्लव समूहका कार्यकर्ताको समेत मृत्यु भएको थियो ।

गुठी विधेयकविरूद्ध उर्लियो जनसागर :

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले संसदमा २०७६ वैशाख १६ गते दर्ता गरेको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकमा निजी गुठीलाई सार्वजनिक बनाउने प्रस्ताव गरिएको थियो । उक्त विधेयक गुठीका जग्गा भूमाफिया वा व्यक्तिका नाममा जाने भन्दै त्यसको विरोधमा काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीयहरूको जनसागर सडकमा उर्लियो, जसकारण अन्ततः असार ३ गते सरकारले विधेयक फिर्ता लिन बाध्य भयो ।

गोकर्ण रिसोर्ट यती होल्डिङ कम्पनीलाई: 

सरकारले सरकारी जमिन गोकर्ण रिसोर्ट यती होल्डिङ कम्पनीलाई लिजमा दिएको विषय पनि चर्चा र बहसको शिखरमा पुग्यो । राजधानीको गोकर्णेश्वर नगरपालिकामा रहेको २७ सय ९२ रोपनी जग्गामा रहेको रिसोर्ट सरकारले ६ वर्षको लिज अवधि बाँकी छँदै सम्झौता अवधि बढाएर २५ वर्षका लागि लिज नवीकरण गरेपछि प्रतिपक्षको विरोध र सरकारको बचाउ लामो समयसम्म चर्चाको विषय बन्यो ।

सभामुखमाथि बलात्कारको आरोप :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डका विश्वास पात्र भनेर चिनिएका प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारजस्तो गम्भीर आरोप लाग्यो । मुलुकको वरियताक्रमको पाँचौं ठूलो पद सभामुखमा पुगेका महराले यो आरोप मात्र खेप्नु परेन सभामुख पद पनि गुमाउन बाध्य हुनुपर्यो । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि असोज १२ गते बलात्कार प्रयास गरेको आरोप लागेपछि असोज १९ गते महरा सभामुखको निवास बालुवाटारबाटै पक्राउ परे । ३० दिन हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसेका महराले अन्ततः फागुन ५ गते जिल्ला अदालत काठमाडौंबाट सफाइ पाए ।

भारतीय नक्सामा नेपाली भूमि :

भारत सरकारले जारी गरेको राजनीतिक नक्सा नेपालको भूमि परेपछि त्यो बिषय पनि २०७६ सालमा विवादको विषय बन्यो । यस विषयलाई लिएर विद्यार्थी संगठनहरूले सडक तताए र राजनीतिक दलहरूले संसद । सडकदेखि सदनसम्म यो विषयले व्यापक चर्चा पायो । मोदी सरकारले भारतीय संविधानको धारा ३७० खारेज गरेपछि जम्मु र कश्मिरलाई प्राप्त विशेष अधिकार खोसेपछि भारतले नोभेम्बर २ (कार्तिक १६ गते) मा जारी गरेको नक्सामा नेपालको दार्चुलास्थित कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेको थियो ।

एटीएमबाट रकम लुट्ने चिनियाँ ह्याकर :

विभिन्न बैंकका एटीएम पीन ह्याक गरी रकम चोरी गर्ने चिनियाँ ह्याकरहरूको समूह भदौ १५ गते पक्राउ परे । अवैध रूपमा नेपालमा बसी आर्थिक अपराधमा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले काठमाडौंका विभिन्न स्थानमा छापामारी गत पुसमा १ सय २२ जना चिनियाँ पक्राउ गर्यो ।

एमसीसी प्रकरण :

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पनि २०७६ सालमा खुबै चर्चाको विषय बन्यो । विशेषगरी सत्तारूढ दल नेकपाभित्र नै यसले हलचल मच्चायो । सत्तारूढदलभित्र नै एमसीसीकको विषयलाई लिएर दुई धार देखिएपछि यसलाई किनारा लगाउन नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वको सुझाव कार्यदल नै गठन गर्नुपर्यो । तर उक्त कार्यदलले एमसीसी सम्झौता परिमार्जन गर्न सुझाव दिए पनि काम अघि बढन सकेन ।

बाँस्कोटाको ७० करोड कमिसनको अडियो प्रकरण :

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीका विश्वास पात्र तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका गोकुलप्रसाद बाँस्कोटाको ७० करोड कमिसनको अडियो बाहिरियो । बाँस्कोटाले सेक्युरिटी प्रेससँग सम्बन्धित एजेन्ट विजयप्रकाश मिश्रसँग गरेको कमिसनको अडियो सार्वजनिक भएकै दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालय गरी दुईवटा मन्त्रालय समालेका बाँस्कोटाले फागुन ८ गते राजीनामा दिनुपर्यो ।

नेपाल भ्रमण वर्ष २०२० :

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका काणर स्थागित हुन पुग्यो । जसकारण २०२० मा २० लाख पर्यटक भित्र्याउन सरकारकोे महत्वकांक्षी लक्ष्य सफल हुन सकेन ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण :

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक आफ्नो मृगौला प्रत्यारोपण स्वदेशमै गराएको घटनाले पनि चर्चा नै पायो । १३ वर्ष पहिले दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसवर्ष भने स्वदेशका चिकित्सकबाट नै फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा मृर्गौला प्रत्यारोपण गराएका हुन् । प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् ।

स्वास्थ्य उपकरणमा अनियमितता :

चीनको वुहानबाट शुरू भएर विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसका कारण नेपाल लकडाउनमा छ । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि चाहिने स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको घटना बाहिरियो । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग निकट रहेको व्यापारिक समूहले चीनबाट स्वास्थ्य सामग्री ल्याउने ठेक्का पाएको र त्यसमा अनियमितता गरेको विषय बाहिरिएपछि यो विषयले पनि २०७६ सालमा चर्चा पायो । स्वास्थ्य सेवा विभागले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई)सँग २०औँ गुणा महंगोमा स्वास्थ्य सामग्री खरिद गर्न लागेको थियो । उक्त विषय धेरै नै विवादित बनेपछि ओम्नीसँको टेण्डर रद्द गरी पछि नेपाली सेनालाई जिम्मा दिइयो ।

एनसेल कर विवादको अन्त्य :


लामो समयदेखि विवादित बनेको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत सरकारलाई तिर्नुपर्ने ठूलो रकम कर चुक्ता गर्यो । एनसेलले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रूपैयाँ बुझाएसँगै पुँजीगत लाभकर पावात २०७२ चैत २९ देखिको विवाद अन्त्य भयो ।

सम्बन्धित समाचार