डा. प्रकाश थपलिया
काठमाडौं, बैशाख २ ।
सुखद् कुरो : कोरोनाबाट ढीलो चाँडो त्राण पाउने कुरा सुनिश्चित छ । अप्रिय कुरोः सायद तपाईं हामीले सोचे जति छिटो नियन्त्रण हुने छैन । अन्तर्राष्ट्रिय समन्वयको अभावले गर्दा प्रत्येक राष्ट्रको आ–आफ्नै रणनीति र योजना हुनेछ । त्यसैले हामीले के गर्नु पर्छ भन्ने निर्णय धेरै हदसम्म भारतको रणनीति हेरेर निर्णय लिनु पर्ने हुन्छ । तर पनि नेपाल सरकार, यसका सल्लााहकार र कोरोनाको स्थिति अध्ययन गरिरहेका अधिकारीहरूले त्यो रणनीति कस्तो हुने ?, हामी कति पर्खने ?, रणनीतिले काम नगरेको खण्डमा हाम्रो विकल्प के हुने ? भनेर गम्भीर बहस र घनीभूत छलफल चलाउँन विलम्ब भई सकेको छ । नत्र हामी ठूलो स्वास्थ्य सङ्कटसँगसँगै ठूलै आर्थिक सङ्कटबाट पनि गुज्रन बाध्य हुने छौं ।
लकडाउन हाम्रो अल्पकालीन रणनीति मात्र हो, तपाईं हामीले सुन्दै आएको संक्रमणको बक्ररेखालाई सकेसम्म बङ्ग्याउँनलाई । यो दीर्घकालिक रणनीति होइन । लकडाउन धेरै लामो भयो भने यसले आर्थिक, सामाजिक र मानसिक विनाश आमन्त्रित गर्छ । परस्पर विरोधी देखिने यी दुई विचारको सन्तुलन, संक्रमणको बक्ररेखालाई पनि सकेसम्म बङ्ग्याउँने र लकडाउन पनि अन्त्य गर्ने । यो नै अहिलेको सर्वाधिक कठिन कार्य हो ।
खोप वा निको पार्ने औषधि भए ती कार्य सहज हुने थियो तर त्यो त कम्तिमा ६/१८ महिना परको कुरा हो, सफल भए पनि । हाम्रो ठूलो जनसंख्या यो सिजनमा संक्रमणबाट बँच्यो भने पनि अर्को शरद र हिउँदमा आक्रान्त हुने प्रवल सम्भावना छ । त्यसैले हाम्रो निकास पनि यसै सम्भावनालाई केन्द्रमा राखेर निर्माण गर्नु पर्दछ । यस सन्दर्भमा मेरा तीन सुझावहरू छन्–
नेपाल र भारतमा नयाँ संक्रमण एकदमै कम (सकेसम्मशून्य नजिक) नपुगुञ्जेल लकडाउन गर्ने र त्यसपछि आक्रामक रोकथाम र नियन्त्रण गर्र्ने ।
१) परीक्षण क्षमता अभिवृद्धि :
परीक्षण क्षमतामा व्यापक विस्तार गर्न जरुरी छ । नयाँ संक्रमण तुरन्तै पहिचान गरेर, तिनको सम्पर्कमा आएका सबैलाई एक्ल्याएर राख्ने प्रणालीको विकास गर्नु पर्छ ।
२) आइसोलेन कक्ष यथेष्ट र तयारी अवस्थामा राख्ने ।
३) सघन उपचार कक्षको बेड संख्या थप्ने, उपलब्ध जनशक्तिलाई तालिम दिने ।
यी तीनै तयारीलाई सँगसँगै अगाडि बढाउनु पर्छ । यो नै पूर्व तयारीको यथार्र्थ पनि हो ।
वृद्धहरू र पहिले देखिका बिरामीहरूलाई जोगाउन विशेष व्यवस्था गर्न पनि त्यत्तिकै जरुरी छ । यो सबै गर्नुको मुख्य अभिप्राय सामूहिक रोग प्रतिरोधक क्षमता (herd immunity) विकास गर्नु हो । एक पटक संक्रमण भएपछि दीर्घकालिक रोग प्रतिरोधक क्षमता विकास हुने र नहुने पूर्ण प्रमाणित नभए पनि त्यसको ठूलो सम्भावना छ । तर सोचे जस्तो परिस्थिति निर्माण नभए अर्को लकडाउन आवश्यक पर्न पनि सक्छ । यसरी कोरोना नियन्त्रित नभएसम्म हामी लकडाउन र नियन्त्रित खुलापनको विभिन्न चक्रबाट गुज्रनु पर्ने हुन सक्छ ।
चीनबाट के सिक्ने ?
उहानको लकडाउन जनवरीको २३ देखि मार्चको २३ सम्म चल्यो । ५ दिनसम्म लगातार नयाँ संक्रमण नदेखिएपछि लकडाउन केही खकुलो बनाइयो । तर पनि जनजीवन अझै सामान्य भएको छैन । परीक्षण, संक्रमितको सम्पर्कमा आएकाको अनुसन्धान र सामाजिक दूरी जारी छ । सीमाहरू पूरै बन्द छन् । हामीले चीनकै अवधिसम्म लकडाउन गर्नु नपर्ला, तर परीक्षण,संक्रमितको सम्पर्कमा आएकाको अनुसन्धान, सामाजिक दूरी र सीमा क्षेत्रको सूक्ष्म निगरानीलाई धेरै समयावधिको लागि जारी राख्नु आवश्यक छ ।
तत्कालीन रूपमा अन्तर्राष्ट्रिय समन्वय नभए पनि हामीले भारतसँग समन्वय र समझदारीका साथ काम गर्नु पर्छ । अप्रिय लाग्न सक्छ तर अनावश्यक घर बाहिर घुम्नेदेखि विदेश भ्रमण रोकिनु पर्छ । अति प्रभावित राष्ट्रबाट आउनेहरू माथि कडा नजर राखेर अनिवार्य रूपमा आइसोलेसनमा राख्ने व्यवस्था गर्न जरुरी छ भने पूजा, पर्व, मृत्युसंस्कारजस्ता धेरै मानिसहरूको जमघट हुने संस्कार र कार्यक्रमहरूमा सरकारले अनिवार्य रूपमा नियन्त्रण गर्नु जरुरी छ । तर जबसम्म नागरिकहरूमा यो नियन्त्रण आफ्नै सुरक्षाको लागि हो भन्ने भावनाको विकास गर्न सकिँदैन, तबसम्म लकडाउन वा अन्य नियन्त्रणकारी रणनीतिहरू सोचेजति प्रभावकारी नहुन सक्छन् ।
(डा. प्रकाश थपलिया अमेरिकाको वासिङ्टनस्थित The Everett Clinic Cancer Partnership and Providence Regional Medical Center Everett Washington State मा सेवारत हुनुहुन्छ । उहाँको आफ्नै पेज pthapaliya.com मा प्रकाशित कोरोनासम्बन्धी अनुभवलाई उपयोगी हुने ठानी साभार गरिएको हो ।)