डराइ डराइ लड्नुपर्ने लडाइँ

प्रायःजसो हामी युद्ध भन्ने बित्तिकै कुनै हातहतियारसहितको काटमार, लडाइँ, झगडा आदि सम्झन्छौं । हरेक युद्ध वा सङ्घर्षमा कतै सेना त कतै आम नागरिकहरू पनि सामेल भएको पाउँछौं । यसरी युद्धमा होमिएकाहरू डर, भय होइन, अदम्य शाहस र बहादुरी बोकेर हिँडेका हुन्छन् । तर अहिले जुन युद्ध विश्वमानव समुदाय लडिरहेको छ, त्यो निश्चय नै फरक खालको छ । यसमा लडाइँमा सामरिक हतियारले होइन, डर बोकेर लड्नु परेको छ ।

विश्वव्यापी महामारीको रूप लिएर फैलिरहेको कोरोना भाइरसँगको लडाइँमा हार नमाने पनि विश्वकै शक्तिशाली भनिएका मुलुकहरू पनि घुँडा टेक्न विवश छन् । कोरोना भाइरसविरूद्धको लडाइँमा सबैजसो मुलुकहरू आफ्नो सामथ्र्यले भ्याएसम्म लागिपरेका छन् तर पनि आजसम्म कोरोना भाइरसविरूद्धको औषधि पत्ता नलाग्दा दैनिक हजारौंको संख्यामा मानिसहरूको मृत्युु भइरहेको छ । अहिले हरेक सञ्चारमाध्यमहरू पनि दैनिक रूपमा मृत्युको समाचार लेख्न, सम्प्रेषण गर्न बाध्य छन् ।



लडाइँको सशक्त हतियार लकडाउन
कोरोना भाइरसको महामारविरूद्ध लड्ने एक मात्र शक्तिशाली हतियार भनेको सामाजिक दुरी कायम राख्नु हो, जलाई आत्मसात् गर्दै विश्वको जनसंख्या लकडाउनमा रहेको छ । कोरोना भाइरस महामारी विरुद्धको लडाइँमा कुनै व्यक्ति विशेषभन्दा पनि सिङ्गो मानव समुदाय नै सहभागी छ । यो ल्ऽडाइँमा हरेक व्यक्ति एक लडाकु हो, सिपाही हो । तर यो लडाइँमा सबैभन्दा अघि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहेका छन् ।

एकतर्फ त्यस्ता लडाकुहरू छन् जुन आम नागरिकहरूको जीवन रक्षाका लागि दिनरात, घरपरिवार केही नभनी फिल्डमा खटिरहेका छन् । अर्कोतर्फ त्यस्ता लडाकुहरू पनि छन् जसले घरपरिवार र समुदायको सुरक्षाका लागि घरभित्रै बस्नु परेको छ । त्यसैले अहिलेको अवस्थामा लकडाउनलाई हल्का रूपमा लिएर बहादुरी देखाउनु भनेको घरपरिवार, समुदाय, राष्ट्र र सिङ्गो विश्व मानव समुदायका लागि अप्ठ्यारो परिस्थिति सिर्जना गर्नु हो । तसर्थ आम नागरिकहरूले सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्नुको अर्को पनि विकल्प छैन ।

संक्रमित बढ्दै, लकडाउन लम्बिदै
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा मंगलबारसम्म १६ जना कोरोना संक्रमितहरू फेला परेका छन् । नेपालमा कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि चैत ११ गतेदेखि सुरु भएको लकडाउन सरकारले मंगलबार चौथोपटक दुई साताका लागि थप गरेर वैशाख १५ गतेसम्म लकडाउन जारी राख्ने घोषणा छ । तेस्रोपटकको लकडाउन चैत २५ गतेबाट बढाएर वैशाख ३ गतेसम्म लम्ब्याएको थियो ।

जो डर गया, वो बँच गया
बलिवुडका सुपर स्टार सलमानको १ मिनेट २६ सेकेण्डको भिडियो सामाजिक सञ्जाल निकै रुचाइएको थियो । उक्त भिडियोमा सलमान खानले आफू आफ्ना भाइ सोहेल खानका छोरासँग फर्म हाउसमा रहेको बेला भारतमा लकडाउन भएको र जसका कारण घर जान नपाएको बताएका थिए । लकडाउनका कारण आफूले तीन सातादेखि आफ्ना पितालाई भेट्न नसकेको पनि बताएका थिए ।

सलमान खानले आफूहरू साच्चै नै डराएका भन्दै उनले भनेका थिए ‘जो डर गया ओ मर गया’ भन्ने फिल्मी डाइलग यहाँ लागु हुँदैन । म बहादुरीका साथ भन्छु, हामी डराएका छौं । त्यसैले ‘जो डर गया सम्झो, वह मर गया’, भन्ने डाइलग यहाँ लागु हुँदैन । आजको सन्दर्भमा ‘जो डर गया सम्झो, वह बचँ गया ।’ हो, यो परिवर्तित परिभाषाले आजको यथार्थलाई आत्मसात् गरेको छ । अतः डराएर घरभित्र सीमित हुन सक्नु नै आजका लागि युद्ध जित्ने सबैभन्दा रणनीति हो ।

सम्बन्धित समाचार