व्यवहारात्मक अर्थशास्त्र र कोरोनाको सन्देश

परम्परागत अर्थशास्त्रले मानवलाई विवेकशील मान्नुका साथै उसका निर्णयहरू तर्कपूर्ण हुने मान्यता राख्दछ । यसै मान्यताका आधारमा अर्थशास्त्रका विभिन्न सिद्धान्तहरू प्रतिपादन भएका छन् । तिनको अर्थशास्त्रीय साहित्य एवम् गोलार्धका आर्थिक गतिविधिहरूमा महत्वपुर्ण स्थान छ । तर परम्परागत विवेकशील मान्यतालाई चुनौती दिँदै सन २०१७ मा अर्थशास्त्रमा नोबल पुरस्कार बिजेता व्यवहारात्मक अर्थशास्त्री प्राडा रिचार्ड थेलर र उनको समूहले मनोविज्ञान, समाजशास्त्र एवम् भावनात्मक पक्षहरूको आर्थिक निर्णयमा यथेष्ट प्रभाव हुने मान्यतालाई स्थापित गरे । जसअनुसार सूचनाको प्रस्तुति र मानसिकताअनुसार मानवका निर्णयहरू ‘बाउनडेड र्यास्नालिटी’ अर्थात् ‘परिबद्ध तर्कसंगतता’ निर्देशित अविवेकी, आवेगशील, अदूरदर्शी पनि हुने गर्दछन् । अर्थशास्त्री जोहन मेननले यस अवस्थालाई ‘पशु मनोभाव’ को रूपमा चित्रण गरेका छन् । अहिलेको सर्वब्यापी महामारी कोरोना भाइरसले विश्व आक्रान्त हुँदा पृथ्वीमा मानवको अस्तित्व माथि नै प्रश्न उठिराखेको छ । मानव आर्जित ज्ञान–विज्ञानले घुँडा टेकी पानी बाराबारको स्थिति सिर्जना भई जीवन जोगाउन संघर्ष चलिराखेको अवस्थामा स्वास्थ्यकर्मी तथा प्रहरीलाई भौतिक आक्रमण गर्नु, कालोबजारी, भ्रष्टाचार, राजनीतिक एबम् कुटनीतिक पैठोजोरी तथा अन्य अनैतिक कुकृत्यका घटनाहरू सार्वजनिक हुँदा मानवको आचरण साँच्चै ‘परिबद्ध तर्कसंगतता’ निर्देशित अविवेकी, आवेगशील, अदूरदर्शी हुने कुरा वस्तुगत प्रमाणले पुष्टि गर्दछ ।

कुनै पनि घटनाको प्रत्यक्ष साथ साथै परोक्ष प्रभाव पनि हुने गर्दछ । हाल सर्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको कारणले प्रत्यक्ष जीउ धनको हानी नोक्सानी त छँदैछ तर परोक्ष रूपमा हुने मानसिक सन्त्रासको त हिसाब किताब नै छैन । वर्तमान संकटको वस्तुगत कारण भाइरस देखिएता पनि यसको मूल कारण मानवले प्रकृतिप्रति गरेको अन्याय नै हो । आगोको आविष्कारपछि ‘संज्ञानात्मक क्रान्ति’ भई विकसित मानव आफ्ना उपलब्धिहरूले हौसियर आफू प्रकृतिको मालिक नभई सृष्टिको एउटा उपअंश भएको कुरालाई चटकै बिर्सियो र जतिसक्दो प्राकृतिक स्रोत र साधनको दोहन गरी आफ्ना तथाकथित भौतिक आवश्यकता परिपूर्ति गर्न एवम् नाफाखोरी व्यवसायतर्फ अग्रसर भइरह्यो । प्राकृतिक वातावरणको गुणस्तर खस्किनाले आधुनिक खानपान एवम् स्वास्थ्य सुविधाका बाबजुद मानवको प्रतिरक्षा प्रणाली कमजोर हुँदै गएको छ । अनावश्यक प्रतिस्पर्धा, संकुचित सोच, अहंकार, भौतिक सुख सुविधाप्रति अति लिप्साका कारणले मानव स्वयं आफ्नो शत्रु भएको छ । प्रकृति एउटा जीवन्त सत्ता हो, जसको शोषण गरेर होइन बरू सह–अस्तित्वमा नै दीर्घकालीन दिगो विकास हुनेकुरा बुझ्न अब धेरै ढिला गर्नु हुँदैन ।



वैश्विक जलवायु जोखिम सूचाङ्कको सन् २०२० को प्रतिवेदनअनुसार सन १९९९ देखि २०१८ सम्ममा जलवायु परिवर्तनका कारण सिर्जित १२,००० भन्दा बढी बाढी, पहिरो, अल्प वर्षा, मरूभूमिकरण आदि चरम मौसमी प्रकोपका कारण लगभग पाँच लाख मानिसले ज्यान गुमाउनुका साथै क्रय शक्ति समताको आधारमा लगभग ३५ खरब ४० अरब रूपैयाँ बराबरको नोक्सानी भएको छ । अन्तर्राष्ट्रिय प्रवासन संगठन (आईओएम) का अनुसार सन २००८ देखि २०१७ सम्ममा २ करोड ४६ लाख मानिसहरूले जलवायु परिवर्तन जन्य समस्याका कारण बसाई सराई गरेका छन् भने सन २०१७ मा मात्रै पनि १ करोड ८८ लाख मानिसहरू विस्थापित भएका थिए । जलवायु परिवर्तनसम्बन्धी अन्तर सरकारी संयन्त्र (आईपीसीसी) का अनुसार जलवायु परिवर्तनको क्रम नरोकिएमा सन् २०५० सम्ममा कम्तिमा बीस करोड मानिसहरू विस्थापित हुनेछन् । त्यसैले आईपीसीसीले सन २०३० सम्ममा कार्बन उत्सर्जन ४५ प्रतिसतले कम गर्न र सन् २०५० सम्ममा ‘शून्य कार्बन’ उत्सर्जनको यात्रातय गर्नु पर्नेतर्फ इङ्गित गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रति वर्ष लगभग ४२ लाख मानिसहरूले वातावरण प्रदूषणका कारण सिर्जना हुने स्वास्थ्य समस्याले ज्यान गुमाउछन् । यी तथ्यहरूले अन्धाधुन्ध विकासका नाममा हामीले गरेको विनासतर्फ सङ्केत गर्दछ ।

तस्विरमा लेखक ।

लकडाउनका कारण मानव घरभित्रै कुण्ठिएर बस्नु परेतापनि प्रकृतिमा यसको निकै सकारात्मक प्रभाव परेका संकेतहरू देखिएका खबरहरू विश्वभरिबाट आएका छन् । जलवायु विज्ञहरूको मतअनुसार चीनमा मात्रै करिब पचास हजार मानिसहरूको ज्यान मौसममा भएको सुधारका कारण जोगिएको छ, जुन कोरोना भाइरसका कारण चीनमा भएको मृत्यु भन्दा निकै धेरै हो । यसको अर्थ के हामी ढुङ्गे युगतर्फ जानु पर्दछ त ? अवश्य होइन, र त्यो सम्भव पनि छैन । तर हामीले कोरानाको संदेशलाई राम्रोसँग मनन् गरी आगामी दिनको यात्रा तय गर्नु पर्दछ अन्यथा आउने दिनहरूमा अहिलेभन्दा निकै विकराल परिस्थितिबाट मानव गुज्रनु पर्ने छ, जसले उसको अस्तित्वलाई नै चुनौती दिनेछ ।

उत्पादन, वितरण एवम् उपभोग प्रणालीमा संरचनागत सुधार, वातावरण मैत्री प्रविधिको विकास, समानुपातिक एवम् सहभागितामूलक विकास, प्रचलित प्रविधिको समुचित प्रयोग तथा वातावरणीय प्रभावको न्यूनीकरण, वन जंगल एवम् प्राकृतिक सम्पदाको संरक्षण, व्यवस्तित शहरीकरण तथा यथेष्ट वृक्षारोपण आदिको माध्यमबाट प्राकृतिक वातावरणमा भएको क्षतिलाई न्युनीकरण गर्नु नै अहिलेको महामारीको दीर्घकालीन रोकथामको उपयुक्त उपाय हुन् सक्दछन् ।

यस निमित्त मानवको आचरण, व्यवहार, खानपान एवम् जीवन शैलीमा आमुल परिवर्तन गर्नु पर्ने आवश्यकता छ । यस प्रकारका परिवर्तनका निम्ति व्यवहारात्मक अर्थशास्त्रीहरूले केन्द्रीय अवधारणाको रूपमा ‘नज सिद्धान्त’ अघि सारेका छन् । यो अवधारणाले मूलतः रिचार्ड थेलरले नोबल पुरस्कार प्राप्त गरेपछि विश्वव्यापी प्रसिद्धि पायो यपि प्रयोग निकै अघि देखि हँुदै आएको थियो । अंग्रेजी शब्द ‘नज’ को शाब्दिक अर्थ हल्का धक्का दिनु भने बुझिन्छ, जसको तात्पर्य वैयक्तिक स्वतन्त्रता हनन् नहुनेगरी मानिसको निर्णय वा आचरणलाई सकारात्मक निर्णय लिन उत्प्रेरित गर्नु भन्ने हुन्छ । यसको सफल प्रयोग वस्तु तथा सेवाको बजारीकरण एबम् सार्वजनिक नीतिमा देख्न सकिन्छ ।

विभिन्न मुलुकका सरकारहरूले ‘नज’ अव–धारणा सामाजिक परिवर्तनका निम्ति पनि प्रयोग गरेको पाइन्छ । भारत सरकारले अगाडि सारेको बेटी बचाओ बेटी पढ़ाओ, स्वच्छ भारत, जन–धन योजनाहरू नजको सफल प्रयोगको रूपमा लिन सकिन्छ । प्रायः सूचनाको प्रस्तुति एवम् वस्तुगत परिस्थितिको सामान्य फेर बदलद्वारा मानिसको निर्णयलाई प्रभावित पार्न सकिने व्यवहारात्मक अर्थशास्त्रीहरूको निष्कर्ष रहेको छ । अहिलेको समस्या पनि वैश्विक भएको हुँदा सरकारहरू, गैर–सरकारी संस्थाहरू, राजनीतिक दलहरूले मानवको आचरणमा परिवर्तनका निम्ति ‘नज’ जस्तै अवधारणाहरूको प्रयोग गरी सकारात्मक पहल गर्दै पृथ्वीमा दिगो विकासको द्वार उघार्न सक्दछन् ।
उप–प्राध्यापक, त्रिवि कीतिपुर ।

 

 

सम्बन्धित समाचार