प्रायःजसो चहलपहल हुने कालीमाटी तरकारी बजार दुई सातादेखि बन्द रहेको छ । कोरोना भाइरसको जोखिम कम गर्न काठमाडौँ महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा कालीमाटी तरकारी बजारमा तरकारी तथा फलफूल बिक्री वितरण बन्द गरिएको थियो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले उपभोक्ताको माग तथा भिडभाड कम गर्न केही दिनदेखि विभिन्न पार्टी प्यालेसलाई प्रयोग गरेर तरकारी बिक्री वितरण गरिरहेको जानकारी दिए ।
उनले भने, ‘हामीले पार्टी प्यालेसमा तरकारी बिक्री वितरण सुरु गरेका होइनौँ । पार्टी प्यालेसको अगाडिको खाली भागलाई प्रयोग गरेका हौँ ।’ उनले काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कालिमाटी फलफूल तथा तरकारी बजार, बल्खु तरकारी बजारसहित विभिन्न पार्टी प्यालेस सञ्चालकसँगको छलफलपछि पार्टी प्यालेसको ठाउँ प्रयोग गरेर बिक्री गर्न लागेको बताए ।
‘तरकारी बिक्री वितरणका लागि हामीले खुल्ला ठाउँ खोजिरहेका थियौँ’, उनले भने, ‘स्थानीय प्रशासनले विभिन्न ठाउँ तोकेको पनि थियो तर त्यहाँ विक्री गर्न असहज भएपछि पार्टी प्यालेस व्यवसायीहरुसँग कुरा गरेर तरकारी बिक्री वितरण गर्न थाल्यौँ ।’
महानगरपालिकाले कालीमाटी तरकारी बजार बाहेकका विभिन्न ११ स्थानमा अस्थायी तरकारी बजार संचालन गरेको थियो । उक्त स्थानमा तरकारी बिक्री वितरण गर्न असहज भएपछि केही व्यापारीहरुले तरकारी बिक्री गर्न बन्द गरेका र कोही कालीमाटी बजार नै फर्किएको उनले बताए ।
‘महानगरले तोकेको ती स्थानहरुमा व्यापारीहरुलाई विभिन्न समस्या भयो । व्यापारीले एक छिन बसेर तरकारी बेच्ने होइन । समय लाग्छ । उनीहरुलाई बिजुली चाहियो, शौचालय जानु पर्यो । त्यसका लागि पार्टी प्यालेस उपयुक्त हुने भएकाले पार्टी प्यालेस रोजेका हो’, उनले भने ।
श्रेष्ठले कालीमाटी तरकारी तथा फलफूल बजारका व्यापारीहरुले कालीमाटी, बाफल,स्वयम्भू चोक, वनस्थली, वसुन्धरा, गोपिकृष्ण हलनजिकैका पार्टी प्यालेसमा तरकारी बिक्री गर्ने गरेको र बल्खुका तरकारी व्यापारीले कोटेश्वर, रत्नपार्क, लैनचौर, तीनकुने क्षेत्रमा रहेका पार्टी प्यालेसमा बिक्री गरिरहेको बताए ।