एक्कासी ५३ पत्रकारमा देखियो कोरोना संक्रमण, सतर्कता अपनाउन आग्रह

संसारका सबै मिडिया कोरोनामय छ। मुलधारका मिडियादेखि सामाजिक सञ्जालसमेत यसकै रङमा रङ्गिएको छ। हरेक पल मृत्युका खबर र कोभिड १९ को संक्रमणको संख्या अपडेट भइरहेको छ। त्यसैले लकडाउन छ, मानिसहरुलाई बचाउन।

चिकित्सक, प्रहरी र अत्यावश्यक सामान ढुवानी गर्ने कर्मचारीहरु सडकमा देखिन्छन्। उनीहरु जस्तै महामारीकै बीचमा सडकमा खटिरहेका छन् पत्रकारहरु पनि। कति घरबाटै समाचार पस्कदैछन् त कति फिल्ड मै ।



संकटको बेलामा मास्ककै भरमा फिल्डमा पत्रकारलाई देख्दा धेरैको प्रश्न हुन्छ, ‘के पत्रकारहरुलाई कोरोना लाग्दैन?’

उत्तर त सबैलाई थाहा छ । कोरोनाले कुनै जात, पेशा, धर्म र पैसा चिन्दैन। पत्रकार पनि भाइरसको कहरबाट अछुतो छैन । विश्वभर सयौं पत्रकारहरु कोरोनाको संक्रमणबाट जुधिरहेका छन्। कतिजनाले घरबाट नै टेलिभिजनका समाचार पढिरहेका छन् । यता, सोमवारमात्रै भारतको मुम्बईमा ५० भन्दा बढी पत्रकारमा कोरोना भाइरसको संक्रमण देखिएको खबर सार्वजनिक भयो । सम्भवत एकै दिन धेरै पत्रकारमा संक्रमण देखिएको यो पहिलो घटना हो ।

भारतमा लकडाउन लागू भएको एक महिना पुग्न लाग्यो । यसबीच त्यहाँका धेरैजसो मिडियाका पत्रकार फिल्डमै खटिएका थिए । संचार संस्थाले पत्रकारहरुका लागि मास्क, ग्लोभ्स, स्यानिटाइजरदेखि प्रोटेक्टिभ सुटको समेत व्यवस्था गरेका थिए । तर, मुम्बईको ब्रिहनमुम्बईमा गरिएको परीक्षणमा ५३ पत्रकारमा कोरोना संक्रमण देखिएसँगै पत्रकारिता क्षेत्र नै तरंगित भएको छ ।

फिल्ड रिपोर्टिङमा हिँडेका १ सय ७० भन्दा बढी पत्रकारहरुको परीक्षण गरिएकोमा ५३ जनामा कोभिड १९ पोजिटिभ देखिएको हो । उनीहरु सबैलाई हाल आइसोलेसनमा राखिएको छ । परीक्षण गरिएकाहरुमा रिपोर्टरदेखि,फोटो पत्रकार, भिडियो जर्नालिस्ट छन्। परीक्षण गर्दासम्म उनीहरु कसैमा पनि भाइरसको कुनै लक्षण देखिएको थिएन ।

पत्रकारहरुलाई संक्रमण देखिएसँगै उनीहरु हिस्ट्री ट्रेसिङ गर्ने काम सुरु भइसकेको छ । संक्रमित हुनेमा विभिन्न संचार माध्यमका पत्रकार रहेकाले संचार क्षेत्रमा केही दिन यसले नकारात्मक असर पार्न सक्ने विश्लेषण गरिएको छ ।

हुन त यसअघि पनि भारतीय पत्रकारहरुमा भाइरसको संक्रमण देखिएको थियो । त्यसयता स्वयम् पत्रकार र संचार माध्यमले समेत सतर्कता अपनाएका थिए। भाइरसको संक्रमण पनि बढ्दै गएको अवस्थामा रिपोर्टिङका क्रममा धेरै स्थानमा जानुपर्ने हुन्छ पत्रकारलाई । त्यसैक्रममा उनीहरुमा संक्रमण देखिएको हुन सक्ने अनुमान गरिएको छ ।

यसरी फिल्डमा खटिएका पत्रकारहरुमा भाइरसको संक्रमण देखिएसँगै संचार माध्यम र स्वयम् पत्रकारहरुलाई थप सतर्कता अपनाउन राज्य र केन्द्र सरकारले आग्रह गरेको छ । भारतमा मात्रै १८ हजारभन्दा बढीमा भाइरसको संक्रमण देखिएको छ । ५ सय ५० भन्दा को संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार