ओलीलाई सरकारबाट फिर्ता बोलाउने तयारी, अविश्वास प्रस्ताव ल्याउनुस्, राजीनामा त दिन्नः प्रधानमन्त्री

विवादास्पद २ अध्यादेशमा बलमिच्याइँ गरेका प्रधानमन्त्री केपी ओलीले सोही प्रकरणलाई लिएर सरकारबाट हात धुनुपर्ने स्थिति आएको छ । रातारात अध्यादेश पारित गराएका ओलीले पार्टीभित्र र बाहिरबाट चर्को दवाव आएपछि अध्यादेश त फिर्ता लिएका छन्, तर उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनी इत्तरका नेताहरूले बताउँदै आएका छन् । शनिबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले ओलीलाई भेटेरै स्थायी कमिटिको बैठक तत्काल बोलाउन दवाव दिए । स्थायी कमिटिका अधिकांश नेताहरू ओलीलाई सरकारबाट फिर्ता बोलाउन एकमत भएको स्रोतको दाबी छ ।

शनिबारको भेटमा उपाध्यक्ष गौतम निकै कडा रूपमा ओलीसामु प्रस्तुत भएको वालुवाटार स्रोतले जनाएको छ । गौतमले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिएर बालकोट गएर आराम गरेर बस्न ओलीलाई सुझाव दिएका थिए । ‘तपाईंले राजीनामा दिएपछि पार्टीले विधिसम्मत निर्णय गर्छ  । तर, सरकारलाई असफल र पार्टीलाई बदनाम बनाएर तपाईं बसिरहन मिल्दैन । अब हामीलाई धेरै नधम्क्याउनुस्, बरू तपाईं लामो समयदेखिको साथी हो, तपाईंकै भलाइको लागि राम्रो सुझाब दिएको हुँ’, गौतमको भनाई उदृत गर्दै स्रोतले भन्यो ।



जवाफमा ओलीले स्थायी कमिटिको बैठक बोलाउन सहमति जनाए पनि राजीनामा नदिने बताएका थिए । गत फागुनदेखि नै सरकार ढाल्ने षडयन्त्र भएको आफूलाई पनि थाहा भएको प्रधानमन्त्रीको भनाइ थियो । शनिबारको भेटमा रक्षात्मक देखिएका ओलीले पार्टीकै मागअनुसार अध्यादेश फिर्ता लिएकोले यो विषयलाई अरू नचर्काउन अनुरोध गरेका थिए । ‘तपाईंहरूको मागअनुसार अध्यादेश फिर्ता भइसकेको छ । मलाई हटाएर कसलाई ल्याउन खोज्नुभएको छ ? म राजीनामा दिन्नँ । बरू, तपाईंहरू अविश्वासको प्रस्ताव ल्याउनुस्, सामना गर्छु’, भेटमा ओलीले भने ।

मेरोविरूद्ध जानेको हिसाबकिताब राख्छु; ओली
शनिबार सबै नेताहरूसँगको भेटमा ओलीले सरकार ढाल्ने योजना नबनाउन अनुरोध गरेका थिए । स्थायी कमिटि बैठकबाटै आफूलाई सरकारबाट फिर्ता बोलाउने योजना बनेको थाहा पाएका ओलीले सुरूमा सबै नेताहरूलाई फकाउने प्रयास गरेका थिए । अहिले स्थायी कमिटि बैठक बोलाउने स्थिति नभएको भन्दै अध्यादेशको विषय अरू नचर्काउन अनुरोध गरेका थिए । तर आफूइत्तरका सबै नेताहरूले स्थायी कमिटी बैठक बोलाउन दवाव दिएपछि ओलीले घुर्की लगाउन सुरू गरेका थिए । साथै उनले धम्कीको भाषामा सबैको हिसाबकिताब राख्ने बताएका थिए ।

राजीनामा देला भन्ने नसोच्नुस् कम्रेडहरू, सरकारबाट हटउने नै हो भने अविश्वासको प्रस्ताव ल्याउनुहोस्; सामना गरौंला । को–कसले मेरोविरूद्ध मतदान गर्छन्, तिनका नाम पनि छातीमा राख्छु  । तर, अन्तिम घडीसम्म डटिरहन्छु, ओलीको भनाई थियो । फागुनदेखि पार्टीभित्रैबाट सरकार ढाल्ने योजना बनेको आरोप पनि ओलीले लगाएका थिए ।

भैंसेपार्टीमा बन्यो ओलीलाई फिर्ता बोलाउने निर्णय
वामदेव निवास भैंसेपार्टीमा गत शुक्रबार बसेको ओली इत्तरका नेताहरूको बैठकले ओली सरकारमा रहिरहँदा नेकपा थप अलोकप्रिय बन्ने भएकोले उनको विकल्प खोज्ने सहमति भएको स्रोतको दाबी छ । बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरू स्थायी समिति बैठक बोलाउन दवाव दिने र सोही बैठकबाट ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गराउन सहमत भएको बताइन्छ ।

लामो समय ओली निकट रहेका महासचिव पौडेल पनि अध्यादेश ल्याउदा आफूसँग कुनै सल्लाहा नै नगरेको भन्दै ओलीसँग रूष्ट हुन पुगेका छन् । स्थायी कमिटिका अधिकांश सदस्य ओलीलाई फिर्ता बोलाउन सहमत भएकोले ओली भने स्थायी कमिटि बैठक नै नबोलाएर अप्ठ्यारोमा पार्ने रणनीतिमा रहेको स्रोतको दाबी छ ।

सबै कमिटीमा अल्पमतमा ओली
पछिल्लो राजनीतिक घटनाक्रमले नेता नेपाल र महासचिव पौडेलले पनि ओलीको साथ छोेडेपछि नेकपाको सबै कमिटिमा ओली अल्पमतमा परेका छन् । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको गठबन्धन बनेकोले प्रधानमन्त्री ओली पार्टी कमिटीमा मात्र नभएर संसदीय दलमा समेत अल्पमतमा पर्ने अवस्था छ । नौ सदस्यीय सचिवालयमा ६ नेता ओलीप्रति असन्तुष्ट छन्  । हाल गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेल मात्रै ओलीको पक्षमा देखिएका छन् ।

स्थायी समितिमा पनि ३२ नेता ओलीको विपक्षमा रहेका छन् । केवल १२ जना मात्र ओलीको पक्षमा देखिएका छन्  । यता ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा तीन सय १० केन्द्रीय सदस्य ओलीको विपक्षमा रहेका छन्  । यसरी केन्द्रीय कमिटीमा ओलीको विपक्षमा दुईतिहाइ सदस्य हुनेछन् । यसकारण पनि ओली इत्तरका शक्तिहरूलाई सरकार ढाल्न, राजनीतिक, प्रविधिक र नैतिक धरातल तयार भएकोले ओली सरकारको दिन समाप्त भएको राजनीतिक वृत्तमा चर्चा छ ।

सम्बन्धित समाचार