नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिमा उतारचढावको संकेत देखापरेको छ । स्थायी समितिको बैठक बोलाउन माग गर्दै २० नेताहरूको हस्ताक्षर बुझाएपछि ओली नैतिक संकटमा परेका छन् । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरूले स्थायी कमिटी बैठकको माग गरेका हुन् । ओली इत्तरका नेताहरू स्थायी कमिटी बैठकद्वारा ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गर्ने निष्कर्षमा पुगेपछि ओली स्थाई कमिटी बैठक नै नबोलाउने निष्कर्षमा पुगेका छन् ।
प्रधानमन्त्री ओलीले पार्टीमा छलफलै नगरी २ अध्यादेश जारी गरेपछि नेकपामा ओलीलाई लिएर विभिन्न शंका उपशंका उत्पन्न भएको छ । चौतर्फी विरोधपछि ओलीले पार्टी फुटाउन सहज बनाइएको भनिएको अध्यादेश फिर्ता त लिएका छन् तर नेकपाका उनी इत्तरका नेताहरूले उनले पदबाट पनि राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् । पछिल्लो समय विकसित राजनीतिक उतारचढावको समाधान खोज्न नेकपाका नेताहरू आ–आफ्नो गुटका नेताहरूसँग परामर्श लिइरहेका छन् ।
शनिबार ओली समूहका नेताहरू बालुवाटारमा छलफलमा जुट्दा नेपाल समूहका नेताहरू कोटेश्वरमा छलफलमा जुटेका थिए । बालुवाटारमा सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाल, शंकर पोखरेल लगायतका नेताहरूको जमघट भएको थियो भने कोटेश्वरमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी समिति सदस्यहरूको जमघट भएको थियोे । वरिष्ठ नेता नेपालको कोटेश्वरस्थित निवासमा आठजनाभन्दा बढी नेपाल पक्षीय स्थायी समिति सदस्यहरू पुगेको स्रोतको दाबी छ ।
गत बुधबार पार्टी उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा ओली इत्तरका नेताहरूको बैठकमा स्थायी समिति बैठक माग गर्दै नेपाल पक्षका २० जना स्थायी समिति सदस्यले हस्ताक्षर बुझाएका थिए । जसमा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण विष्ट, बेदुराम भुषाल, भीमप्रसाद आचार्य, भीम रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त र सुरेन्द्र पाण्डे रहेकाछन् । त्यसैगरी चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडल, पम्फा भुषाल, मणि थापा, मात्रिका यादव, लीलामणि पोखरेल र हरिबोल गजुरेल छन् । नेकपाको विधानमा जुनसुकै कमिटीमा पनि एक तिहाई सदस्यले बैठकको माग गरे बोलाउनुपर्ने व्यवस्था छ ।
ओली विधानविपरीत अगाडि बढ्ने खोजेपछि प्रचण्ड, नेपाल, खनाल र गौतमले चर्को विरोध गरिरहेका छन् । उनीहरूले शनिबार ओलीलाई भेटेरै बैठक बोलाउन आग्रह गरेका थिए । शनिबारको भेटमा उपाध्यक्ष गौतमले ओलीलाई सरकार र पार्टीबाट राजीनामा दिएर आराम गर्न सुझाव दिएका थिए । पार्टीका सबै कमिटीमा अल्पमतमा परेका ओलीलाई प्रभानमन्त्री पद जोगाउन हम्म हम्मे परेको छ ।
ओलीले राजीनामा नदिने भन्दै अविश्वासको प्रस्ताव ल्याउन धम्की दिएपछि कतै ओली सरकार जोगाउने नाममा मध्यावधि निर्वाचनको घोषणा गर्ने पो हुन् कि भन्ने आशंका पनि पैदा भएको छ ।