नेकपालाई संस्थागत ढंगले सञ्चालन गर्न प्रधानमन्त्रीलाई दवाव दिन्छौं : देवेन्द्र पौडेल स्थायी कमिटी सदस्य, नेकपा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले आत्माआलोचना गरेपछि विवाद समाधान भएको भनिएको छ । पार्टीभित्रको पछिल्लो विवाद र शीर्ष तहमा भएका भनिएमा विभिन्न सहमति र समाझधारीलाई नेकपाभित्रकै नेताहरूले कुन रूपमा लिएका होलान् ? वैशाख २५ गतेलाई बोलाईएको स्थायी कमिटि बैठकमा के कस्ता विषयले प्रवेश पाउछन् र शीर्ष नेताहरूप्रति नेता कार्यकर्ताको बुझाइ के कस्तो छ भन्ने लगायतका विषयमा नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलसँग नवकान्तिपुर डटकमले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

नेकपाभित्रको विवाद समाधान भएको हो ?
सिङ्गो विश्व कोरोना भाइरससँग लडिरहेको बेला नेपालमा प्रधानमन्त्री केपी ओलीले एकाएक २ अध्यादेश ल्याउनुभयो । कोरोनाविरुद्ध एकजुट हुनुपर्ने बेलामा राजनीतिक खिचातानीको प्रसंग प्रवेश गरोस् भन्ने कसैको पनि चाहना थिएन । तर पनि अध्यादेश आयो । अध्यादेश फिर्ता भएपनि त्यसको प्रभाव सकिएको छैन । त्यसलाई पार्टीभित्र र बाहिर पनि विरोध भयो । अध्यादेशभित्र अन्तर्निहित कुराहरू के के थिए भन्ने विषय खाेतल्ने क्रममा नेकपामा एक हप्तासम्म विवाद भयो । प्रधानमन्त्रीले आत्माआलोचना गरिसकेपछि पछिल्लो विवाद समाधान भएको छ ।



भनेपछि नेकपाका नेताहरूले जे जस्ता गल्ती गरे पनि आत्माआलोचना गरेपछि क्षमा हुने रहेछ, होइन ?
केही नभए पनि गल्ती गरिसकेपछि आत्माआलोचित हुनु राम्रै संकेत हो । पार्टी कसैको निजी पेवा जस्तो नबनोस्, पार्टी संस्थागत ढंगले अगाडि बढोस्, सरकारका महत्वपूर्ण कदमबारे पार्टीभित्र छलफल होस् भन्ने हाम्रो चाहना हो । संविधान संशोधनजस्तो विषय पार्टीभित्र छलफल नगरी अगाडि बढाउने परिस्थिति कसरी आयो ? यी विषयमा शीर्ष नेताहरूले मन माझ्न आवश्यक थियो । पछिल्लो विवादले शीर्ष नेताहरूको मन माझ्ने काम गरेको छ ।

पार्टी विवादित हुँदै जाँदा पार्टी फुट्नेसम्मका अड्कल काटिएको थियो । तर एकाएक ओलीइत्तर भनिएका शक्तिहरू पछि हटेको जस्तो देखियो नि ?
हामीले विवाद बढ्दै जाँदा स्थायी कमिटी बैठक बोलाउँ भनेका थियौं । राजनीतिक विचार र दृष्टिकोणको आधारमा विषयको विश्लेषण गर्नेभन्दा आफ्नो पद कसरी जोगाउन सकिन्छ भन्ने खालका नहुनुपर्ने खालका कुराहरू दृश्यमा आए । पार्टीभित्र वादविवाद, गुट उपगुट, बहुमत अल्पमत हुन्छ । बहुमत हुनासाथ अर्कोलाई पेल्ने, पदबाट निकाल्ने र अल्पमत हुनेवित्तिकै पार्टी फुट्ने भन्ने हुँदैन । आफ्ना विचार सशक्त रूपमा कमिटीमा राख्ने र कमिटीले गरेका निर्णयलाई कार्यन्वयन गर्ने वा पालना गर्ने प्रक्रियाभन्दा आफ्नो पद र पोजिसनका निम्ति हरहिसाब गर्दै हिड्ने प्रवृत्ति सान्दर्भिक छैनन् ।

दुबैपक्ष हस्ताक्षेर प्रक्रियामा गइसकेको अबस्थामा पनि प्रधानमन्त्री ओलीले विवाद समाधान गर्नुभयो । जस्तोसुकै विवाद र अफ्यारो परिस्थितिको पनि समाधान निकाल्न सक्ने खुवि प्रधानमन्त्रीमा देखियो है ?
हस्ताक्षर जुन पक्षले जे उद्देश्यका साथ गरेपनि राम्रो होइन । यद्दपि स्थायी समितिको बैठक बोलाउनु पर्छ भनेर मैले पनि हस्ताक्षर गरें । त्यो पार्टी कमिटिको बैठकको लागि गरेका थियौं हामीहरूले । कसैले पनि अपमानित रूपमा प्रधानन्त्रीलाई पदबाट निकाल्ने सोच या योजना बनाएका थिएनन् । यस्तो अवस्थामा प्रधानमन्त्रीको कार्यलयकै अगुवाइमा हस्ताक्षर भएको भन्ने मैले पनि सुनें, जुन मलाई राम्रो लागेन । घटना र विवाद जुन तहमा भए पनि प्रधानमन्त्रीले गल्ती स्वीकार्नु भएको छ । आत्माओलोचित हुनुभएको छ । अब विधि र प्रक्रियाबाट अगाडि बढ्छु भन्नुभएको छ । त्यो सकारात्मक छ । विवाद समाधानको कुरा गर्दै गर्दा अब उहाँको यात्रा कसरी अगाडि बढ्छ भन्ने कुराले निर्धारण गर्दछ ।

वामदेव गौतमलाई उचित समयमा प्रधानमन्त्री बनाउने भनिएको छ । पार्टीको यो निर्णयलाई तपाईले कसरी हेर्नुभएको छ ?
वामदेवजीलाई दुःख नलागेस्, मलाई पार्टीको यो निर्णय चित्त बुझेको छैन । हामीले मूल्यको राजनीति गर्ने हो कि यस्तै केही गर्ने हो ? जतिबेला नेकपामा बहस हुन्छ वामदेवजीकै नाम आउँछ । यसले वामदेवको त्याग र योगदानमाथि खेलठट्टा भएको छ । वहाँलाई पार्टीको नेताको रूपमा हामीले मानेका छौं, संगठन विभागको अध्यक्ष पनि हुनुहुन्छ । पार्टीको उपाध्यक्ष पनि हुनुहुन्छ । निर्वाचनमा हारिसकेकोले वहाँले प्रधानमन्त्री भन्दा पनि पार्टी अध्यक्षको दाबी गर्दा सुहाउने थियो । प्रधानमन्त्री हुन त संविधानले पनि दिंदैन ।

यो वा त्यो वाहनामा नेकपामा टुटफुट आउने सम्भावना कत्तिको देख्नुहुन्छ ?
पार्टीका ९९ प्रतिशत नेता तथा कार्यकर्ता पार्टी एकताको पक्षमा छन् । टुटफुट आउन दिनु हुँदैन भन्ने पक्षमा छन् । कार्यकर्ताहरूकै चाहना र नेताहरूको पहलमा नै हिजो पार्टी एकता भएको हो । एकताको पक्षमा जनता र कार्यकर्ताको खबरदारीले पनि शीर्ष नेताहरूले पार्टी फुटाउने कल्पना गर्न सक्नुहुन्न भन्ने मेरो बुझाइ हो ।

नेकपालाई फुट्नबाट बचाउन दक्षिणको हात छ भनी भन्ने चर्चा छ नि ?
सिङ्गो विश्व कोरोनाको प्रकोपसँग लडिरहेको बेला नेपालमा राजनीतिक संघर्ष नहोस् भन्ने सदाशय कुनै छिमेकीबाट आउछ भने त्यसमा कुनै आपत्ति छैन । तर कहीं कतैबाट निर्देशन आएको छ भने त्यो स्वीकार्य हुँदैन । तर पनि नेकपा कुनै अन्तर्राष्ट्रिय शक्तिले चाहेर जुटेको पनि होइन र कसैले चाहँदैमा फुट्छ भन्ने लाग्दैन ।

अन्ततः वैशाख २५ गतेलाई स्थायी समितिको बैठक बोलाइएको छ । बैठकमा तपाईहरूले के विषय राख्नुहुन्छ ?
हामीहरूले पहिला त यी भएगरेका विवादहरू केका लागि हो भनेर सोध्छौं । पार्टीलाई संस्थागत ढंगले सञ्चालन गर्न दवाव दिन्छौं । कमसेकम पार्टी सचिवालय सदस्यहरूसँग पार्टी र सरकारका गतिविधि वा निर्णयमा छलफल गर्ने वातावरण बनोस् भन्ने हाम्रो चाहना हो ।

मन्त्रीपरिषद् पुनर्गठन र मुख्यमन्त्रीसम्म फेर्ने सहमति भएको चर्चा छ । पार्टीमा विवादको विषय पद पनि रहेछ होइन ?
सचिवालयले यस्तो निर्णय गरेको त छैन । सायद प्रस्तावहरू आए होला । छलफल भयो । हो, छलफलको क्रममा पार्टीभित्र कार्यविभाजनका कुराहरू भएका हुन् । पार्टीभित्र त्याग र बलिदानका हिसाबले कार्यविभाजनको मागलाई स्वाभाविक रूपमा लिनुपर्दछ ।

सम्बन्धित समाचार