लामखुट्टेलाई मलेरियाबाट जोगाउन सकिने जीवाणु पत्ता लगाउन वैज्ञानिकहरु सफल

लामखुट्टेलाई मलेरियाबाट जोगाउन सकिने जीवाणु पत्ता लगाउन वैज्ञानिकहरु सफल भएका छन् । लामखुट्टेलाई मलेरिया गराउने प्लाज्मोडियम परजीविबाट पूर्ण रुपमा जोगाउन सकिने जीवाणु पत्ता लागेको वैज्ञानिकले बताएका हुन् ।

केन्या र बेलायतका वैज्ञानिकको समूहले यो उपलब्धीले मानिसमा मलेरियाको संक्रमण रोक्ने पक्षमा अति ठूलो सम्भावना प्रसस्त गरेको बताएको छ । प्लाज्मोडियम परजीविबाट संक्रमित भएको लामखुट्टेको टोकाइबाट मानिसमा मलेरिया सर्छ । यसले गर्दा लामखुट्टेलाई नै मलेरियाबाट जोगाउँदा मानिससम्म सो रोग आउन नसक्ने वैज्ञानिकको भनाई छ।



वैज्ञानिकहरुले अहिले संक्रमित लामखुट्टे जंगलमा छोड्ने वा रोग नियन्त्रणमा लिनका लागि जीवाणुको बिस्तार गर्ने भन्ने बारे अनुसन्धान गरिरहेका छन् । सो जीवाणु किटाणूहरुको मलद्वार तथा गुप्ताङ्गमा पाइन्छ ।

वैज्ञानिकहरुले माइक्रोस्पोरिडिया एमबी नामको मलेरिया–ब्लकिङ्ग बग विकास गरेका हुन् । केन्याको भिक्टोरिया तालको किनारमा रहेका लामखुट्टेको अध्ययन गरेर उनीहरुले सो जीवाणुको विकास गरेका हुन् ।

माइक्रोस्पोरिडिया एमबी जीवाणु युक्त कुनै पनि लामखुट्टेमा मलेरिया गराउने प्लाज्मोडियम परजीविले आश्रय लिन नपाएको वैज्ञानिकले बताएका छन् । नेचर कम्युनिकेशन जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा जीवाणुले लामखुट्टेलाई मलेरिया गराउने परजीविबाट जोगाएको उल्लेख छ ।

नयाँ जीवाणु लामखुट्टेका लागि फाइदाजनक हुने देखिएको र यो झण्डै पाँच प्रतिशत किटाणुमा प्राकृतिक रुपमा पाइने प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धानमा संलग्न केन्याको इन्टरनेशनल सेन्टर अफ इसेक्ट फिजियोलोजी एण्ड इकोलोजी (आइसिआइपिइ) का डा. जेरोमी हरेनले भनेका छन्, ‘अहिलेसम्मको तथ्यांक अनुसार सो जीवाणुले लामखुट्टेलाई मलेरिया गराउने परजीविबाट सतप्रतिशत जोगाएको देखिएको छ ।’

मलेरियाका कारण विश्वभर हरेक वर्ष चार लाख भन्दा बढी मानिसको ज्यान जान्छ, त्यसमा अधिकांश पाँच वर्षमुनिका बालबालिका रहने गरेका छन् । मलेरियाबाट जोगिन प्लाज्मोडियम परजीवि युक्त लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम विकल्प हो।

त्यसका लागि झुलको प्रयोग गर्नेसहितका उपायहरु प्रभावकारी भएका छन् । तर पनि अझै मलेरिया नियन्त्रणमा आउन नसकेकाले यसको नियन्त्रणका लागि नयाँ उपायको खोजी हुँदै आएको छ ।

सम्बन्धित समाचार