राजु लामिछाने
काठमाडौं, २५ बैशाख ।
विवादास्पद अध्यादेश प्रकरणपछि पार्टीभित्र एक्लिएका प्रधानमन्त्री केपी ओलीले सचिवालयमा बहुमत पुर्याउन पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए । ओलीको आश्वासनमा बहकिएर गौतम नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालले नेतृत्व गरिरहेको ओलीइत्तरका नेताहरूको गठबन्धनबाट बाहिरिएका थिए । गौतमको साथ पाएपछि सचिवालयमा बहुमत सदस्यको मत पाएका ओलीले बैठकमा आत्मालोचना गर्दै पार्टीलाई विधानसम्मत चलाउने र असन्तुष्टहरूको आवाज पनि सुन्ने भनेपछि प्रचण्ड-नेपाल गठबन्धन ओलीप्रति नरम भएको थियो ।
चरम विवादमा फसेको पार्टी एकाएक शीर्ष नेताहरूबीच सकारात्मक छलफलको बातावरण बन्यो । ओलीसँग वामदेव मात्र नभएर प्रचण्ड पनि नजिक भए । नेता नेपालले भने २ अध्यक्षबीच आन्तरिक लेनदेनको आशंका गर्दै दुई अध्यक्षबीचको चोचोमोचो स्वीकार्य नहुने भन्दै असन्तुष्टहरूको माग संबोधन गर्न र पार्टीभित्र एक व्याक्ति एक पदको कार्यान्वयन हुनुपर्ने दवाव दिइनै रहे । गौतम आफ्नो कित्तामा आएपछि र प्रचण्ड पनि आफूप्रति नरम भएपछि राहातको सास फेरेका ओली हप्ता दिन नबित्दै फेरि पुरानै स्थानमा आएका छन् र मिलिसकेको नेकपाको राजनीतिक वातावरण एकाएक बिथोलिएको छ । फलस्वरूप बुधबारको सचिवालय बैठकमा विवाद चर्किदै गएपछि प्रधानमन्त्री ओली बैठकको बीचमै उठेर हिड्ने अवस्था आयो ।
अनि आजलाई बोलाएको स्थायी समितिको बैठक पनि स्थगित हुन पुग्यो । नेकपा एक हप्ता अगाडि जुन अवस्थामा थियो, पुनः त्यहि अवस्थामा पुगेको छ । प्रचण्ड-नेपाल गठबन्धन फेरि एक भएको छ । गौतम पनि युटर्न हुँदै ओलीइत्तरको गठबन्धनमा आइपुगेका छन् । ओली भने फेरि पार्टीका सम्पूर्ण कमिटीमा अल्पमतमा परेका छन् । पार्टीभित्र अल्पमतमा परेपछि बैठकहरूबाट भाग्ने ओलीको रोग पुरानै हो । यसपटक पनि सचिवालय बैठकबाट बीचमै हिड्ने र तय भैसकेको स्थायी कमिटी बैठकबाट पछि हटेर ओली समस्याबाट भाग्ने प्रयत्न गरेका छन् ।
विष्णु पौडेलको अभिव्यक्तिबाट तर्सिए गौतम
प्रतिनिधि सभामा निर्वाचित गराएर प्रधानमन्त्रीसम्म बनाउने आश्वासन पाएपछि हौसिंदै प्रधानमन्त्री ओलीको कित्तामा पुगेका गौतम पार्टीका महासचिव विष्णु पौडेलको अभिव्यक्तिबाट भड्किएका थिए । पौडेलले ओलीको कार्यकाल पाँचै वर्ष हुने भन्दै गौतमलाई प्रधानमन्त्री बनाउने सहमति नभएको बताएका थिए ।
गौतमलाई प्रधानमन्त्री बनाउने विषयलाई नेता कार्यकर्ता पनि विरोध जनाइरहेका थिए । जनमानसमा पनि निर्वाचन हारेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने तयारी गरिएको भन्दै ओलीको आलोचना भैरहेको थियो । वैशाख २० को सचिवालयमा प्रचण्ड नरम भएपछि ओली गौतमलाई प्रधानमन्त्री बनाउने मुद्दा बैठकमा उठाउनै चाहेका थिएनन् । तर प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमको प्रसंग उठाएपछि ओलीले उपयुक्त समयमा प्रधानमन्त्री बनाइने बताएका थिए ।
त्यसपछिका कुराकानीको क्रममा ओलीले तत्काल प्रतिनिधिसभामा लैजाने वातावरण नभएको भन्दै आनाकानी गरेपछि गौतमले गुट परिवर्तन गरेको चर्चा छ ।
ओलीबाट धोकाबाहेक केहि नपाइने भयो भन्दै गौतमले प्रचण्डसँग पनि सरकार परिवर्तनमै जोड दिन आग्रह गर्दै आफू पनि तपाईहरूको साथमा भएको जानकारी गराएका थिए । गौतमले माधव नेपाललाई पनि ओलीलाई कुनै एक पदबाट नभई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट नहटाएरम्म नेकपाको भविष्य नरहेको भन्दै स्थायी कमिटीबाट यस्तो निर्णय गर्ने तयारी गर्न आग्रह गरेको स्रोतको दाबी छ ।
स्थायी कमिटि बैठक टार्ने रणनीतिमा ओली
गौतमले युर्टन गरेपछि र स्थायी कमिटी बैठकबाट सरकारबाट फिर्ता बोलाउने रणनीति बनेको बुझेपछि ओलीले स्थायी कमिटी बैठक टार्ने रणनीति बनाएका थिए । त्यसैले उनले हिजोको सचिवालय बैठकमा सरकारको कामकारबाही र बजेट ल्याउनुपर्ने भएकोले केही समय पार्टीलाई समय दिन नभ्याउने बताएका थिए । कुराकानीकै क्रममा प्रचण्ड र नेपालले स्थायी कमिटी बैठक नसार्न दबाव दिएपछि ओली रिसाउदै बैठकबाट उठेका थिए ।
त्यसो त ओलीले स्थायी कमिटी बैठकको एजेण्डामा विवादास्पद अध्यादेश र सरकारका कामकारवाहीलाई एजेण्डा नबनाउने प्रचण्ड र नेपालसँग आग्रह गर्दै आएका थिए । बैठकमा चर्को विरोध हुने र बहुमतको निर्णय भन्दै सरकारबाट फिर्ता बोलाउने तयारी भएपछि यो स्थितिमा स्थायी कमिटी बैठक बोलाउनु आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्नुजस्तै हुने भन्दै ओलीले आफूनिकट नेताहरूसँग आर्थिकवर्षयता नेकपाको स्थायी कमिटी बैठक बोलाउन नहुने भन्दै त्यसको तयारीमा लाग्न सुझाव दिएका थिए ।
यता प्रचण्ड-नेपाल गठबन्धन भने ओलीलाई बजेट ल्याउन नदिने र आर्थिकवर्ष यतै ओलीलाई प्रधानमन्त्री फिर्ता बोलाउनुपर्नेमा एक भएको छ । यससँगै तत्काल कुनै चमत्कार भएन भने ओलीको प्रधानमन्त्री पदको दिनगन्ती शुरू भएको अनुमान गर्न सकिन्छ ।