–फूलप्रसाद सुबेदी
काठमाडौं, बैशाख २५ ।
‘बुद्धं शरणं गच्छामि’ भन्ने वाणी नसुन्ने नेपाली सायदै होलान् । मौका मिल्दा हामी स्वयम्भुनाथ एवम् लुम्बिनीको परिक्रमा पनि गर्दछौं । तर वास्तवमै बुद्धले हामीलाई के मार्ग देखाए ? भन्ने सन्दर्भमा पनि त्यतिकै मौन छौं । बुद्धका सन्दर्भमा हामी नेपालीहरू अलि बढी नै भाबुक छौं । बुद्धका शिक्षा एवम् चिन्तनका विषयमा खासै चासो नभएता पनि ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने विषयमा भनें हेक्का राख्दछौं । कहिले काहीँ नीति निर्माता तथा धार्मिक अगुवाहरूबाट ‘बुद्ध सर्किट’ एवम् ‘हिन्दु सर्किट’ का विषयमा कुरा सुन्दा आर्थिक रूपान्तरणको बाटो पनि उघ्रिन्छ कि भनेर आशावादी पनि हुन्छौं । साथै सात समुन्द्रपारिबाट आयातित दर्शनहरूका माथि चर्को बहस चलाउने मात्र नभई तिनकै आधारमा मुलुकलाई चलाउने प्रयास पनि गर्दछौं तर हाम्रो माटोले जन्माएका दार्शनिकहरूका सन्दर्भमा आधिपत्य जमाउनेबाहेक अन्य विषयमा हाम्रो चासो प्रष्ट हुन बाँकी नै देखिन्छ । नेपालभन्दा कैयौं टाढाका मुलुकहरूमा बुद्धका शिक्षामाथि अध्ययन एवम् अनुसन्धान भई तिनका व्यवहारिक पक्षहरूमा बहस चल्दा हाम्रो मौनता उदेकलाग्दो छ । आज कोविड–१९ को महामारीले सारा मानव जाती आक्रान्त भई वैकल्पिक विश्व चिन्तनधारामा विचार भइरहँदा बुद्धको मध्यमार्गको सान्दर्भिकताको सन्दर्भमा चिन्तन गर्नु उपयुक्त हुन्छ ।
मूलभूत प्रश्न र बुद्ध
बुद्धका शिक्षा अति सरल एवम् स्पष्ट छन् । बौद्ध शिक्षाको अन्तिम लक्ष्य दुःखबाट सदाका लागि मुक्ति हो । त्यसैले बुद्धको जोड जटिल दार्शनिक व्याख्याभन्दा पनि जीवनका समस्याहरूको सरलतम व्यवहारिक समाधानतर्फ केन्द्रित छ । बुद्धका अनुसार जन्म, जरा एवम् मरण मानव जीवनमा दुःखका मूलकारण हुन् । बुद्धले जीवनका दुःख, तिनका कारण एवम् निवारणको सरलतम व्याख्या मात्र होइन तिनबाट पार पाउने व्यवहारमूलक उपाय स्वयं प्रयोग गरी देखाए । धनी–गरिब, शिक्षित–अशिक्षित, विकसित–अविकसित, बाठो–लाटो, सक्षम–असक्षम, योगी–भोगी, सुन्दर–कुरूप सबैले जीवनका यी दुःखबाट गुज्रनु पर्दछ । बुद्धले मानव मनमा उत्पन्न हुने राग तथा द्वेषलाई नै दुःखको स्रोतकोे रूपमा इङ्कित गरेका छन् । हाम्रो वरिपरि उत्पन्न हुने अधिकांश समस्याहरू यिनै राग तथा द्वेषका कारणले हुने गर्दछन् । नेतृत्व तहका राजनेतादेखि सामान्य मानिसका मानस पटलमा उत्पन्न हुने राग एवम् द्वेषले कलह सिर्जना गर्दा भएका विनाश यत्रतत्र देख्न सकिन्छ । एक्काइसौं शताब्दीमा मानव मनबाट यी राग तथा द्वेष रूपी अज्ञानतालÞाई हटाउन सके सम्भवतः पृथ्वीको स्वरूप अर्कै हुने थियो ।
सामाजिक विकृति र बुद्ध
बुद्ध शिक्षाले मानवबीच जात–भात, वर्ण, पेशा, लिङ्ग एवम् अन्य कुनै पनि आधारमा विभेद गर्दैन । बुद्ध ज्ञान निरपेक्ष एवम् समस्या समाधानमा केन्द्रित छ । बुद्धको मुख्य ध्येय बाह्य आडम्बरभन्दा पनि मानवको अवचेतन मनमा दबिएर रहेको दुःखको मूल कारण ‘संस्कार धर्म दुःख’ निवारण गरी कल्याण गर्नुमा थियो । सुपिप्या, सोपक, अंगुलिमाल, किसा गोतामी, आम्रपाली आदि तत्कालीन समाजका अनेकौ पात्रहरूले विना भेदभाव बुद्ध ज्ञान प्राप्त गरी आ–आफ्नो मार्ग प्रशस्त गरेका थिए ।
आजको तथाकथित विकसित मानव अनेक आधारमा विभाजित छ । गरिब र अविकसित राष्ट्रको त कुरै छोडौं, वैश्विक महामारी कोविड–१९ को कारणले अमेरिकाजस्तो महाशक्ति राष्ट्रमा लगभग सत्तरी प्रतिशत काला जातिका मानिस प्रभावित हुनुले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा काला जातिप्रति त्यहाँ रहेको रङ्गभेदलाई उदाङ्गो पार्दछ । भारतका सुप्रसिद्ध संविधान विज्ञ डा. भीमराव अम्बेडकर जाति प्रथा एवम् विभेदबाट आजित भई सन् १९५६ बुद्ध धर्म अंगालेको घटनाले पनि बुद्ध शिक्षा विभेदरहित भएको कुरा उजागर गर्दछ । नेपालमा पनि जाती भेदका कारण धर्म परिवर्तन गर्ने प्रचलन फेसनजस्तै छ । समतामूलक तथा समावेशी समाज निर्माणमा बुद्ध पथले मार्ग निर्देशन गर्न सक्दछ ।
बुद्धको ज्ञान र विज्ञान
बुद्धले आफूलाई विशेष जन्म वा कुनै दैवी शक्तिको अवतार वा मुक्तिदाताको रूपमा होइन कि केवल अनुभवी÷जागृत मार्ग निर्देशकका रूपमा प्रस्तुत गरे । उनले भौतिक वैज्ञानिक जस्तै ‘प्रतित्यसमुत्पादको सिद्धान्त’ मार्फत् कार्य–कारणको सम्बन्धलाई व्याख्या गरेका छन् । कुनै पनि घटना हुनका निम्ति कारण हुनु पर्ने एवम् जीवनमा रहेका दुःखका पनि कारण छन् र तिनको निवारण गरे मात्रै दुःखबाट मुक्त हुने कुरामा बुद्धको जोड छ ।
जबसम्म कारण विद्यमान रहन्छ तबसम्म जीवनमा कार्य अर्थात् दुःख रहिरहन्छ । जीवनको अन्तिम क्षणमा पनि उनले आफ्ना अनुयायीहरूलाई अरूको आशा–भरोशा होइन कि ‘अप्पो दिप्पो भव’ अर्थात् स्वज्योति बन भने सन्देश दिएका थिए । बुद्धको जोड कुनै दैवी आकाशीय पिण्ड वा शक्तिको कृपा वा भरभन्दा पनि मानव आफैंले सोध–खोज एवम् परिश्रमबाट मार्ग प्रशस्त गर्नु पर्नेमा थियो । साथै उनले आफ्ना शिक्षणमा ‘बुद्धं शरणं गच्छामि’ भन्नुको अर्थ पनि व्यक्ति रूपी सिद्धार्थ गौतमको शरणमा होइन कि ज्ञान रूपी बुद्धको शरणमा जानु हो भनेर प्रष्ट पारेका छन् ।
अर्थात् उनले व्यक्तिको देवत्वकरणलाईभन्दा पनि ज्ञानलाइ बढी प्राथमिकतामा राखेका थिए । यी र यस्तै स्वतन्त्र विषय वस्तुहरू एवम् वैज्ञानिक आधारहरूका कारणले बुद्ध शिक्षा आज पश्चिममा वैज्ञानिकहरूको नजरमा परेको छ । अनेकन बौद्ध भिक्षुहरूको मस्तिष्कको अध्ययन, ध्यानको सामान्य मानिसहरूमा प्रयोग गरी वैज्ञानिक, स्नायुविज्ञ तथा मनोवैज्ञानिकहरूले बुद्धको ज्ञान एवम् ध्यानलाई ‘मनको विज्ञान’ को रूपमा चित्रित गरेका छन् । साथै मनोविज्ञहरूले पनि बुद्धका शिक्षा एवम् ध्यानविधिहरू अनेकौं मनोसामाजिक विकृतिहरूको निवारण गर्ने उपायको रूपमा स्वीकार गरी प्रयोग गरिराखेका छन् । त्यसैले त नेपालका अधिकांश विपश्यना ध्यान केन्द्रहरूमा विदेशी नागरिकहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ ।
वर्तमान सन्दर्भमा बुद्ध शिक्षा
सर्वव्यापी महामारीको रूप लिएको वर्तमान संकट कोविड–१९ को बाह्य कारण ‘कोरोना भाइरस’ देखिएता पनि यसको मूल कारण भने मानवले प्रकृतिप्रति गरेको अन्याय नै हो । आफ्ना उपलब्धिहरूले हौसियर आफू प्रकृतिको मालिक नभई सृष्टिको एउटा उपअंश भएको कुरालाई मानवले चटक्कै बिर्सियो र जतिसक्दो प्राकृतिक स्रोत र साधनको दोहन गरी आफ्ना तथाकथित भौतिक आवश्यकता परिपूर्ति गर्न एवम् नाफाखोरी व्यवसायतर्फ अग्रसर भइरह्यो । अनावश्यक प्रतिस्पर्धा, संकुचित सोच, अहंकार, भौतिक सुख सुविधाप्रति अति लिप्साका कारणले मानव स्वयम् आफ्नो शत्रु भएको छ । यहाँ निर भगवान् बुद्धले इङ्कित गरेको तृष्णा नै सबै प्रकारका दुःखको मूल कारण हो भन्ने कुरा सत्य साबित भएको छ । प्राकृतिक सन्तुलन नै बिग्रने गरी अतिवादतर्फ अग्रसर विश्वलाई बुद्धको मध्यमार्गले सही दिशा दिन सक्नेमा दुई मत नहोला । यस स्थितिमा प्रकृतिको निर्मम शोषण, आपसी कलह, संकुचित सोच होइन बरू सह–अस्तित्वमा नै दिगो विकास हुने कुरा बुझन जरूरी छ । अहिलेको परिस्थितिमा बुद्धले अघि सारेको दुःख निरोध गामिनी प्रतिपदा अर्थात् आर्य आष्टांगिक मार्गमा निर्देशित सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति एवम् सम्यक् समाधिको पथ निश्चय नै कल्याणकारी हुन् सक्दछ । अझै माथि उठेर बुद्धद्वारा निर्देशित दया, क्षमा, करूणारूपी गुणहरूलाई अवलम्बन गर्न सके वर्तमान संकटबाट पार पाउन सहज हुनका साथै मानवीय मूल्य र मान्यताले थप उच्चाई प्राप्त गर्ने थिए । बुद्धको ज्ञानलाई कुनै सम्प्रदाय वा क्षेत्र विशेषको घेरामा बाँध्नु समग्र मानव जातिप्रति नै अन्याय हुनजान्छ । त्यसैले उनले देखाएको मार्गको वैश्विक सान्दर्भिकता मनन् गरी कार्यान्वयनतर्फ अग्रसर हुन सके सबैको कल्याण हुने थियो ।
– उप–प्राध्यापक, त्रिवि, कीर्तिपुर