नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ बैशाख ।
शुक्रबार स्वाभिमानी नेपालीको शिर निहुर्याउने गरी दुईवटा घटनाहरू सार्वजनिक भए । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको विषय भारतकै रक्षामन्त्री राजनाथ सिंहले ट्वीट गरेपछि मात्र नेपालीले थाहा पाए । नेपाल सरकारले त नेपाली मिडियामार्फत थाहा पाएपछि यस विषयमा अध्ययन गर्न नपाएको बतायो । शुक्रबारै काठमाडौंको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार अगाडि चिनियाँ नागरिकहरूले नेपाल प्रहरीको बर्दी समातेर मुक्का मात्र हानेनन् सुरक्षाकर्मीहरूमाथि ढुङ्गा प्रहार गर्दा एक डिएसपी घाइतेसमेत हुनपुगे ।
चिनियाँ नागरिकहरू आफूलाई स्वदेश फर्कन कसैले वास्ता नगरेको भन्दै सिंहदरबारको पश्चिम गेटमा नाराबाजी गरिरहेका थिए । नाराबाजीकै क्रममा प्रहरीमाथि नै आक्रमण गरेपछि सिंहदरबार प्रहरी वृत्तका डिएसपी हरि बस्नेत सामान्य घाइते भए । ३२ जना चिनियाँको समूहलाई प्रहरीले पक्राउ गर्यो । नेपालकै भूमिमा चिनियाँहरूले सुरक्षाका निमित्त खटिएका नेपाल प्रहरीमाथि जुन हर्कत देखाए त्यसले मुलुककै स्वाभिमानको मान मर्दन गर्ने काम गर्यो ।
शुक्रबार एकैदिन दुई छिमेकी देशबाट नेपालको स्वाभिमानमाथि भएको आक्रमणले सामाजिक सञ्जालहरू तातेका छन् । छिमेकीहरूसँगको नेपाल सरकारले कुटनीतिक सम्बन्ध कायम गर्न नसकेकोले यस्ता समस्या आएको एकथरी कुटनीतिक विशेषज्ञको दाबी छ । चिनियाँ प्रकरण त क्षणिक आवेगको परिणाम भनेर मान्न सकिएला तर लिपुलेक हुँदै चीन जोड्ने सडक भारत सरकारद्वारा उद्घाटन नै हुनु र त्यसमा नेपाल सरकार पूर्णतः बेखबर हुनुलाई कसरी हेर्ने ?
भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको शुक्रबार भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेको जनाइएको छ । ‘मानसरोवर यात्राको लिङ्करोडको उद्घाटन गर्न पाउँदा खुशी छु’, उनले ट्विटमा अगाडि भनेका छन्– ‘बिआरओ (बोर्डर रोड अर्गनाइजेशन) ले धार्चुलादेखि लिपुलेक चीन सीमासम्म कैलाश मानसरोवर यात्रा मार्गको रूपमा चिनिने सडक जोडेको छ ।’
रक्षामन्त्री सिंहले सीमासम्म सडक जोड्नु भारतको ठूलो उपलब्धि भएको उल्लेख गरेका छन् । यो सडकले स्थानीय र व्यापारीलाई सुविधा पुग्ने उनको विश्वास छ । भारत चीनबीच व्यापारका लागि यो सडक मार्ग महत्वपूर्ण रहेको भारतीय अनलाइन संस्करण अमर उजालाले उल्लेख गरेको छ । नेपाल भारत लिपुलेकका विषयमा विवाद टुङ्गिन नपाउँदै भारतले लिपुलेकसम्मको सडकको उद्घाटन गरेको हो । कुटी, कालापानी, नाभीढाङ हुँदै लिपुलेक क्षेत्र नेपाली भूमि हो । सीमा अतिक्रमणको विषय टुङ्गिन नपाउँदै भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि विरोध भइरहेको छ ।
चीनको सीमा क्षेत्रसम्म निर्माण गरिएको यो सडक व्यापारिक दृष्टिकोणले समेत प्रभावकारी भएको बताइएको छ । यसअघि भारतको तावाघाटदेखि व्यापारी र स्थानीयवासीले खच्चर र भरियामार्फत सामान ढुवानी हुँदै आएको थियो । अब सडक निर्माणसँगै व्यापारीले पैदल हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गरिएको छ । भारतीय व्यापारीले चीनको सामान आयात–निर्यातका लागि तावाघाटबाट गुञ्जीसम्म पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ । यसअघि धार्चुलादेखि गर्वाधारसम्म ४५ किलोमिटर दूरीमा मात्र सवारीसाधन चल्ने गरेको थियो । त्यसभन्दा माथिल्लो क्षेत्रमा व्यापारी र सर्वसाधारणको पैदलयात्रा तय गर्नुपर्ने बाध्यता थियो ।
भारत पिथौरागढको धार्चुला गर्वाधारदेखि माल्पा १० किलोमिटर, माल्पाबाट बुँदी नौ किलोमिटर, बुदीबाट गुंँजी १८ किलोमिटर, गुँजीबाट कालापानी आठ किलोमिटर र कालापानीबाट नाभीढाँग आठ किलोमिटरसम्म स्थानीयवासीको पैदलयात्रा हुने गरेको थियो भने नाभीढाँगबाट चीनको ताक्लाकोट पुग्न २५ किलोमिटर दूरी छ । भारतले कूल ७८ किलोमिटर सडकको ट्य्राक खुलाएको हो । भारतले चीनको सीमासँग जोड्ने गरी सडक निर्माण गरेको यो पहिलो सडक हो । तावाघाटदेखि लिपुलेकसम्मको सडकको ट्य्राक खुलेसँगै अब भारतीयको पैदलयात्राको अन्त्य भएको भारतीय अनलाइन संस्करणले जनाएका छन् । उता चीनले लिपुलेकसम्म सन् २००८ मा नै सडक पुर्याइसकेको छ ।
परराष्ट्रमन्त्री भन्छन् यो विषयमा अध्ययन गरेको छैन
भारतले शुक्रबार नेपालको लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेप्रति आफूले अध्ययन गर्न नपाएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् । उनले भने, ‘भारतले मार्ग खोल्यो भन्ने आएको छ । मैले यो विषयमा अध्ययन गर्न पाएको छैन । अध्ययन गरेपछि मात्रै बताउँछु ।’
यसअघि ३ नोभेम्बर, २०१९ मा भारतले काश्मीरको विषय आफ्नो राजनीतिक नक्सा सार्वजनिक गर्दा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी वैधानिक रूपमा आफ्नो बनाएको थियो । तर, नेपालका सीमा विज्ञहरूले भने नेपाली भूमि नेपालले फिर्ता लिनुपर्ने र यसमा सरकार बलियो भएर उभिनुपर्ने बताउँदै आएका छन् । सरकारले त्यसबेला भारतीय नक्साको विषय कूटनीतिक तवरमा समाधान गरिने प्रतिबद्धता व्यक्त गर्दै जनआक्रोश शान्त पारेको थियो । नेपालले उक्त नक्सा परिमार्जनका विषयमा छलफल गर्न आग्रह गर्दै भारत सरकारलाई पत्र पठाएको बताए पनि त्यसमा आशंका पैदा भएको छ ।
कांग्रेसको प्रश्न
भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक मार्गको उद्घान गरेको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको धारण माग गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार प्रधानमन्त्रीलाई मेन्सन गरिएको ट्विटमा लिपुलेक नेपालको भूमि भएकोमा प्रस्ट भएको बताउँदै लेखेका छन्, । ‘चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचारबारे नेपाल सरकारको धारणा चाहन्छौं ।’ नेपाली भूभागबारे उच्चस्तरीय कुटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्न सरकारलाई कांग्रेसले आग्रह गरेको छ ।
चिनियाँ दूतावासको प्रेस विज्ञप्ति
चिनियाँ दूतावासले सिंहदरबार अगाडि आफ्ना नागरिकको प्रदर्शनबारे नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल भइरहेको जनाएको छ। प्रहरीमाथि जाइलाग्ने चार जनाविरूद्ध मुद्दा चलाउने तयारीपछि दूतावासले शुक्रबार राति पौने ११ बजे प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाप्रति जानकार रहेको जनाएको हो। चिनियाँले नेपालको कानुन पालना गर्नुपर्ने पक्षमा चीन वकालत गर्ने विज्ञप्तिमा उल्लेख छ। उचित मागबारे भने नेपाल सरकारले ध्यान दिने भन्ने विश्वास लिएको जनाइएको छ।
उसले आफ्ना नागरिक अन्तर्राष्ट्रिय उडान लामो समय स्थगन हुँदा घर जान हतारिएको जनाएको छ। नेपालमा रहेका चिनियाँको संख्या ठूलो रहेकाले चार्टर्ड उडानमा जान नपाएकाहरू जाने प्रयत्नमा रहेका जनाइएको छ। चीनले ३ सय ४० जनालाई लगिसकेको छ । सीमित उडानका कारण धेरै चिनियाँ अझै नेपालमा रहेको जनाउँदै दूतावासले आफ्ना नागरिकलाई संयम हुन भनेको छ । महामारीको यो कठिन घडीमा यस्ता घटनालाई संयुक्त रूपमा सम्हाल्दै अघि बढ्ने पनि विज्ञप्तिमा उल्लेख छ ।