फूलप्रसाद सुबेदी
काठमाडौं, ८ जेठ ।
कोविड–१९ को महामारीका कारणले पृथ्वीमा मानवको भौतिक आवागमनमा कमी भएता पनि भूराजनीतिक परिदृश्य भने निकै गतिमान देखिन्छ । यसैबीच नेपालको निकटतम् छिमेकी देश भारतले नेपाली भूमि प्रयोग गरी निर्माण गरेको पिथौरागढबाट चीन जोड्ने सडक र त्यस लगतै नेपाल सरकारले लिम्पियाधुरा समेटेर जारी गरेको नक्साका कारण नेपाल र भारत दुबै देशको भूराजनीतिक वातावरणको तापमान भने एक्कासी बढेको छ ।
विश्व महाशक्ति बन्ने होडमा लाग्ने प्रयास गरिराखेको भारतका निम्ति नेपालको यो कदम अहिलेको जस्तो विषम परिस्थितिमा कम्तिमा पनि यति छिटो आउला भन्ने अपेक्षा थिएन सायद ! नेपालको कदमका कारण विशेषः भारतका केही अतिवादी सञ्चार माध्यमहरूमा अतिरञ्जित प्रस्तुति देख्न-सुन्न सकिन्छ बरू तुलनात्मक रूपमा नेपाली सञ्चार माध्यमहरू सन्तुलित देखिन्छन जुन सराहनीय छ । नयाँ नक्सासँगै नेपाली जनताको आत्मा छविमा सकारात्मक परिवर्तन देख्न सकिन्छ । अब यो विषय व्यवस्थापनका निम्ति नेपालले गर्नु पर्ने कार्यहरूको चाप र ताप बढेर गएको छ । वर्षैंदेखिको भारतसँगको सीमा विवादलाई समाधान गर्ने एवम् अन्तर्राष्ट्रिय कुटनीतिमा आफ्नो स्पष्ट अवधारणा स्थापित गर्न नेपालका निम्ति यो एउटा सु–अवसर पनि हो । नेपाल सरकारले भारतको प्रतिशोध स्वरूप अब ‘नाकाबन्दी’ सम्मको कदमको सामना गर्न तयार हुनुपर्ने हुन सक्छ । त्यसैले नेपाल सरकारले अब कूटनीतिक रूपमा आफूलाई खरो रूपमा प्रस्तुत गर्दै वार्ताको टेबलमा आफ्नो हात माथि पार्न रणनीतिक व्यवस्थापनका लागि यथेष्ट गृहकार्य गर्न जरुरी देखिन्छ ।
भारतको कदम र नेपालको रणनीति
कोविड–१९ को घाउमा भूराजनीतिक चोट परेमा नेपालको स्थिति थप भयावह हुन् सक्दछ । तर जति सुकै बिकराल परिस्थिति भएता पनि धैर्यतापूर्वक जनताको मनोबल उच्च पार्दै नेतृत्व तहले समस्याको दीर्घकालन समाधानतर्फ अगाडि बढ्नु पर्दछ । त्यसका निम्ति बारम्बार घाउलाई बल्झाउने होइन कि बरू एकैपटक अलि बढी कष्ट सहेर भए पनि मूल कारणलाई सम्बोधन गर्नुपर्दछ ।
विगतका घटनाक्रमलाई मनन् गर्र्दा भारत आफ्ना कुरा मनाउन फेरि पनि अन्तर्राष्ट्रिय कानून, मूल्य, मान्यता र अभ्यासहरूको उलंघन गर्दै ‘नाकाबन्दी’ सम्मका अमानवीय कदमहरू उठाउन सक्दछ । परिस्थिति बिग्रिसकेपछि एक अर्कालाई दोषारोपण गरेर निरीह हुनुभन्दा सहज तथा जटिल अवस्थाका निम्ति रणनीतिक तयारी गर्नु नेपालका लागि उचित हुन्छ । यस निम्ति नेपाल सरकारले सबैभन्दा पहिले भारत सरकारसँग कुटनीतिक वार्ताका निम्ति पहल आरम्भ गरी दुई पक्षीय छलफलबाट नै समस्याको समाधान गर्ने प्रयास गर्नु पर्दछ । यस अघिका अनुभवहरूले समस्या सहजै समाधान नहुने एवम् समय लाग्ने तथा जटिलता थपिन सक्ने संकेत गरेको हुँदा उत्तरी छिमेकी चीनसँगका नाकाहरू सुचारू गर्नुका साथै कृषि तथा खाद्यान्नमा आत्मनिर्भर हुने उपायहरूको पहिचान गरी प्राथमिकता एवम् आवश्कताका आधारमा कार्यान्यन गर्नेतर्फ क्रियाशील हुनुपर्दछ । उत्तरी नाकालाई सुचारू बनाउन सम्भव भएसम्म सेना, प्रहरी, स्वयंसेवक युवा जनशक्तिलाई योजनाबद्ध रूपमा परिचालन गर्नु पर्दछ । यस कार्यमा चीन सरकारको पनि साथ र सहयोग लिन सक्नुपर्दछ ।
त्यसैगरी कृषि क्षेत्रमा कार्य गर्नका निम्ति सरकारले बन्दाबन्दी सकिनु अगावै योजना बनाई कार्यान्वन गर्नेतर्फ अगाडि बढ्नु पर्दछ । सिँचाई, सडक, शीतगृह आदि पूर्वधारको निर्माण, क्षेत्रगत वस्तु उत्पादनको योजना, बाँझो जमिन राख्नेलाई दण्डको प्रावधान तथा बिचौलियाहरूको प्रभावलाई कम गरी वितरण प्रणालीमा सुधार आदि उपकरणहरूको प्रयोग गरी उत्पादन वृद्धि गर्नुका साथै खाद्यान्नमा आत्मा निर्भर हुने बाटोमा लाग्नु पर्दछ । जल विद्युतमा आत्मा निर्भर बन्ने तरखरमा रहेको नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न सके छिमेकिहरूको नेपाललाई हेर्ने दृष्टिकोणमा ठूलो परिवर्तन हुन सक्दछ ।
नेपाली वीरताको गाथा
नेपालीहरूको क्षमता एवम् सम्भाव्यताका विषयमा एक प्रकारको नकारात्मक बहस तथा टिप्पणी चल्ने÷चलाउने गरिएता पनि वास्तवमा ज्ञान एवम् वीरताका गाथाले नेपाली इतिहास भरिएको छ । विश्वलाई नै नयाँ आयाम दिन सक्ने पूर्वीय दर्शनको विकासमा जनक, सीता, वाल्मीकि, बुद्ध, वेद व्यास, पाणिनी आदि असंख्य नेपाली विद्वान एवम् विदुषीहरूले उल्लेख्य योगदान दिएका छन् । नेपालीको वीरता विश्वव्यापी रूपमा सुविख्यात नै छ । विगतमा नालापानी र देउथलको गाथा मात्र होइन, सुस्ता, तिलाठीलगायतका क्षेत्रमा आफ्नो भूमि रक्षार्थ वीरताका साथ डटेका नेपालीले देखाएको सौर्य र पराक्रमलाई वर्तमानका शासकहरूले पनि समेत भूल्न सकेका छैनन् । विश्वको महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प एवम् उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनको ऐािहासिक शिखर वार्तामा सुरक्षार्थ गोर्खा कमाण्डोको आवश्यकता महसुस हुनुले संसारकै अजेय शक्तिका रूपमा नेपालीको स्थानलाई आज पनि कसैले चुनौती दिन नसकेको कुरा जगजाहेर छ ।
इमान्दारिता, सहनशीलता एवम् जिम्मेवारिता जस्ता गुणहरूले सु–शोभित भई ‘वीर गोर्खा’ का नामले चिरपरिचित नेपालीहरूले आफ्नै जन्म भूमिको विकास तथा आय स्तर बढाउनका निम्ति कम्मर कसेर लाग्ने बेला आएको छ । मातृभूमिको दिगो विकास नै हाम्रो कुटनीतिक हैसियत बढाउने अचुक उपाय हो । प्रत्येक नेपालीको हृदयमा बुद्ध एवम् वीरता स्थापित भएको हुँदा नेपालीहरूको शरीरमा बहने रगतका प्रत्येक थोपाहरूमा अजेय सौर्य गण्डकी, कोशी र कर्णाली नदीझैं अविरल बग्दछ । नेपाली भूमिमा जन्म लिनु आफैंमा गर्वको विषय हो । नेपालीका निम्ति ‘नेपाल’ भौगोलिक सिमानाभन्दा पनि हृदयको स्पन्दन हो । पराईको हस्तक्षेप कदापि स्वीकार नगर्ने नेपालीले आजको सन्दर्भमा पनि आफ्नो वास्तविक क्षमताको हेक्का राख्न जरूरी छ । यस्तो गौरवशाली इतिहास भएकै कारण नेपालका सबै राजनीतिक दलहरू राष्ट्रियताका सवालमा एकजुट छन् र प्रतिबद्ध पनि छन् ।
अपरिवर्तनीय छिमेकी र नेपालको महत्व
कुनै पनि राष्ट्रले भौगोलिक रूपमा जोडिएका छिमेकी परिवर्तन गर्न सक्दैन । नेपाल र भारतका सन्दर्भमा विशेषतः भारतीय शासकहरूको रवैयाका कारण बेला–बेला आपसी सम्बन्धमा चिसोपना आउने गरेता पनि दुबै देशका नागरिकहरूबीचको सामाजिक एवम् सांस्कृतिक सम्बन्ध अत्यन्तै प्रगाढ तथा सुमधुर छ । दुबै मुलुकका नागरिकहरू आपसी सम्बन्ध राम्रो भएको हेर्न चाहन्छन् । एक अर्का देशप्रति सद्भाव एवम् स्नेह राख्ने जनताहरू दुबै मुलुकमा पाइन्छन् । यस सन्दर्भमा सांस्कृतिक एवम् जनस्तरको सम्बन्धको उच्च सम्मान गर्दै ‘नेपाल भारतका निम्ति किन महत्व पूर्ण छ ?’ भन्ने कुरा कुटनीतिक तवरले नेपालले स्थापित गर्न जरूरी छ ।
अहिलेसम्मको अवस्थामा भारत मात्रैले नेपाललाई सहयोग गर्ने गरेको एवम् भारतीय सहयोग नभएमा नेपाल बाँच्न सक्तैन भन्ने मानसिकता केही तह तथा तप्काका भारतीय राजनीतिज्ञ, कुटनीतिज्ञ एवम् कर्मचारीहरूमा व्याप्त छ । तर वास्तविकता निकै फरक छ । भारतका निम्ति नेपाल पनि उत्तिकै महत्वपूर्ण छ । वर्तमान आन्तरिक सुरक्षा एवम् सीमा रक्षाका निम्ति मात्र नभई अतिवादी इस्लामिक अभियान ‘गजवा ए हिन्द’ जस्ता भावी खतराहरूबाट जोगाउनका निम्ति पनि भारतका लागि नेपाल पनि अति महत्वपूर्ण छ । व्यापारिक दृष्टिकोणले पनि नेपाल भारतका निम्ति कम महत्वपूर्ण छैन । समग्र हिन्दु–संस्कृतिको रक्षार्थ नेपालले खेलेको भूमिका पनि यस प्रसङ्गमा स्मरणीय छ ।
हुन त नेपाल भारतको लागि उच्च दश व्यापारिक साझेदारमध्येमा पर्दछ तर यस विषयमा नेपाललाई फाइदा हुने पक्षबाट मात्रै कुराहरू विश्लेषण गर्ने गरिएको छ, जब कि नेपालसँगको व्यापारबाट भारतले मनग्य आय आर्जन गर्दछ । भौगोलिक अवस्थितिका कारण तत्कालै भारतसँग व्यापारिक निर्भरता बढी भएता पनि विकशित प्रविधिको प्रयोगबाट उत्तरी नाका सहज बनाई नेपालले व्यापारिक प्राथमिकता परिवर्तन गरे भारतलाई कति घाटा हुन् सक्दछ भन्ने कुराको हेक्का भारतलाई गराउन जरूरी छ । अर्को एउटा गलत बुझाइ के छ भने नेपालीहरू मात्रै नोकरी वा आय आर्जनका निम्ति भारतमा निर्भर छन् । यो आंशिक सत्य मात्र हाे, किनकि नेपालीभन्दा बढी संख्यामा गाँस बासको व्यवस्थापनका लागि धेरै भारतीय नागरिकहरू नेपाल आएर वर्षेनी अरबौं कमाएर लैजान्छन् ।
नेपाली शासकहरूको कमजोरी
सीमा क्षेत्रका जनताहरूको पीडाबाट नेपाली राजनीतिज्ञ बेखबर हुनु, आफ्नो भूमिमा पूर्वाधारको कमी भएको कारण सीमा क्षेत्रका नेपाली जनताहरूले बाध्यताबस भारतीय भूमि भएर यात्रा गर्नुपर्ने पीडा बर्षौंसम्म खपिरहन बाध्य हुनुु, सीमा व्यवस्थापनप्रति नेपाली नेतृत्व उदासिन हुनु आदि विडम्बनापूर्ण दुःखद् अभ्यासहरू हुन् । यथेष्ट गृहकार्य एवम् पूर्व तयारीको अभाव, कुटनीतिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने अभ्यास, विदेशी सरकार तथा संस्थाको प्रभावमा राष्ट्रिय हितका सूचनाहरूको चुहावट, जिम्मेवारीको स्पष्ट बाँड–फाँड एवम् उत्तरदायी प्रणालीको अभ्यासको न्यूनता आदि अन्तर्राष्ट्रिय कुटनीतिमा नेपालले गरेका गम्भीर त्रुटिहरू हुन् ।
अन्त्यमा,
विगतका गल्तिहरूबाट पाठ सिक्दै इमान्दार एवम् योग्य व्यक्तिहरूलाई अधि सारेर सबै खालका समस्याहरूको दीर्घकालीन निदानको बाटोमा अगाडि बढ्नु नेपाल र भारत दुबैका लागि हितकर हुनेछ । कर्तव्यको इमान्दारीपूर्वक पालना नै यो समस्यामा नेपालको हात माथि पर्ने एक मात्र सूत्र हो । अतः चाप र ताप सहेर कोइला हीरा बने जस्तै महामारी एवम् भूराजनीतिक संकटको चाप र तापलाई आत्मविश्वासी भई सामना गर्दै मुलुकको कायापलट गर्ने यात्रामा सहकार्य गर्न जरूरी छ । ‘सर्वे भवन्तु सुखिनः’ भन्ने जीवन दर्शनबाट निर्देशित हुने भारत र नेपालबीच बेला बेलामा अनावश्यक रूपमा सीमा विवाद सिर्जना हुनु राम्रो मान्न सकिँदैन । दुबै देशहरूले उपलब्ध प्रमाणहरूलाई आधार मानी सीमा विवादलाई यथाशीघ्र समाधान गरी आपसी हित र विकासलाई अगाडि बढाउनु आजको एकमात्र विकल्प हो र यो नै अबको रणनीति पनि हो ।
– उप–प्राध्यापक, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर