काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । बन्दाबन्दीका बेला पनि वैकल्पिक माध्ययमबाट पठन–पाठन गराई सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी वनाउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले मेट्रो एफ। एम।मार्फत आजबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष विद्यासुन्दर शाक्यले राष्ट्रियसभा गृहमा रहेको मेट्रो एफ। एम। ९४ बिन्दु ६ मेगाहर्जमार्फत रेडियो शिक्षा कार्यक्रमको शुभारम्भ गरेका हुन् । ‘मुलुकमा जारी लकडाउनका कारण नियमित पठन–पाठन गराउन सम्भव नहुने भएका कारण घरमै बसिरहेका विद्यार्थी भाइ–बहिनीहरुलाई बैकल्पिक शिक्षा प्रदान गर्ने उदेश्यले काठमाडौँ महानगरपालिकाले आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो,’ प्रमुख शाक्यले भने, ‘यसले सामान्य जीवनप्रति उत्साहित गराउन र शैक्षिक गतिबिधिलाई निरन्तरता दिन पनि सहयोग पुग्ने अपेक्षा लिएका छौँ । उनले रेडियो शिक्षालाई सुझावका आधारमा थप प्रभावकारी बनाउँदै लैजाने पनि जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महामारीले निम्त्याएका समस्यामध्ये शैक्षिक सत्र व्यवस्थापन प्रमुख मध्येको एक समस्या भएको भन्दै यसलाई सहज बनाउँदै लैजाने बताए ।
काठमाडौँ महानगरपालिका शिक्षा विभागका शाखा अधिकृत मोती प्रसाद भट्टराईले आजबाट सुरु रेडियो शिक्षामार्फत महानगरपालिका भित्र रहेका ९१ वटा सामूदायिक बिद्यालय ३ वटा विशेष विद्यालय र ६ सय ४३ वटा संस्थागत विद्यालयलमा अध्ययनरत विद्यार्थी यो शिक्षाबाट प्रत्यक्ष–अप्रत्यक्षरुपमा लाभान्वित हुने बताए ।
सूचना प्रविधि बिभागका निमित्त प्रमुख युवराज खनालले महानगरपालिकाले सञ्चालन गरेको मेट्रो एफ। एम ९४ बिन्दु ६ मेगाहर्जबाट दैनिक आधारभूतदेखि कक्षा १० सम्मका कक्षा सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार रेडियो शिक्षाका लागि कक्षा १ देखि ३ सम्मका लागि २५ मिनेट र कक्षा ४ देखि १० सम्मका लागि ३० मिनेटको समय उपलब्ध गराइएको छ ।
शिक्षा विभागका अनुसार रेडियो शिक्षा कार्यक्रममा नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या र वातावण, पेशा व्यवसाय र प्रविधि बिषय समावेश गरिएका छन् । यसैगरी कक्षा १ को एकीकृत पाठ््यक्रम अनुसारका नेपाली, अंग्रेजी र मेरो सेरोफेरो विषय पनि समावेश हुनेछन् ।
रेडियो शिक्षा कार्यक्रम सञ्चालन विद्यालयका शिक्षकहरुले गर्नेछन् भने रेडियोकर्मीहरुले सहजीकरणको काम गर्नेछन् । दैनिक कक्षा शिक्षक व्यवस्थापन गर्ने, विषय तालिका मिलाउने, दैनिक पाठ योजना स्वीकृत गर्नका लागि २ तह बनाएर जिम्मेवारी दिइएको छ । जसमा कक्षा १ देखि कक्षा ६ सम्मको संयोजन सरस्वती निकेतन माविका प्रधानाध्यापक रविना महर्जन र कक्षा ७ देखि १० सम्मको संयोजन विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कंडेललाई जिम्मा दिइएको छ ।