त्रिभुवन विश्वविद्यालयअन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गमा विगत २३ वर्षदेखि प्राध्यापनरत छन्– डा. जीवनधर ज्ञावली । प्राध्यापनकै क्रममा नेर्वेजियन गर्भमेण्टको स्कोलरसिपबाट एमएस गरेका ज्ञावलीले साउथ एसियन युनिर्भसिटी (सार्क युनिर्भसिटी) र त्रिभुवन विश्वविद्यालयका प्रोफेसरहरूको अण्डरमा रहेर त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पिएचडी) पनि गरेका छन् । डा. ज्ञावली वि.स.२०१८ साल भाद्र ४ गते स्थापना भएको रत्न राज्यलक्ष्मी क्याम्पसको १४औं क्याम्पस प्रमुखको रूपमा नियुक्त भएका छन् । देशकै सबैभन्दा ठूलो मानविकी क्याम्पसको रूपमा रहेको आरआर क्याम्पसमा अहिले दुई सय भन्दा बढी शिक्षक कर्मचारीहरू सेवारत रहेका छन् भने करिब सात हजारको हाराहारीमा विद्यार्थी संख्या रहेको छ । यसै क्याम्पसको १४औं क्याम्पस प्रमुखको रूपमा केही दिनअघि मात्रै नियुक्त भएका नवनियुक्त क्याम्पस प्रमुख डा.जीवनधर ज्ञावलीसँग अनलाइन पत्रिका नवकान्तिपुर डटकमका संवाददाता महेश कठायतले गरेको कुराकानीको सम्पादित अंशः
शिक्षण पेसामा तपाई कहिलेदेखि र कसरी प्रवेश गर्नु भयो ?
मैले शिक्षण पेसामा बिएस्सी पास गरिसकेपछि बिएस्सी र एमएस्सीको बीचमा स्कुलमा पढाएँ । त्यहाँ पढाउँदाखेरि सिक्ने सिकाउने कुरा आफूलाई पनि ठिकै लाग्यो । त्यसपछि म त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा मास्टर डिग्री (एमएस्सी) गरिसकेपछि पहिलो पटक मैले सहायक प्राध्यापकको रूपमा वाल्मीकि क्याम्पसमा पढाउन सुरू गरेँ । विसं. २०५४ सालमा तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय (हालको नेपाल संस्कृत विश्वविद्यालय) र त्रिभुवन विश्वविद्यालयमा एकै पटक उपप्राध्यापकको विज्ञापन भयो । त्यही क्रममा म २०५४ साल भाद्र २७ गतेदेखि आरआर क्याम्पसको उपप्रध्यापकको रूपमा रहेँ र विगत पाँच वर्षदेखि म सहप्राध्यापकको रूपमा रहेर शिक्षण पेसालाई निरन्तरता दिइरहेको छु ।
शिक्षण पेसामा नै तपाईको दुई दशकभन्दा लामो अनुभव रहेको छ, तपाई शिक्षण पेसालाई कसरी हेर्नु भएको छ ?
शिक्षण पेसा अरू पेसाभन्दा भिन्न खालको हुन्छ । शिक्षण पेसालाई आर्थिक दृष्टिकोणले हेर्दा यसको आर्कषण अरू पेसाका तुलनामा केही कम देखिएला तर सामाजिक र आत्मसम्मानका हिसाबले हेर्ने हो भने यो पेसा साँच्चै आदर्श पेसा हो । शिक्षण संस्थामा आबद्ध हुँदा हरेक वर्षमा हजारौं विद्याथीहरूसँग प्रत्यक्ष सम्पर्क बढ्छ । क्लासमा विद्यार्थीको मनोभाव र स्तरअनुसार पढाउन सकियो भने विद्यार्थीहरूले पछिसम्म सम्झने र सम्मान गरिरहने अवस्था रहन्छ । कालान्तरमा आफूले पढाएका विद्यार्थीहरू सरकारका विभिन्न ओहोदामा र विश्वविद्यालयकै विभिन्न क्याम्पसहरूमा पुग्छन् । सम्मानित पदहरूमा पुगेका पूर्व विद्यार्थीहरूसँग भेट हुँदा पाइने आदर र सम्मान पैसामा तुलना हुन सक्तैन । जो पैसा कमाउनमा नै मरिहत्ते गर्छ, त्यस्तो व्यक्ति शिक्षण पेसामा आउनै चाहँदैन । त्यसैले हामीले आफ्नो मर्यादालाई ख्याल राख्दै शिक्षण पेसा अगाल्यौं भने समाजले हामीलाई दिने सम्मान नै हाम्रो अकुत सम्पत्ति हो । हामीले पढाएका विद्यार्थीले हामीलाई दिने सम्मान पनि हाम्रो सम्पत्ति हो । सम्पत्ति भनेको पैसासँग मात्रै तुलना गरिंदैन र गर्नु हुन्न भन्ने हो । अहिले म आरआर क्याम्पसको क्याम्पस प्रमुखको रूपमा छु, यो पनि मैले विगत २३ वर्षदेखि यस क्याम्पसमा रहेर गरेकोे योगदानको प्रतिफल हो र यो पनि सम्पत्ति नै हो । त्यस हिसाबले पनि शिक्षण पेसा अरू पेसाभन्दा भिन्न छ । आर्थिक रूपमा कम आर्कषण हुँदाहुँदै पनि सामाजिक रूपमा गर्व गर्न लायक छ ।
देशभरको सबैभन्दा ठूलो मानविकी क्याम्पसको क्याम्पस प्रमुखको जिम्मेवारी पाउनु भएको छ, यसलाई कसरी लिनु हुन्छ ?
अवश्य नै यो देशको सबैभन्दा ठूलो मानविकी क्याम्पस हो । हाम्रो समाज अहिले पनि धेरै कुरामा विभाजित छ र जबसम्म हामी मानवीय पक्षलाई अघि बढाउन सक्दैनौं, त्यतिबेलासम्म समाज समुन्नत हुन सक्दैन । जबसम्म समाज समुन्नत हँुदैन, त्यतिबेलासम्म हाम्रा सामाजिक कार्यहरूको विकास हुन सक्दैन । हाम्रो समाजको रहनसहन, शैली र मान्यतालाई मापन गरी त्यसका आधारमा हामी कति समुन्नत छौं भनेर मूल्याङ्कन गर्न सक्दछौं ।
अहिले यसै क्याम्पसबाट ह्युमानिटिज पढेका पूर्व विद्यार्थीहरू नै मुलुकका नेता-राजनेता भएका छन्, तिनीहरू देशकै गौरव हुन् । अहिले संसदमा पनि प्रायः यही क्याम्पसले उत्पादन गरेकाहरू सांसद र मन्त्रीहरू छन् । यो क्याम्पसकै इतिहासका लागि पनि गर्व गर्ने विषय हो । तर यदि हामीले ह्युमानिटिजको मर्मअनुसार शिक्षा दिन सकेनौं भने चाहिँ उत्पादित जनशक्तिले आफ्नो भूमिकाअनुसारको कार्य सम्पादन गर्न सक्दैन । कतै न कतै हाम्रो शिक्षा चुकेको अनुभव हुन्छ ।
अहिले पनि परम्पागत सोचले हाम्रो समाज विभाजित छ, त्यसलाई जोड्नको लागि पनि ह्युमानिटिजका विषयहरू महत्वपूर्ण छन् । ती विषयहरूले समाजलाई जोड्न सक्नु पर्छ । त्यसकारण पनि समाज रूपान्तरणका लागि मानविकी विषयको ठूलो महत्व छ । आरआर क्याम्पस देशको सबैभन्दा ठूलो मानविकी क्याम्पस भएको हैसियतले ती कुराहरूलाई प्रबद्र्धन गर्ने र यहाँबाट योग्य, कुसल र सक्षम नागरिकहरू उत्पादन गर्नका लागि वातावरण सिर्जना गर्न विशेष भूमिका निर्वाह गर्नु मेरो प्रमुख दायित्व हो र पदीय कर्तव्य पनि हो ।
यहाँ थुप्रै समस्याहरू पनि छन् । अहिले पहिलेका योग्य शिक्षक र दक्ष कर्मचारीहरू धेरै रिटाएर्ड हुनु भएको छ । विश्वविद्यालयले समयमा विज्ञापन गरेर शिक्षक कर्मचारीहरू नपठाउँदा त्यसको अभावले हामी जुन किसिमले शैक्षिक वातावरण तयार गर्नु पर्ने हो र जुन किसिमले क्याम्पस सञ्चालन गर्नुपर्ने हो, त्यसमा कतै न कतै बाधा पुगेको छ । अर्को भौतिक समस्या पनि छ । हामी थोरै स्पेसमा छौं, पुराना भवनहरू र साना कक्षाकोठाहरू छन् । यी सबै विषयलाई क्रमशः सुधार गरेर वर्तमान समयको मागअनुसार विद्यार्थीहरूलाई शिक्षा दिनु अहिलेको प्रमुख चुनौती हो ।
एउटा क्याम्पस प्रमुखको हिसाबले हेर्दा विद्यार्थी र क्याम्पस प्रशासनबीचको सम्बन्ध कस्तो हुनुपर्छ ?
विगतलाई हेर्ने हो भने त्यो बेला एक किसिमको एकतन्त्रीय शासन थियो । विद्यार्थीहरू राजनीतिमा लागेर तत्कालीन व्यवस्था खारेज गरेर सबैका भावनाहरू समेट्ने नयाँ व्यवस्था ल्याउन क्रियाशील हुन्थे । एक हिसाबले त्यो जायज थियो र तत्कालीन समयको माग पनि थियो । तर त्यो कालखण्डको अन्त्य भइसकेको छ र अहिलेको स्थिति भिन्न छ । विद्यार्थीले विगतमा गर्ने राजनीति सडकबाट संसदमा गइसकेको छ । त्यसैले अहिलेको अवस्थामा म सबै विद्यार्थी सङ्गठनहरू र सबै विद्यार्थीहरूलाई अनुरोध गर्न चाहन्छु– शैक्षिक संस्था वा विश्वविद्यालयहरूको प्रमुख काम भनेको ज्ञानको उत्पादन गर्ने र ज्ञान बाँड्ने हो । शिक्षार्थीले आफूले आर्जित गरेको ज्ञानलाई व्यवहारमा लागु गर्ने हो, समाज रूपान्तरणका लागि लगाउने हो । व्यवहारमा रूपान्तरित नहुने ज्ञानको खास अर्थ पनि रहन्न ।
विद्यार्थीहरू भनेको विचारका संवाहक पनि हुन् । विभिन्न क्षेत्रबाट आएका विद्यार्थीहरूमा विभिन्न किसिमका विचारहरू पनि हुन सक्छन्, तर भिन्न विचार भएको कारणले क्याम्पसको पठनपाठन, व्यवस्थापन र प्राज्ञिक काममा बाधा व्यवधान पुग्नु हुँदैन । यस कुरामा विद्यार्थी वर्ग पनि सचेत हुनुपर्छ ।
क्याम्पसमा केही समस्याहरू पनि छन् तर ती समस्याहरू विद्यार्थी, क्याम्पस प्रशासन, शिक्षक र कर्मचारी सबै मिलेर समाधान गर्ने हो । विद्यार्थी र प्रशासन भनेको एउटै सिक्काका दुई पाटाजस्तै हुन्– एकअर्कोका परिपूरक । त्यसैले क्याम्पसको उन्नतिको लागि प्रशासनको जति भूमिका छ, विद्यार्थीको पनि त्यति नै भूमिका रहेको हुन्छ । विद्यार्थी जति बढी शैक्षिक गतिविधिमा संलग्न हुन्छन्, त्यही अनुपातमा शिक्षकहरू पनि खारिने हो र त्यही किसिमले नयाँ ज्ञानको सिर्जना हुने हो । यदि विद्यार्थीहरू पढाइमा मोटिभेट भएनन् र ज्ञान लिनको लागि आतुर हुनु सकेनन् भने शिक्षकहरूमा पनि विद्यार्थीलाई नयाँ कुरा दिने मोटिभेशन कम हुन सक्छ । त्यस अवस्थामा समयसापेक्ष ज्ञान हासिल हुन सक्तैन ।
एउटा शैक्षिक संस्थाका लागि सबैभन्दा ठूलो चुनौती के हुन सक्ला ?
कुनै पनि शैक्षिक संस्थाका मुख्य तीनवटा काम हुन्छन् । त्यो भनेको शैक्षिक संस्थाको भौतिक पूर्वाधारको अवस्था ठीक हुनु पर्यो, शिक्षक र कर्मचारीहरू कामप्रतिको इमानदार हुनु पर्यो तथा प्रशासनले क्याम्पसको शैक्षिक र आर्थिक अवस्थालाई समुन्नत, पारदर्शी र विभेदरहित बनाउन सक्नुपर्यो । सम्बन्धित सबै पक्षको सल्लाह र सुझाव लिएर यस चुनौतीलाई स्वीकार गर्दै अगाडि बढ्ने कुरामा म प्रतिबद्ध छु ।
वर्तमान समयमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ ले शैक्षिक संस्थाहरूलाई सिकाएको पाठ के हो ?
कोभिड–१९ ले नेपाललाई मात्र होइन, विश्वलाई नै प्रभावित पारेको छ र यसले हाम्रोजस्तो शैक्षिक संस्थालाई पनि धेरै प्रभाव पारेको छ । विगतमा विश्वविद्यालयले निकालिसकेका परीक्षाका कार्यक्रमहरू रोकिएका छन् । विद्यार्थीहरूको पठनपाठनमा पनि प्रभाव परेको छ । तर पनि यो महामारीसँग जुद्धै अगाडि बढ्ने क्रममा छौं र सकेसम्म विद्यार्थीहरूको पढाइ नबिग्रियोस् भनेर लागिपरेका छौं । यसैक्रममा हामीले मास्टर फस्ट इयरका सबै क्लासहरू अहिले पनि बिहानदेखि साँझसम्म अनलाइनबाट चलाइरहेका छौं । यसमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता पनि रहेको छ । कुनै अनलाइन क्लासमा दुई सय पचासजनासम्म विद्यार्थी पनि पाएका छौं । अनलाइन क्लासमा आउन नसकेका केही विद्यार्थीहरू पनि छन्, तर पनि हाम्रो अनलाइन क्लासको उपस्थिति करिब असी प्रतिशत माथि नै छ । त्यसो हुँदाहुँदै पनि विश्वविद्यालयको नीति नियमले विद्यार्थीहरूलाई मर्का नपरोस् भन्ने कुरामा हामी सचेत बनेका छौं ।
आरआर क्याम्पसलाई एउटा विशिष्ट नमुना क्याम्पसका रूपमा स्थापित गराउन कसको भूमिका के हुन सक्ला ?
यसमा मेरो भूमिका भनेको शिक्षक, विद्यार्थी र कर्मचारीको बीचमा शैक्षिक संस्थाले गर्नुपर्ने जिम्मेवारीलाई निर्वाध रूपमा अघि बढाउनु हो । यसका लागि जेजस्तो कार्य गर्नुपर्छ, त्यसमा मेरो सम्मन्वयकारी भूमिका रहने छ नै । विश्वविद्यालयले तोकेको नीति नियमभित्र रहेर यसलाई समन्वय गर्ने कुरामा म आफूले सकेको योगदान गर्न तयार छु । विद्यार्थी, शिक्षक र कर्मचारी सबैको सहकार्यमा क्याम्पसको भौतिक अवस्थालाई सुधार गर्दै र कक्षाकोठामा विद्यार्थीको उपस्थितिलाई शतप्रतिशत बनाउने कार्यमा मेरो प्राथमिकता रहने छ ।
प्रयोगशालामा आवश्यक भौतिक सामग्रीहरू व्यवस्थापन गरिने छ । पुस्तकालयलाई पनि थप व्यवस्थित गरिने छ । जर्नलहरू, अनलाइन जर्नलहरू, अनलाइन बुकहरूको व्यवस्था गर्न अहिले हामीले ई–लाइबेरीको काम पनि अघि बढाइसकेका छौं, त्यहाँ अनलाइनबाटै अध्ययन गर्न सकिन्छ । यी सबै कार्र्यका लागि कक्षाकोठाहरू सीमित छन्, त्यसको लागि भौतिक पूर्वाधार र योग्य शिक्षकहरूको लागि कोसिस गरिने छ । यी सबै कुरालाई समेट्न सकियो भने अवश्य पनि देशले चाहेको मानविकीय संकाय अन्तरर्गतको दक्ष जनशक्ति उत्पादन गर्न हामी सक्षम हुनेछौं ।
अन्त्यमाः
म मेरा सबै विद्यार्थी, कर्मचारी र प्राध्यापक सहकर्मी साथीहरूलाई मेरो कार्यकालमा क्याम्पसको प्रशासनलाई आर्थिक रूपमा समुन्नत र व्यवहारिक रूपमा पारदर्शी बनाउँदै सबै खालका गतिविधिलाई विभेदरहित बनाउने कुरामा विश्वस्त पार्न चाहन्छु । मेरो यस प्रयासमा सबै पक्षको सल्लाह, सुझाव र सद्भावको अपेक्षा पनि गर्दछु ।