– विवेक खड्का
काठमाडौं, १ असार ।
परिवर्तन के हो ? परिवर्तन केका लागि हुन्छ ? र परिवर्तन कसले गराउँदछ ? यस्ता प्रश्नहरू जब मनमा उब्जन्छन्, तब विश्वका हरेक परिवर्तनमा युवाले खेलेको अतुलनीय योगदानको स्मरण हुन्छ । देशको आर्थिक, सामाजिक र राजनीतिक विकासमा युवाको भूमिका अग्रणी रहँदै आएको छ । युवा परिवर्तनको संबाहक हुन् । युवा राष्ट्र र विश्वलाई नै नेतृत्व दिने शक्ति हो । देशमा भए गरेका सबै खाले आन्दोलनमा युवाको भूमिका महत्वपूर्ण मानिँदै आएको छ । चाहे राणा शासनको अन्त्य हुँदा होस् या २०४६ र २०६३ सालको जनआन्दोलनमा होस्, युवाको सहभागितालाई अग्रणी नै मानिन्छ । २००७ र २०४६ सालको आन्दोलनबाट देशमा ठूला परिवर्तनहरू त भए तर सापेक्षित रूपमा आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक परिवर्तन हुन सकेन, जसको कारणले गर्दा अहिले यतिबेलासम्म देशको विकासको गति सुस्ताएको देखिन्छ ।
नेपालसँगै राजनीतिक परिवर्तन भएका हाम्रा छिमेकी राष्ट्रहरू भारत र चीन द्रुतगतिमा आर्थिक विकासको मार्गमा लम्किरहँदा हामी अझैसम्म पनि कछुवाको गतिमा नै छौं । २००७ सालदेखि देशमा भएका परिवर्तनको अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने हो भने युवाको विगत जति कष्टप्रद थियो, वर्तमान झनै निस्सासिँदो र भविष्य झनै कष्टकर देखिन्छ । विगतमा युवाले उठाएका मुद्दा, माग र नारालगायत तमाम योजना ठीक थिए कि थिएनन् भनेर निर्मम् समीक्षा गर्ने जिम्मा फेरि एकपटक हामी युवाको काँधमा आइपुगेको छ ।
आज देश निकै जटिल र असहज परिस्थितिबाट गुज्रिरहेको बेला युवा चिन्तित र निराश हुनु स्वाभाविकै हो । यतिबेला एकातिर कोभिड–१९ र अर्कोतिर राजनीति खिचतानीले गर्दा देशको आर्थिक रूपमा निक्कै कमजोर बनेको छ । यस्तो अप्ठ्यारो परिस्थितिमा पनि देशका युवाहरू सङ्गठित तबरबाट विपतको व्यवस्थापनमा लागेको देखिँदैन । यस्तो विषम परिस्थितिकोे बेलामा प्रधानमन्त्रीको ठट्यौली प्रस्तुतिले समय र समाजको मर्मलाई आत्मसात् गरेको लाग्दैन । नेपाली समाज शताब्दीयौंदेखि आपसी सद्भाव र एकतामा अडिएको समाज हो । यस जटिल अवस्थामा हामी युवा आफ्नो व्यक्तिगत स्वार्थ र समस्याबाट माथि उठेर एक आपसमा सद्भाव राख्दै देश निर्माणमा र विपतको समाधानमा लाग्नु आजको आवश्यकता हो ।
युवाका लागि २१ औं शताब्दी स्वर्ण युग हो । किनभने यस शताब्दीमा संसारमै सबैभन्दा बढी युवाशक्ति रहेका छन् । युवा देशका कर्णधार हुन् तर देशको यस्तो अन्योलपूर्ण परिस्थितिले गर्दा आज नेपाल लगभग युवा शून्य देश बन्दै छ । आजका युवाको चाहना र सपना भन्नु नै विदेश पलायन हो । युवाको दिमागमा विदेशिनुबाहेकको कुनै विकल्प देखिँदैन । यस स्थितिबाट मुक्ति पाउने हो भने देशको राजनीतिको बागडोर युवापुस्ताको हातमा आउनु पर्छ । युवाले चाहे भने अम्भव पनि सम्भव हुन्छ । तर यो तत्काल सम्भव हुने देखिँदैन ।
राजनीतिक रूपमा लोकतन्त्रको स्थापनाले मात्र केही हुँदैन । यसको स्थायित्व र विकासको निम्ति राजनीतिक चेतना, संस्कार र अनुशासन अपरिहार्य हुन्छ । त्यसैले राजनीतिक पार्टीमा संलग्न सिर्जनशील युवा यसका लागि सबैभन्दा बढी उपयोगी सिद्ध हुनसक्छन् । तर आज निष्ठाको राजनीति गर्न चाहने युवा पार्टीभित्रको गुट र उपगुटको सिकार भइरहेका छन् । यसले गर्दा धेरै युवामा नैराश्यता उत्पन्न भएको छ । यसैको परिणाम् वर्षेनी लाखाैं युवाको विदेश पलायन हुन बाध्य छन् । देशमा युवा बस्न र अट्न सक्ने वातावरण बन्न सकेको छैन ।
राजनीतिक रूपले देशलाई बाटो देखाउने विचार र सिद्धान्त बोकेका बीपी कोइराला, मदन भण्डारी र पुष्पलाललाई हामीले गुमाइसक्यौं । देशलाई सही दिशामा हाक्न सक्ने राम्रो, सक्षम विचार र सिद्धान्तनिष्ठ युवा नेता मुलुकले पाउनसक्यो भने देशको मुहार फेरिने कुरामा आशावादी बन्न सकिन्छ ।
पुरानो सोच र दिमागबाट नयाँ नेपालको परिकल्पना सम्भव छैन । चाहेर होस् या नचाहेरै, अब नेपाली युवाको काँधमा युगले सुम्पिएको जिम्मेवारी आउँदैछ र त्यसको नेतृत्व कुनै न कुनै युवा नेताले लिनै पर्छ । त्ययो सामथ्र्य हासिल गर्न समयसँगै युवा पनि बदलिनुपर्छ र आफूसँगै देशलाई पनि बदल्न संकल्प गर्नुपर्छ । अब मुलुकलाई आर्थिक क्रान्तिको दिशातिर क्रियाशील गराउन सर्वत्र दवाव सिर्जना गर्न युवाहरूले हालेमालो गर्ने पर्छ ।
युवाहरू चेतनशील र ऊर्जावान हुन्छन् । युवामा अन्तर्निहित चेतना र ऊर्जालाई अब राष्ट्रको विकासका निम्ति लगाउन जरुरी छ । युवा उठेपछिमात्र हामी सुन्दर भविष्यको कल्पना गर्न सक्छौं । अन्यथा युवाहरू सधैझैं रोजीरोटीका लागि हातमा पासपोर्ट बोकेर स्वप्निल भविष्यको कामना गर्दै विदेशिनुको विकल्प रहने छैन । युवालाई विदेश पलायन हुनबाट रोक्न सकिएन भने देश विकासको सपना सपनामा नै सीमित हुनेछ । यस ध्रुवसत्यलाई देशले, सरकारले र सम्बन्धित निकायले जति चाँडो बुझ्न सक्यो, त्यति नै मुलुकको हितमा हुनेछ । र, स्वयम् युवाले पनि विदेश पलायनलाई मात्र समस्या समाधानको बाटो हो भनेर हेर्ने दृष्टिकोणलाई बदल्न जरुरी छ । थालनी त कसैले गर्नै पर्छ । त्यो थालनी तपाई हामीबाटै किन नगर्ने ?
धुर्कोट गाउँपालिका– ६, गुल्मी